४ माघ, दाङ
आव्हान दाङद्वारा आयोजित नव युवा विचार गोष्ठी–२०८२ माघ ३ गते शनिबार घोराहीस्थित सर्वोदय पुस्तकालयको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । तीन सत्रमा विभाजित उक्त गोष्ठीले नवयुवा, पठन संस्कृति, पर्यावरण र राजनीति जस्ता समकालीन तथा गम्भीर विषयहरूमा गहिरो विमर्श गरेको थियो ।
कार्यक्रमको पहिलो सत्र “नवयुवा र पठन संस्कृति” विषयमा केन्द्रित थियो । यस सत्रमा कवि तथा लेखक घनश्याम अस्तित्व, अध्येता इशान कुसुम्या र अध्येता अनामिका घर्ती मगरको सहभागिता रहेको थियो । छलफलमा नवयुवामा पठन संस्कृतिको वर्तमान अवस्था, जीवनमा यसको प्रभाव तथा पठन संस्कृतिको विकासमा अभिभावक, शिक्षक र सामाजिक संस्थाको भूमिकाबारे विचार–विमर्श गरिएको थियो ।
सत्रमा बोल्दै कवि तथा शिक्षक घनश्याम अस्तित्वले नवयुवामा पठन संस्कृतिको विकासका लागि शिक्षकहरूको भूमिका अत्यन्त निर्णायक हुने उल्लेख गर्दै उत्कृष्ट साहित्यतर्फ युवालाई प्रेरित गर्नु आजको आवश्यकता भएको धारणा राखे । त्यसैगरी अध्येता इशान कुसुम्याले असल शिक्षक स्वयं अध्ययनशील हुनुपर्ने बताउँदै शिक्षक विद्यार्थीका लागि प्रेरणाको स्रोत र रोल मोडेल बन्न सक्ने कुरा औँल्याए । छात्रा अनामिका घर्ती मगरले सामाजिक सञ्जालबाट केही दूरी कायम गर्दा अध्ययनमा सकारात्मक प्रभाव परेको आफ्नो अनुभव सुनाए। सत्रको सहजीकरण अध्येता तथा अध्ययन मञ्च दाङका सदस्य थम्मन बस्नेतले गरेका थिए । सत्रको अन्त्यमा बर्दियाबाट सहभागी हिरा क्षेत्रीले आफ्नो पठन अनुभूति र यसको महत्वबारे मन्तव्य राखेकी थिइन् ।
दोस्रो सत्रमा “पर्यावरणीय संकट: कसरी बुझ्ने?” शीर्षकमा भिक्टोरिया कलेजकी छात्रा सिम्रन डाँगीले अवधारणापत्र प्रस्तुत गरेका थिए । उनले पर्यावरणीय संकट मानवसिर्जित समस्या भएको र यो कुनै एक देशमा सीमित नभई विश्वकै साझा चुनौती भएको स्पष्ट पारे । समाधानका उपायका रूपमा वृक्षारोपण, जीवाश्म इन्धनमा आधारित सवारी साधनको सट्टा विद्युतीय सवारीको प्रयोग, प्लास्टिकजन्य सामग्रीको न्यूनिकरण तथा पुनः प्रयोगका विधिहरूको चर्चा गरे ।
अवधारणापत्रमाथि टिप्पणी गर्दै अध्येता तथा आव्हान दाङका संयोजक राजेन्द्र खरेलले पर्यावरणीय संकट सिर्जनामा नेपालजस्ता गरीब देशहरूको भूमिका नगण्य भए पनि यसको मूल्य भने सबैभन्दा बढी तिनै देशहरूले चुकाउनुपरेको तथ्य प्रस्तुत गरे । उनले कार्बन उत्सर्जनका लागि अत्यन्त महँगो जीवनशैली र उपभोक्तावादी संस्कृतिलाई प्रोत्साहन गर्ने धनी राष्ट्रहरू नै मुख्य जिम्मेवार रहेको उल्लेख गरे । साथै पर्यावरणीय संकटलाई राजनीति, अर्थतन्त्र र वर्गीय सवालसँग नजोडी समाधान सम्भव नहुने कुरामा उनले जोड दिए ।
तेस्रो सत्र “नवयुवा र राजनीति” शीर्षकमा सम्पन्न भएको थियो । सत्रमा राजनीतिकर्मी प्रमोद धिताल, नवयुवा विराज पौडेल र दिलु खत्रीको सहभागिता रहेको थियो भने सहजीकरण अभिषेक बोहराले गरेका थिए । छलफलमा राजनीति सबैको सरोकारको विषय भएको र नेपालको वर्तमान राजनीतिक संकट नेतृत्व र प्रवृत्तिका कारण उत्पन्न भएको निष्कर्ष प्रस्तुत गरियो । शासक शक्ति जब जिम्मेवारी र जवाफदेहिताबाट च्युत हुन्छ, त्यतिबेला विद्रोह स्वाभाविक रूपमा जन्मिने धारणा पनि व्यक्त गरियो । साथै विकल्पको नाममा देखा परेका नयाँ पात्र–प्रवृत्ति, नयाँ र पुरानोको बहस, विचार र उमेरको सवाल, तथा जेन–जी विद्रोहका सबलता र सीमाहरूबारे व्यापक विमर्श भयो । सत्रको अन्त्यमा सहभागी विपिनमणि आचार्य, दामोदर गिरी, सञ्चारकर्मी पदम पोखेल र सुशील गौतमले जिज्ञासा तथा प्रश्नहरू राखेका थिए ।
कार्यक्रमको समापन सत्रमा सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमले जेन–जी पुस्ता पढ्दैन र विचार गर्दैन भन्ने आरोपसँग आफू सहमत नभएको स्पष्ट गर्दै पुस्तक र पुस्तकालयको महत्वबारे संक्षिप्त मन्तव्य दिए । त्यसैगरी साहित्यकार डा. लोकराज पराजुलीले मुक्तक वाचनसहित कार्यक्रममा आफ्ना अनुभूतिहरू साझा गरे।
गोष्ठीमा नवयुवासहित विभिन्न क्षेत्रका प्रबुद्ध व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
आव्हान दाङका सचिव लुमाकान्त डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता संस्थाकी कोषाध्यक्ष शुष्मा चौधरीले गरेकी थिइन्, भने सम्पूर्ण कार्यक्रमको सहजीकरण विक्रम खनालले गरेका थिए ।
















