प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिजो राती दलितलाई दिइएको टिकट खोसेर एमाले केन्द्रीय सदस्य ऐन महरलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा बझाङबाट उठाउन लागिएको छ । हिजोको सचिवालय बैठकले बझाङबाट ओफीलाल ओखेडालाई उठाउने निर्णय गरेको थियो । आज त्यसलाई सच्याएर महरलाई दिने प्रक्रिया थालिएको छ ।
ओखेडा आगामी फागुन २१ गतेको निर्वाचनमा एमालेको टिकट पाउने एक मात्र दलित उम्मेदवार थिए । महर २०७९ को निर्वाचनमा सोही जिल्लाबाट पराजित भएका पात्र हुन् । नेपाली काँग्रेस र तत्कालीन माओवादी केन्द्रसँग गठबन्धन गरेर प्रतिस्पर्धामा उत्रेका उनलाई एकीकृत समाजवादीका भानुभक्त जोशीले पराजित गराएका थिए ।
यस पटकका लागि एमाले जिल्ला कमिटीले तीन जनाको नाम सिफारिस गरेकामध्ये महर पहिलो नम्बरमा, मोहनराज जोशी दोस्रो र धनलक्ष्मी खत्री तेस्रो नम्बरमा थिए । सिफारिसको क्रमअनुसार नाम सच्याइएको मान्ने हो भने दैलेखबाट एक नम्बरमा परेका बिष्णु रिजाल कटेको कट्यै छन् ।
महर बझाङकी महिला रश्मिला धामीले दिएको गालीबेइज्जती तथा चरित्रहत्या सम्बन्धी मुद्दामा जिल्ला अदालतको आदेशपछि पक्राउ परेर धरौटीमा छुटेका थिए ।
















