७ माघ, काठमाडौं
प्रतिनिधिसभा निर्वाचन–२०८२ को प्रत्यक्षतर्फका लागि आज (मंगलबार) दलहरूले देशभर उमंगका साथ उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
प्रत्यक्षतर्फको उम्मेदवारी दर्तामा दल र दलका नेता–कार्यकर्ताहरूसँगै स्वतन्त्र उम्मेदवार र उनीहरूका समर्थकमा देखिएको उल्लासले निर्वाचनबारे देखिएको संशय पनि मेटिएर गएको छ ।
उम्मेदवारी प्रक्रिया सम्पन्न भएसँगै मुलुकको राजनीतिक वातावरणमा चुनावी माहोल तातेको छ । दलहरूले उम्मेदवारहरूमार्फत् मतदाता आकर्षित गर्ने अभियान तीव्र बनाउने क्रम पनि सुरू भएको छ ।
निर्वाचन आयोगका अनुसार देशभर सबै निर्वाचन क्षेत्रमा एकसाथ उम्मेदवारी दर्ता प्रक्रिया चलेको थियो ।
निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरेको थियो ।
दलहरूमा चुनावी सरगर्मी बढे पनि उनीहरूले विगतमा जस्तै पार्टीमा आवद्ध महिला आकांक्षीहरूका प्रति भरोसा भने जाग्न सकेको देखिँदैन ।
दलहरूले यसपालि पनि विगतमा जस्तै सीमित स्थानमा मात्रै महिला उम्मेदवारहरू अघि सारेका छन् ।
विघटित प्रतिनिधिसभाका मुख्य दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरू मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) महिला आकांक्षीहरू प्रति उदार देखिन सकेनन् ।
उम्मेदवारी दर्ताबारे दलहरूले सार्वजनिक गरेका प्रारम्भीक सूचनाअनुसार कांग्रेस, एमाले र नेकपाले झण्डै समान संख्यामा महिला उम्मेदवारहरूलाई चुनावी प्रतिष्पर्धामा उतारेका छन् ।
लामो राजनीतिक विरासत बोकेको कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये मात्र ११ जना महिलाहरूलाई संसदीय याताका लागि उम्मेदवार बनाएको छ ।
एमालेले देशभर १२ जना महिलालाई चुनावी प्रतिष्पर्धाका लागि अवसर दिँदा नेकपाले ११ जना महिलालाई मात्रै दलका तर्फबाट उम्मेदवार बनाएको छ ।
अनलाइनखबरलाई प्राप्त सूचीअनुसार कांग्रेसले कोशी प्रदेशबाट झापा–२ मा सरिता प्रसाईं र झापा–५ मा मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ ।
मधेश प्रदेशबाट कांग्रेसकातर्फबाट महोत्तरी–२ बाट किरण यादव र सिरहा–४ बाट चन्द्रकला कुमारी यादवले टिकट पाएका छन् ।
कांग्रेसले बागमती प्रदेशबाट सबैभन्दा बढी पाँच महिला नेतृलाई उम्मेदवार बनाएको छ । बागमती प्रदेशमा काठमाडौं– ८ र ९ बाट क्रमशः सपना राजभण्डारी र नानु बास्तोला उम्मेदवार बनेका छन् ।
यस्तै मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय ‘डिना’, सिन्धुलीबाट सुशीला थिङले टिकट पाएका छन् । उपाध्याय निवर्तमान सहमहामन्त्री हुन भने थिङ विघटित प्रतिनिधिसभामा कांग्रेसका तर्फबाट सचेतक थिइन् ।
कांग्रेसले चितवन–२ बाट मीनाकुमारी खरेल, रूकुम पूर्व (लुम्बिनी प्रदेश) बाट कुसुमदेवी थापामगर र दैलेख–१ (कर्णाली)बाट बासना थापालाई टिकट दिएको छ ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा विजयी एकमात्र महिला नेतृ सीता गुरूङलाई भने कांग्रेस यसपल्ट टिकटबाट वञ्चित गरेको छ । उनी निवर्तमान सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।
कांग्रेसमा गण्डकी र सुदूरपश्चिम प्रदेशबाट कुनै पनि महिला नेतृलाई उम्मेदवार बनाएको छैन ।
यस्तै एमालेले सुनसरी–३ मा भगवती चौधरी, सोलुखुम्बुमा कल्पना राई, ओखलढुंगामा अस्मिता थापा र उदयपुर–१ मा दुर्गा थापा स्वोतीलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।
एमालेबाट धनुषा–३ का लागि जुलीकुमारी महतो, बारा–३ का लागि ज्वालाकुमारी साह, पर्सा–२ का लागि रिमाकुमारी यादव र तनहुँ–१ का लागि भगवती न्यौपानेले मनोनयन दर्ता गराएका छन् ।
एमालेबाटै बाग्लुङ–२ मा मञ्जु शर्मा चालिसे, मुस्ताङमा इन्द्रधारा विष्ट, रुपन्देही–४ मा सुनिता थथेर र बर्दिया–२ मा विमला विकको उम्मेदवारी परेको छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजकत्वको नेकपामा पनि संसदीय निर्वाचनका लागि पुरूष उम्मेदवारहरूसँग प्रतिष्पर्धा गर्ने अवसरमात्र ११ जना नेतृले पाएका छन् ।
नेकपालो झापा–२ बाट धर्मशीला चापागाईं, संखुवासभाबाट सरिता खड्का थापा, सुनसरी–२ बाट रामकुमारी चौधरी र सप्तरी–४ बाट रुबी कर्णलाई मनोनयन दर्ता गर्न लगाएको छ ।
तथापि, सप्तरी–४ मै नेकपाका तर्फबाट तारा तिमिल्सिना (पुरूष उम्मेदवार)को पनि उम्मेदवारी दर्ता भएको बताइएको छ ।
यस्तै रौतहट–३ मा पुनम देवी, काठमाडौं–१ मा मेनका भण्डारी, काठमाडौं–५ मा कल्पना शर्मा र चितवन–३ मा रेणु दाहाल पनि नेकपाबाट उम्मेदवार बन्ने भाग्यशाली नेतृमा पर्छन् ।
नेकपाले मनाङमा यशोदा सुवेदी गुरूङ, नवलपरासी (पश्चिम)– १ मा डा. सिन्धु जलेशा र कञ्चनपुर–३ मा बिना मगरलाई पार्टीका तर्फबाट उम्मेदवार बनाएको छ ।
विघटित संसद्मा प्रत्यक्षतर्फ विजयी नौमध्ये कम्तिमा पाँच महिला नेतृ आगामी संसद्मा नदेखिने विघटित प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित नौमध्ये कम्तिमा पाँच महिला नेतृहरू आगामी संसद्मा नदेखिने भएका छन् ।
उनीहरू यसपल्ट कोही स्वेच्छाले उम्मेदवार बनेका छैनन् भने कोही पार्टीको आन्तरिक कलहका कारण टिकटबाट वञ्चित भएका छन् ।
गत निर्वाचनमा विभिन्न दलहरूबाट प्रत्यक्षतर्फ विजयी भएका नौ जनामा तीन जनाले यसपल्ट चुनाव लड्न अनिच्छा देखाएका थिए ।
दुई जना नेतृ भने फेरि निर्वाचन लड्ने चाहना राख्दा–राख्दै पनि टिकट पाउन असफल भएकी हुन् ।
प्रतिनिधिसभा निर्वाचन– २०७९ मा कांग्रेसबाट प्रत्यक्षतर्फ सीता गुरूङमात्रै विजयी भएकी थिइन् । यस्तै तत्कालीन नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा एक्लै निर्वाचित भएकी थिइन् ।
उनीहरू दुईमध्ये शर्माले परिवर्तित राजनीतिक परिवेशमा आफूले निर्वाचन लड्न नचाहेको बताएकी थिइन् ।
कांग्रेस नेतृ गुरूङ भने उम्मेदवारको आकांक्षी थिइन् । तर, उनलाई जिल्ला कार्यसमिति, तेह्रथुमले प्रदेश कार्यसमिति समक्ष सिफारिस नै गरेको थिएन ।
निवर्तमान सभापति शेरबहादुर देउवानिकट गुरूङलाई जिल्लाका केही नेता–कार्यकर्ताविरूद्ध अनुशासनको कारबाही गराएको आरोप लगाएको थियो ।
जिल्लाबाट उनी सिफारिसमा नपरेपछि कोशी प्रदेश कार्यसमितिले गुरूङको नाम थपेर केन्द्रमा पठाएका थियो ।
जिल्ला कार्यसमितिले तत्कालीन महामन्त्री गगनकुमार थापाको नाम मात्रै तेह्रथुमबाट सिफारिस गरेको थियो ।
कांग्रेसले प्रत्यक्षतर्फको टिकट वितरण गर्ने क्रममा पार्टीको केन्द्रीय नेतृत्व एकाएक परिवर्तन भएपछि नेतृ गुरूङ गुटको शिकार हुनु परेको देउवा पक्षीय नेताहरूको आरोप छ ।
गत निर्वाचनमा एमालेबाट भगवती चौधरी, ज्वाला साह, जुलीकुमारी महतो र विद्या भट्टराई प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
उनीहरूमध्ये टिकटका लागि आकांक्षा नराख्नेमा भट्टराई मात्रै थिइन् । एमालेबाट चौधरी र महतोले टिकट पाउँदा साह भने उम्मेदवार बन्नबाट राकिएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गत निर्वाचनमा प्रत्यक्षतर्फ सोविता गौतम र तोसिमा कार्की निर्वाचित भएका थिएन । उनीहरू दुवैलाई रास्वपाले आगामी निर्वाचनका लागि उम्मेदवारमा दोहोर्याएको छ ।
यस्तै गत निर्वाचनमा पश्चिम नेपालबाट उदाएको दल नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्ष रञ्जिता श्रेष्ठ प्रत्यक्षमा निर्वाचित भएकी थिइन् । यसपल्ट उनी पार्टीको आन्तरिक किचलोका कारण उम्मेदवार बनेकी छैनन् ।
गत निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ विभिन्न दलका २२५ जना महिला नेतृ उम्मेदवार थिए । तीमध्ये नौ जनामात्र निर्वाचित भएका थिए ।
















