७ माघ, दाङ
त्रिभुवन विश्वविद्यालयले लिने स्नातक तहको पहिलो वर्षको भर्ना र रजिस्ट्रेसन फर्म भर्ने नाममा क्याम्पस भित्र अवैध कारोबार गरेको पाइएको छ । दाङको घोराहीमा रहेको राप्ती क्षेत्रकै प्रतिष्ठित मानिने लामो शैक्षिक इतिहास बोकेको महेन्द्र बहुमुखी क्याम्पसको हाताभित्र मुख्य प्रशासकको कार्यकक्षमा बसेर सोही क्याम्पसका स्ववियु सदस्य समेत रहेका पुरुषोत्तम झाले प्रशासनको मिलेमतोमा फर्म एप्लाई गरिदिएवापतको शुल्क भन्दै विद्यार्थीबाट रकम असुली गरेको त्यहाँ अध्ययनरत विद्यार्थीले बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयका पछिल्ला कार्यक्रममा भर्ना, रजिस्ट्रेसन तथा अन्य शुल्क सम्बन्धि कार्य अनलाइन प्रणालीबाटै प्रविष्ट गर्ने कार्यविधि भएपनि सो क्याम्पसभित्र बिना रसिद रकम असुली गरी गोजीमा रकम कुम्लाइएको प्रमाण प्राणमञ्च ब्युरोले फेला पारेको हो । क्याम्पस प्रशासनले निःशुल्क गर्नुपर्ने सो काममा विचौलिया खडा गरेर रकम असुली गर्ने कार्यले अन्य शुल्कजन्य सेवाप्रवाहमा कतिसम्म गडबढी गरिन्छ होला भनेर सहज अनुमान लगाउन सकिन्छ ।
सो क्याम्पसका स्ववियु सदस्य पुरुषोत्तम झाको टोलीले करिब २००० विद्यार्थीबाट प्रति विद्यार्थी २०० देखि २५० सम्म रुपैयाँसम्म रजिस्ट्रेसन शुल्कबापत रकम असुली गरिरहेको र सो रकम व्यक्तिगत प्रयोजनमा खर्च गरिराखेको विद्यार्थीहरूले हामीसँग बताएका छन् । यसरी हरेक विद्यार्थीबाट कम्तीमा २०० का दरले रकम असुली गर्दा पनि सो टोलीले ४ लाख बढी अवैध रकम उठाएको देखिन्छ । विद्यार्थीले टियुले तोकेको शूल्कबाहेक एक रुपैयाँ पनि रकम तिर्न नपर्ने अवस्थामा झासहितको टोलीले गरेको सो रकम असुलीको निकृष्ट क्रियाकलापले स्ववियू र क्याम्पस प्रशासनको चुस्तता, जवाफदेहिता र पारदर्शीताको मुकुण्डो राम्रोसँग उतारिदिएको छ । टियुले स्नातक, डिग्री तहका सर्टिफिकेट र थेसिसहरु बेचिरहेको कैयौँ समाचारहरु असरल्ल आइरहँदा महेन्द्र बहुमुखी क्याम्पसको प्रशासनभित्रबाट भएका यस्ता अवैध हर्कतले ज्ञान आर्जन गर्न विश्वविद्यालय पस्ने इमान्दार विद्यार्थीलाई खिन्न बनाएको सरोकारवालाहरु बताउँछन् ।
यस विषयमा हामीले सो क्याम्पसका क्याम्पस प्रमुख नारायण पन्थीसँग कुराकानी गर्न खोज्दा उनले सुरुमा पुरुषोत्तम झासहितकाे टाेलीले गरेकाे अवैध रकम असुलीको पक्षमा बाेले । किनभने सो गतिविधि गर्न उनै क्याम्पस प्रमुखले नै स्वीकृति दिएका रहेछन् ५० रुपैयाँ प्रति विद्यार्थी असुली गर्ने सर्तमा । तर झाले किन पो ५० मात्रै असुल्थे र ? हामीले “यसरी प्रशासनभित्रै छिरेर विद्यार्थीबाट बिना रसिद रकम असुल्नु र प्रशासन मौन रहनु के यो प्रशासन सहित मिलीभगत गरिएको काम त होइन ? यसरी बिना रसिद तपाईहरुले विद्यार्थीबाट रकम असुलीरहँदा मुखदर्शक बन्नु सिधा भ्रष्टाचार गर्नु होइन ?” भनेर प्रतिप्रश्न गर्दा कुनै विद्यार्थीले एउटा फर्म मात्रै भर्दा बाहिर साइबर वा विभिन्न निजी व्यवसायीहरूसँग ढाई सयदेखि ३०० तिर्नुभन्दा विद्यालयको हाताभित्रै कम्तिमा सय/डेढ सयमा फर्म भरिन्छ भने त्यो विद्यार्थीकै पक्षमा हुने भएकोले आफू चुप लागेको बताए । त्यसोभए “यसरी उठेको ४ लाख रकम मध्यबाट तपाईँको भागमा कति पर्न आउँछ नि ?” भनेर हामीले पुनः प्रश्न गरेपछि भने उनी झस्किए । त्यसपछि उनले यसरी क्याम्पस हाताभित्रै गैरकानुनी लेनदेनलाई आफूले अब निरुत्साहित गर्ने बताउँदै स्ववियुको उपाध्यक्ष सहितको टोलीले गुनासो गरेपछि अब उप्रान्त त्यसरी रकम असुल्न नदिने र सो काम गलत भइराखेको स्वीकार गरेर आगामी दिनमा यस्ता प्रकारका गल्ती नदोहो¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थीलाई सजिलोको लागि पुरुसोत्तम झालाई स्ववियु कक्षमा बसेर काम गर्न भनेपनि मुख्य प्रशासककै कुर्चिमा बसेर काम गर्नु गलत भएको बताउँदै आपूmबाट भुलबस सो काम हुनपुगेको स्वीकार गरेका हुन् ।
क्याम्पस हाताभित्रै भएको अवैध असुली धन्दाको विषयमा हामीले सो क्याम्पसका प्रशासन प्रमुख मनिमन्तर शाहसँग गरेको कुराकानीमा उनले सबै विषयको जिम्मा क्याम्पस प्रमुख नारायण पन्थीकै मिलीभगतमा भएको र उनकै नीति निर्देशनमा समाधान हुने भएकोले सो रकम असुलीको विषयमा आफूलाई कुनैपनि जानकारी नभएको प्रष्ट पारे । हामीले तपाईँ क्याम्पसकाे प्रशासन प्रमुख भएर बसिरहँदा विद्यार्थीले प्रशासन कक्षबाट त्यसरी अवैध ढंगले रकम असुली गरिरहँदा किन चुपचाप मुखदर्शक बनेर बसिरहनुभएको ? भन्ने प्रश्नमा उनले सबै क्याम्पस चिफकै रोहबरमा भएको हुनाले आफू बोल्नुको कुनै तुक नरहेको जिकीर गर्दै सो गडबडीको विषयमा आफूले कुनै सल्लाह सुझाव वा खबरदारी दिन पनि नभएको हामीसँग स्पष्ट पारेका छन् । यसरी दाेस जति क्याम्पस प्रमुखकाे थाप्लाेमा राखेर मनिमन्तर पानी माथिकाे ओभानाे बन्न खाेजेकाे क्याम्पसका एक प्रध्यापकले प्राणमञ्च ब्युराेलाई बताएका छन् ।
यस्ता गतिविधि क्याम्पस हाताभित्र हुँदा क्याम्पस प्रशासन कानमा तेल हालेर तैँ चुप मै चुपको अवस्थामा रमिते बनेर बस्नु निकै लज्जास्पद भएको शैक्षिक जानकारहरु बताउँछन् । नाम नखुलाउने सर्तमा बताएका एक विद्यार्थीका अनुसार यसरी पुरुषोत्तम झासहितको टोलीले उठाएको रकमको केही हिस्सा क्याम्पस प्रशासन हाँक्ने महत्वपूर्ण व्यक्तिहरुको गोजीमा पनि जाने भएको हुनाले उनीहरु चुपचाप बसेको जिकिर गरेका छन् । अनलाइन प्रणाली अन्तर्गत टियु वा राज्यका अन्य निकायको आवेदकको काम गर्दा साइबर सेन्टरहरुले अतिरिक्त शुल्क असुली गरेर काम गर्ने गरेकाे भएतापनि क्याम्पस प्रशासकको कार्यकक्षमा स्ववियु सदस्य जस्तो जिम्मेवार व्यक्तिले फर्म वा रजिस्ट्रेसनकाे नाममा सोझासाझा विद्यार्थीबाट पैसा असुल्ने कार्यले स्ववियु जस्तो पवित्र संस्थाको गौरवमय इतिहास, त्यसको मर्यादा र गरिमाको धज्जी उडाइरहेको प्रष्ट हुन्छ । विद्यार्थीका सबै खाले अप्ठ्यारामा निःशुल्क सहयोग गर्ने र विद्यार्थीका हकअधिकार प्राप्तिको निम्ति निरन्तर उनीहरूलाई निरन्तर सुसुचित गर्ने कसम खाएर निर्वाचित भएका स्ववियु पदाधिकारीहरुबाटै क्याम्पसको मुख्य प्रशासनिक कक्षमा गसेर बसेर बदमासी गर्ने छुट कदापि नहुने साेही क्याम्पसका स्ववियु पदाधिकारी बताउने गर्छन् । क्याम्पस हाताभित्र प्रशासन वा अन्य सेवा प्रदायकले बिना शुल्क काम गर्नु सेवा हो भने टियुले तोकेको आधिकारिक शुल्क भन्दा बढी रकम जसले असुल गरे पनि त्यो सिधा सिधा भ्रष्टाचार भएको ठहर हुने कानुनका जानकारहरु बताउँछन् ।
क्याम्पसमा भर्नाकाे सिजन, प्रवेश पत्र वितरण वा अन्य भिडभाडका कामकाे व्यवस्थापन र सहजताकाे विशेष हेल्प डेस्ककाे प्रबन्ध जरुरी छ । जुन काम क्याम्पस प्रशासन र स्ववियुकाे संयुक्त पहलमा गर्न निकै सहज हुन्छ । अवैध धन्दा गरेर महत्त्वपूर्ण शैक्षिक संस्था र आफ्नो बदनामी कमाउनु भन्दा क्याम्पस बाहिरै कुनै दिगो व्यवसाय गरेर भित्रचाहिँ नि:शु्ल्क ढंगले नितान्त विद्यार्थीकाे सेवा, सहयोग र सत्कारमा ध्यान यतातिर खिच्ने कि ?
















