रेशम चौधरीको उम्मेदवारी खारेज !

८ माघ, काठमाडौं

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका रेशम चौधरीको मनोनयन खारेज भएको छ।

निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको मौखिक जानकारी निर्वाचन आयोगलाई दिएको स्रोतले जनाएको छ । चौधरी २०७२ सालमा भएको कैलाली टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन्।

उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए । जेलमै रहँदा अघिल्लो पटक उनले प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए । शपथ लिए पनि उनी सांसद बहाल रहन सकेका थिएनन्।

यसपटक उम्मेदवारी दिएकामध्ये देशभर पाँच जना उम्मेदवार विरुद्ध उजुरी परेको थियो । तीमध्ये चार ठाउँमै दाबी नपुगेको निर्वाचन आयोगले जनाएको छ।

रौतहट १ मा बुधबारै दाबी नपुगेको भन्दै माधव नेपालविरुद्ध परेको उजुरी दरपिठ भएको थियो भने भक्तपुर २ मा दुई जनाले र सुनसरी २ मा एक जना उम्मेदवारबिरुद्ध उजुरी दिए पनि दाबी नपुगे पछि कुनै कारबाही नभएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation