९ माघ, काठमाडौं
पश्चिमी वायुको प्रभावले आज पश्चिम नेपालका भूभागमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने मौसमविदले बताएका छन् ।
सुदूरपश्चिमदेखि गण्डकीसम्म मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र कोशीका केही ठाउँमा हल्का वर्षाको प्रक्षेपण छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार माघ ९ गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने छ । त्यसपछि आज साँझपख सुदूरपश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षा सुरु हुने छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित मध्यम वर्षा हुने उनले जानकारी दिए ।
साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनसहित असिना पर्ने सम्भावना पनि रहेको ढकालले बताए ।
शुक्रबार राति भने देशैभरका उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा मध्यमसम्म हिमपातको सम्भावना छ ।
शुक्रबारको तुलनामा शनिबार मौसममा केही सुधार हुनेछ । तर बदलीको असर देशभर देखिने र चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न मौसमविदले सुझाव दिएका छन् ।
साथै वर्षा र हिमपातले जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन पनि सुझाव दिएका छन् ।
यो यस वर्षको हिउँदयामको पहिलो माघे झरी हो । लामो खडेरीपछिको वर्षा र हिमपातले बालीनालीलाई फाइदा हुने कृषिविज्ञहरु बताउँछन् ।
















