अन्धभक्त बनेर देश कसरी बन्छ ?

देश बन्छ कि भन्ने आशा त हुनैपर्छ । हरेक कुरालाई सकारात्मक रूपमा लिनुपर्छ भन्ने पनि गरिन्छ । तर, सबैलाई नेता बन्ने हुटहुटीले देश बन्छ कि बन्दैन ? प्रश्न उब्जेको छ । नेता बनेर मात्रै देश बन्ने भए आजसम्म धेरै नेता बनिसकेका छन् । देश किन बनेन ?

आफूलाई ठिक लाग्यो भने त्यो नेताको सबै ठिक देख्छौँ, बेठीक भेट्दै भेट्दैनौँ । आफ्नो नेताको पूरै हनुमान बन्छौँ । अन्धभक्त बन्छौँ । हिजो पनि त्यही थियो, आज पनि त्यही नै अझै बढी छ । बन्छ त देश ?

शिक्षण पेसा छोडेर राजनीति चाहिएको छ; कर्मचारी भएर सेवा गर्न छोडेर राजनीति चाहिएको छ; वकिल न्यायाधीशलाई राजनीति चाहिएको छ, रिटायर्ड प्रहरी अधिकारीलाई राजनीति चाहिएको छ; पत्रकारलाई अझै धेरै राजनीति चाहिएको छ; इन्जिनियरलाई राजनीति चाहिएको छ; सबैलाई राजनीति चाहिएको छ । राजनीति गर्ने इच्छाले मात्रै बन्छ त देश ?

अझै भनौं न सबैलाई नेता बन्न र चुनाव जित्न मन लागेको छ । आफ्नो पेसामा कोही पनि इमानदार छैन भने देश कसरी बन्छ ? आफ्नो पेसा छोडेर चुनावमा जानुको तात्पर्य देश बनाउन हो भनेर बहस गर्न भने हामी छोड्दैनौँ । र, त्यसैमा हामी विभाजित हुन्छौं । लड्छौँ, भिड्छौँ पनि ।

अरूले त देश बनाउन्न; आजसम्म केही नै गरेको छैन भनेर प्रस्तुत हुन्छौं; हाम्रोले मात्रै देश बनाउँछ भन्छौं । अहिले त्यसैमा आत्मरती प्राप्त गर्छौँ। २/४ वर्षपछि फेरि त्यस(हाम्रो भनिएको)लाई गाली गर्छौं । उसलाई सुधार्ने प्रयत्न गर्दैनौं । फेरि अर्को खोज्छौँ । यस्तै गर्दै जाने हो भने कुन पुस्ताले बनाउने हो देश ?

जो नेता भए पनि यो व्यवस्थामा सबैको शासकीय प्रवृत्ति करिबकरिब उही हो भन्ने बुझ्दैबुझेनौँ । उसको र उसको दलको शासकीय नीति कहिल्यै हेरेनौँ र अझै पनि हेर्दैनौँ । यो ठिक र उ ठिक भन्दै समाजमा अनावश्यक उत्तेजना फैलाउछौँ । यसरी समाज र देश कसरी बन्ला त ?

शासकीय स्वरूप, शिक्षा नीति, स्वास्थ्य नीति, अर्थ नीति, परराष्ट नीति, औद्योगिक नीति, कृषि उत्पादन तथा बजारीकरण नीतिलगायतका नीति कसका राम्रा छन् भन्ने आधारमा हामी छलफल नै गर्दैनौं । त्यस्ता नीति छ्न् भने ती कार्यान्वयन गर्ने आधार राष्ट्रिय र अन्तराष्ट्रिय एवम् सामरिक हिसाबले प्रस्तुत गरिएका छन् कि छैनन् हामी त्यो छलफल पनि गर्दैनौँ । देश कसरी बन्छ त ?

फालानो युवा ठिक; फलानो बुढो बेठीक; वा बुढो ठिक, युवा बेठीक भनिरहेका छौँ । फलानो दल ठिक; फलानो दल बेठीक भन्नू बाहेक आर्को हाम्रो दिमागमा छैन । उसको विगतको योगदान, वर्तमानको योजना र भविष्यका परिकल्पना हेरेर बहस गर्दैनौं । आफूलाई जे ठिक लाग्यो त्यही नै ठिक हो भन्छौं । बिचारमा शून्य भइसकेका छौँ । संसारमा अर्को कुनै ठिक नै छैन भन्नेबाट हेरिरहेका छौँ भने बन्छ त देश ?

स्पष्ट तथा सहिष्णु राजनीति र असल सहकार्य नै देश बन्ने प्रमुख आधार बन्न सक्छ । सबैको सम्मानभावले नै देश बन्न सक्छ । गालीगलोज र उत्तेजनाले देश बन्दैन । अरूलाई गाली गरेर राजनीतिमा उदाउने कुरा ठिक होइन । स्पष्ट दृष्टिकोण र बिचारले राजनीतिमा उदाउने हो । त्यो नै दिगो हुन्छ । त्यसैले सबै संयमित बनौं । राजनीति भनेको क्षणिक आनन्द प्राप्त गर्ने साधन होइन । यो(राजनीति) देश बनाउने साध्य हो । राजनीतिलाई पेसा बनाउन थालिएको छ । यो गलत छ । राजनीति विशुद्ध सेवा हो । राजनीतिलाई सुसंस्कृत पारौं । देश बन्छ । नबनाइ हामीलाई छुट छैन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation