अन्टोनियो ग्राम्सी: मार्क्सवादी दर्शनको क्षेत्रमा मार्क्सपछिका सर्वाधिक महत्वपूर्ण चिन्तक

 

अन्टोनियो ग्राम्सीको जन्म १८९१ मा इटालीको सार्डिनिया भन्ने ठाउँमा भएको थियो। ग्राम्शीको बाल्यकाल र सम्पूर्ण जीवन नै एकदमै दयनीय थियो। उनलाई ३ वर्षको उमेरमा मेरुदण्डसम्बन्धी रोग लाग्यो। त्यसको उपचारको लागि उनलाई काम्रो बाँधेर घरको छतको सिलिङ्गमा झुन्ड्याइन्थियो। ग्राम्शी बाल्यकालमा अत्यन्तै बिरामी परिरहन्थे । डाक्टरले समेत उनी बाँच्छन् भन्ने आशा नै त्यागिसकेका थिए। ग्राम्शीकी आमाले छोराको आसन्न मृत्युको तयारीस्वरुप आफ्नो कोठामा एउटा कफन र एक जोर नया लुगा ठिक्क पारेर राखेकी हुन्थिन् । यो रोग र यसको उपचारको कारण ग्राम्शीको शरीर विकृत बन्यो। उनको ढाड र छाती दुवैतिर कुम्लो निस्केको थियो। ग्राम्सीको उचाई जम्मा ४ फुट १० इन्च मात्र थियो।

अन्तोनियो ग्राम्शीका बुवा फ्रान्सिको ग्राम्शी मध्यम तहका सरकारी कर्मचारी थिए। फ्रान्सिको ग्राम्शी राजनीतिक प्रतिशोधको सिकार बनेर भ्रस्टाचारको आरोपमा साढे पाँच वर्ष जेल परे। यसले ग्राम्शीका परिवारलाई आर्थिक रुपमा तहसनहस गर्‍यो । पढाइमा अत्यन्त तेज हुँदाहुँदै पनि उनले ११ वर्षकै उमेरमा स्कुल छोड्नु पर्‍यो र काम गर्न थाल्नु पर्‍यो। शारीरिक रुपमा दुर्बल ग्राम्शी सरकारी पंजीकरण कार्यालयमा दिनको १० घण्टासम्म आफूभन्दा गह्रौं फाइल र रजिस्टरहरु बोकेर यताउता गरिरहनु पर्थ्यो। करिब दुई वर्षसम्म यो काम गरेपछि फेरि ग्राम्शी स्कुलमा फर्के र आफ्नो माध्यमिक शिक्षा पूरा गरे। ग्राम्शीलाई उनले बाल्यकालमै भोग्नु परेको शारीरिक अस्वस्थता, शारीरिक कुरुपता र आर्थिक अभावले गहिरो मनोवैज्ञानिक प्रभाव पार्‍यो । उनमा समाजबाट अलग-थलग भएर बस्ने र अन्तर्मुखी स्वभाव विकास भयो। त्यो स्वभाव उनको जीवनमा हावी भएर देखापरिरह्यो।

त्यसपश्चात उनले इटालीको ठूलो औद्योगिक सहर टुरिनमा रहेको टुरिन विश्वविद्यालयमा छात्रवृत्ति पाएर अध्ययन गर्न थाले। तर उनको अध्ययनलाई आर्थिक अभाव, शारीरिक दुर्बलताले ग्रस्त पारिरह्यो। हात-मुख जोड्ने समस्या र छात्रवृत्ति कायम राख्नका लागि हासिल गर्नुपर्ने शैक्षिक सफलताको दोहोरो बोझको मारमा ग्राम्शी परिरहे। यस्तो अवस्थाका बाबजुद पनि ग्राम्शीले विश्वविद्यालयमा भाषाशास्त्र, इटाली भाषा साहित्य, दर्शनशास्त्र र कानुनको गहन अध्ययन गरे। तर यिनै आर्थिक, शारीरिक र मनोवैज्ञानिक समस्याका कारण उनले आफ्नो अध्ययन अधुरै छोड्न बाध्य भए।

विश्वविद्यालय अध्ययनकै क्रममा अन्तोनियो ग्राम्शी समाजवादी पार्टीमा लागेका थिए। पढाइ छोडेपछि उनी पूर्ण रुपमा राजनीति र पत्रकारितामा लागे। यही क्रममा १९२१ ग्राम्शी इटालियन कम्युनिस्ट पार्टीको संस्थापक सदस्यमध्ये एक बने। १९२२ मा ग्राम्शी इटालियन कम्युनिस्ट पार्टीको प्रतिनिधिको रुपमा रुस पुगे। त्यहाँ उनको विवाह एक रुसी महिला जुलिया अप्लोनोवसंग भयो। उनका दुई छोरा भए। तर कान्छा छोरालाई ग्राम्शीले देख्न पनि पाएनन्। ग्राम्शी रुसबाट फर्किंदा इटालीमा मुसोलिनीको फासीवादको जगजगी सुरु भइसकेको थियो। रुसबाट फर्किनासाथ ग्राम्शी इटालियन कम्युनिस्ट पार्टी प्रमुख बनेका थिए। संसदीय उन्मुक्तिका बाबजुद पनि ग्राम्शीलाई सरकारले गिरफ्तार गर्‍यो । उनलाई मुद्दाको क्रममा अदालतमा सरकारी पक्षले जिकिर गर्‍यो – यो दिमागलाई २० वर्षसम्म काम गर्नबाट रोक्नु पर्छ। अदालतले ग्राम्शीलाई तत्काल ५ वर्षको जेल सजाय दियो। जसलाई अर्को वर्ष बढाएर २० बर्ष पुर्याइदियो। तर मुसोलिनीको फासिवादी सत्ताले उनको दिमागलाई काम गर्नबाट रोक्न सकेन। ग्राम्शीले आफ्नो जेलजीवनका ११ वर्षको दौरान ३३ वटा नोटबुकमा करिब ३००० पेज जति आफ्ना विचारहरु लेखे। ती विचारहरु अहिले ‘प्रिजन नोटबुक’को नामले प्रख्यात छ। त्यसबाहेक उनले अरु ५०० वटा जति व्यक्तिगत पत्रहरु पनि लेखे। ग्राम्शीको चिन्तन मुलत: क्रान्तिको स्वरुप, राज्य र नागरिक समाजको सम्बन्ध, सान्स्कृतिक आधिपत्य र बुद्धिजीवीका बारेमा केन्द्रित छ ।

ग्राम्शीको विचारधाराको केन्द्रमा प्रयाक्सिस (praxis ) रहेको छ। प्रयाक्सिस कुनै स्पस्ट सामाजिक उद्देश्यको लागि गरिने सामाजिक कार्य हो। उनले यो अवधारणा उनाइसौं र बिसौं शताब्दीका समाजवादी आन्दोलनहरुको अध्ययनबाट निकालेका थिए। ग्राम्शीले शुद्ध दर्शनशास्त्रलाई भन्दा प्रयाक्सिसलाई महत्व दिन्थे।

ग्राम्शीका विचारमध्ये सबैभन्दा महत्त्वपूर्ण धारणा वर्चस्व (हेजेमोनी) लाई मानिन्छ। वर्चस्वको अवधारणाअन्तर्गत ग्राम्शीले आधुनिक समाजका बदलिँदो शक्ति सम्बन्ध र शक्ति संरचनाहरुलाई फेरि परिभाषित गर्ने प्रयास गरेका थिए। समाजको शासक वर्गले कसरी संस्कृति, शिक्षा, धर्म र विचारधाराको क्षेत्रमा नियन्त्रण गर्छ भन्ने कुराको विवेचना गर्नु ग्राम्शीको मुख्य उद्देश्य थियो।

ग्राम्शीले भन्ने गर्थे – शासक वर्गले बल प्रयोग गरेर मात्र होइन, शासित वर्गको सहमति लिएर शासन गर्ने गर्छन् । राज्यले नागरिक समाज (सिभिल सोसाइटी) को मार्फत आफ्नो प्रभाव बिस्तार गर्ने काम गर्छ। नागरिक समाजमा राज्यको दमन मात्र हुँदैन। बरु यसमा विभिन्न खालका संस्था र संगठनहरुको वर्चस्वशाली समुहहरु हुन्छन्, जसले शासकवर्गको मूल्य, मान्यता र विचारधाराहरुको पक्षमा सहमति उत्पादन गर्ने काम गर्छन। ग्राम्शीको विश्वास थियो – राजनीतिक समाज जुन दमनमा आधारित हुन्छ, त्यसले एक्लै काम गर्दैन। त्यसको पछाडि नागरिक समाजको मजबुत ढाँचा हुन्छ, जसले त्यसको स्थिरता र निरन्तरताको लागि सहयोग गरिरहेको हुन्छ।

वर्चस्वको लडाइँ समाजमा सधैँ चलिरहन्छ । शासक वर्गको वर्चस्व तोड्नको लागि दुई वटा उपाय हुन्छन् । एउटा वार अफ मेनुअर (war of manoeuvre) र अर्को वार अफ पोजिसन (war of position) । वार अफ मेनुअरमा भौतिक रुपमा बल प्रयोग गरेर राज्य कब्जा गर्ने नीति अपनाइन्छ । यो उपाय जारशाही रुसमा पछौटे समाजमा मात्र सफल हुन सक्थ्यो। त्यहाँ राज्यले नागरिक समाज र शासितहरुको सहमति लिन सफल भएको थिएन । त्यस्तै वार अफ पोजिसन उदारवादी प्रजातन्त्र भनिएका पश्चिमी जगतमा उपयोगी हुन्छ । उदारवादी प्रजातन्त्र भएको ठाउँमा बलपूर्वक सत्ताकब्जाभन्दा शासक वर्गको वर्चस्वलाई चुनौती दिँदै बिस्तारै प्रतिरोधी वर्चस्वको विकास गर्नु पर्छ। त्यहाँ बिस्तारै नयाँ राज्यको जगको सामाजिक आधार निर्माण गर्नु पर्छ । र विद्यमान राज्य भित्रै वैकल्पिक संस्था र बौद्धिक आधारहरुको निर्माण गर्नु पर्छ ।

ग्राम्शीले बुद्धिजीवीहरुको भूमिकामाथि पनि गहन चिन्तन गरेका छन्। उनका अनुसार हरेक सामाजिक वर्गले इतिहासमा जन्म लिँदा आफूसंगै एउटा विशिस्ट बौद्धिक वर्गलाई पनि जन्म दिइरहेको हुन्छ। ग्राम्शीले भनेका छन्- सबै मानिस बुद्धिजीवी हुन्छन् तर सबैले समाजमा बुद्धिजीविहरुको भूमिका खेल्दैनन्। उनका अनुसार समाजमा दुई प्रकारका बुद्धिजीवीहरु हुन्छन् – परम्परागत र जैविक। ग्राम्शीका अनुसार पुँजीवादमा उद्यमीहरु, प्राविधिकहरु, इन्जिनियरहरु, अर्थशास्त्री, कर्पोरेट वकिल र कर्मचारीतन्त्रहरुको पुरै वर्गले नै पुँजीवादलाई सहयोग गर्छ। जैविक बुद्धिजीवीहरु तिनीहरु हुन् जो प्राविधिक काममा दक्ष हुन्छन् साथै उनीहरुको राजनीतिक दृष्टिकोण पनि विस्तृत हुन्छ। यिनीहरु मजदुर र किसान वर्गसंग जोडिएका हुन्छन्। यिनीहरु आफ्नो क्रान्तिकारी विश्वदृष्टिलाई व्यवस्थित रुपमा प्रस्तुत गर्न सक्षम हुन्छन्।

ग्राम्शीको जेलजीवन अत्यन्त्य कष्टकर थियो। जेलजीवनकै दौरान उनका सबै दाँतहरु झरेका थिए, पाचन प्रणालीले काम गर्न छोडेको थियो, र उनले रगत बान्ता गर्थे। उनलाई सधैँ सो टाउको दुख्ने गर्थियो। कहिलेकाहीँ त उनको टाउको यति साह्रोसंग दुख्थियो कि उनी भित्तामा आफ्नो टाउको ठोक्याउन थाल्थे। ग्राम्शीलाई जेलबाट रिहा गर्न चलेको अन्तर्राष्ट्रिय अभियान र उनकी भाउजु तातियाना स्याक्टको अथक पहल पछि उनलाई ८ वर्षपछि बल्ल उपचारको लागि जेल बाहिर रहेको अस्पतालमा सारियो। तर उनको स्वास्थ्य धेरै नै बिग्रिसकेको थियो। त्यहाँ बाट २ वर्षपछि बल्ल अरु थप उपचारको लागि रोम लगियो। उनी धेरै दिन बाँचेनन्। २१ अप्रिल १९३७ मा उनको मृत्यु भयो। त्यसको ६ दिन पछि उनको कारावास सजाय समाप्त हुदै थियो। ग्राम्शी जम्मा ४७ वर्षका थिए।

ग्राम्शीको मृत्युको केही दशकपछि जब उनका प्रिजन नोटबुकहरु बाहिर आए र इटालियन भाषाबाट अरु भाषामा अनुवाद हुनथाले, उनको महत्व र ख्याति क्रमश: बढ्दै गयो। अचेल ग्राम्शीलाई मार्क्सवादी दर्शनको क्षेत्रमा मार्क्सपछिका सर्वाधिक महत्वपूर्ण चिन्तक मानिन्छ !

प्रस्तुत विचार हामीले दायित्वाेधबाट लिएका हाैँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation