१० माघ, म्याग्दी
पूर्व शिक्षा मन्त्री महावीर पुनले अरुलाई धोका दिनभन्दा पनि नदिनका लागि सरकार छाडेको बताएका छन् ।
मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका पुनले आज पत्रकार सम्मेलन गर्दै ‘धोकेबाज’ र ‘भगौडा’ भनेर लागेको आरोपमा स्पष्टीकरण दिए ।
चौतारोमा पत्रकार सम्मेलन आयोजना गरेका पुनले भने, ‘कसैले धोकेबाज पनि भनेको छ, भगौडा, मन्त्रिपरिषदलाई धोका दिएको, जेनजीलाई धोका दिएको भनेका छन् । धोका दिनलाई होइन, धोका नदिनलाई छोडेको । किनभने त्यहाँ बसेर काम गर्न सकिन्न भने किन बस्ने ?’
सरकारमा बसेर काम गर्न नसकिएकाले मन्त्री पद छाडेको उनको भनाइ थियो ।
महावीर पुन मन्त्री पदबाट सुटुक्क राजीनामा दिएर उम्मेदवारी दर्ता गराउन म्याग्दीको निर्वाचन कार्यालय पुगेका थिए । त्यसपछि सादगी व्यक्तित्वका पुनमाथि चुनावी सरकारलाई धोका दिएर पदको लोभ गरेको आरोप लागेको थियो ।
एक व्यक्तिले सामाजिक सन्जालमा महावीर पुनको महा पनि रहेन, वीर पनि रहेन भनेर लेखेको विषयमा पनि बोले ।
पुनले भने, ‘एकजना भाइले फेसबुकमा लेखेको देखेँ– महावीरको महा पनि हट्यो, वीर पनि हट्यो । त्यो भन्ने भाइचाहिँ एकदम नेपालको मात्रै होइन संसारमा एउटा विद्वान मान्छेमा गनिने मान्छे हो ।’
















