नयाँ आएपछि सबै ठिक हुन्छ भन्नु गलत हो : विप्लव

१० माघ, काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले ‘पूराना दल गलत भएकोले नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको टिप्पणी गरेका छन् ।

शनिबार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उनले हाल राजनीतिक वृत्तमा फैलाइएको नयाँ–पूराना दलको बहस वास्तविक समस्याबाट ध्यान हटाउने प्रयास मात्रै भएको बताएका हुन् ।

‘अहिले लागेको नारामा पुराना दल गलत, नयाँ दल चाहिन्छ भन्ने नारा चाँही क्रान्तिकारी नारा होइन । यो चाहीँ भुलभुलैया गर्ने, जनतालाई भ्रमित पार्ने नारा हो । यहाँ दलसँगको समस्या होइन, जनतलो चाहेको त सत्ता हो नी । जनताले चाहेको त आफ्नो सेवा गर्ने हो, आफ्नो पक्षमा निर्णय गर्ने हो । न्यायपूर्ण ढंगले फैसला लिने सत्ता चाहिएको हो नि जनताले । त्यो नयाँ दल र पुराना दलको कुरा होइन,’ विप्लवले भने ।

अहिले सत्ताको बहस ओझेलमा पारेर बाहिरी फैलाइएको नयाँ र पुराना दलको हल्लाखल्ला सत्य नभएको दाबी उनको थियो ।

नयाँ दलप्रति जनतामा देखिएको आशा केही हदसम्म पुराना दलको असफलताबाट जन्मिएको भएपनि पूरानो राज्यसत्ता यथावत रहेसम्म नयाँ दल आएर मात्रै समस्या समाधान नहुने उनको भनाइ छ ।

‘पूराना दलहरु कामै नलाग्नेगरि खत्तम भए, त्यहाँबाट भ्रष्टाचार जन्मियो, विकृति जन्मियो, त्यहाँबाट सारा जनतालाई लुटपाट भयो, देश चाहीँ राष्ट्रघातमा पर्‍यो भन्ने हिसावले पुराना दलले गरेनन् भन्नेकुरा एक तहसम्म त मिल्छ, तर यो चाहीँ कति सत्य होइन भन्दाखेरि नयाँ दल आउने वित्तिकै यो सत्ता यस्तै रह्यो भने अनि ठिक भइहाल्छ भन्ने कुरा चाँही सत्य होइन,’ विप्लवले सुनाए ।

नयाँ नेता र पुराना नेताको बहस पनि वास्तविक निकास दिने तर्क नरहेको उनले बताए ।

उनका अनुसार २५–३० वा ४०–४५ वर्षको नयाँ अनुहार आएपछि सबै ठिक हुने र पूरानो मान्छेले राम्रो गर्न सक्दैन भन्नेकुरा सत्य होइन ।

‘पूराना नेताको समस्या हो तर नयाँ नेता र पूराना नेताको समस्या पनि मुख्य होइन । नयाँ आउने वित्तिकै, कुनै नयाँ अनुहार टक्क परेको भर्खरको २५/३० वर्षको या ४०/४५ वर्षको मान्छे आउने बित्तिकै राम्रो गरिहाल्छ र पुरानो मान्छेले चाहीँ राम्रो गर्दैन भन्ने कुरा चाहीँ सत्य कुरा होइन,’ विप्लवले भने ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation