तुलसीपुरमा सल्यानी विद्यार्थीको भेला, सही ज्ञान प्राप्तिमा नलागे दुर्घटनामा परिन्छ: वक्ता

११ माघ, दाङ

सल्यान जिल्लाबाट दाङका विभिन्न भूगोलमा अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध गरेर उनीहरुलाई जागरुक र सचेत बनाउने उद्देश्यसहित सल्यान–दाङ विद्यार्थी सम्पर्क समितिको भेला दाङको तुलसीपुरमा सम्पन्न भएको छ ।

उक्त भेलामा बाेल्दै वक्ताहरुले विद्यार्थी सही ज्ञान आर्जन र असल विचारकाे निर्माण चुकेकाे खण्डमा आफ्नो जीवनसँगै देश पनि दुर्घटनामा पर्ने बताएका छन् ।
भेलामा सकृय सामाजिक अभियन्ता तथा साे भेलाका अगुवा टंक प्रकाश केसीले संगठनकाे पृष्ठभूमि, कार्यक्षेत्र, संगठनात्मक संरचनासहितकाे आगामी कार्ययोजना समेटिएको अबधारणापत्र सार्वजनिक गरेका थिए । कार्यक्रममा बाेल्दै उनले सल्यान जिल्लाका विभिन्न भूगोलबाट दाङ झरेर शिक्षा हासिल गरिरहेका सबै विद्यार्थीका साझा उदेश्य, अन्तरनिहित प्रतिभाकाे विकास र सामाजिक उत्तरदायित्वमा लाग्न जरुरी भएकोले सबै विद्यार्थी एकढिक्का भइ अगाडि बढ्न विशेष अपिल गरे ।

कार्यक्रममा बाेल्दै नेकपा (माओवादी) का नेता सविन पाेख्रेलले आजका नाैजवान युवा नै देशकाे संवाहक भएकोले निर्धक्कसँग अध्ययन, अनुसन्धानमा लाग्न, आफ्ना रुचि र क्षमताकाे भरपुर उपयाेग गर्दै आफूसँगै देशकाे उज्ज्वल भविष्य निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहन आग्रह गरे । उनले विगत २००७ सालदेखि अहिलेसम्म शासकहरूले जनतालाई झुक्याउने र आफ्ना निहित स्वार्थ मात्रै पूरा गर्ने षड्यन्त्रको खेल खेलिरहेको र युवा, विद्यार्थी, किसान, मजदुर तथा व्यवसायीहरूका समस्या र देशभक्त नागरिकहरूका आवश्यकता पूरा गर्न किन सकेनन् ? किन देशकाे साँचो अर्थकाे समृद्धिका योजनाहरुमाथि षड्यन्त्र मात्रै गरे ? यस्ता विषयमा सचेत युवाहरुले प्रश्न प्रति प्रश्न र निकास सहितको जागरण अभियान थाल्न पनि जरुरी रहेको बताएका छन् ।

कार्यक्रममा बाेल्दै पठन संस्कृतिका अभियन्ता तथा अध्ययन मञ्च दाङका अध्यक्ष सुर्य बिसीले युवा विद्यार्थीहरू कसरी बस्ने, कति खाने, के बोल्ने, के अध्ययन गर्ने, कहाँ जाने, कसरी आफ्ना दैनिक क्रियाकलापहरुलाई अझ व्यवस्थित गर्न सकिन्छ र कसरी समाजलाई सभ्य सुसंस्कृत र अनुशासित बनाउनको निम्ति आफ्नो भूमिका के कस्तो रहन्छ भन्ने विषयमा निकै दत्तचित्त भएर सोच्न जरुरी रहेको बताएका छन् । उनले विद्यार्थीका लजालु भावनाहरू र डर मानसिकताहरूलाई सम्बोधन गर्दै भने “कुनै पनि मान्छे जब प्रश्न गर्नबाट डराउँछ, सार्वजनिक मञ्चमा बोल्न डराउँछ वा आफूबाट केही गल्ती कमजोरी भइहाल्छ कि भनेर आफूलाई जब अवसरहरुबाट रोक्छ त्यस्ता विद्यार्थी वा मानिसहरुले जीवनमा प्रगति गर्न निकै कठिन हुन्छ ।” उनले बोल्ने, प्रश्न गर्ने, प्रतिप्रश्न गर्ने साझा अजेन्डाहरुमा एकजुट भएर अगाडि बढ्न अनुशासित ढंगले आफ्ना कुराहरु नेतृत्वको विकास र क्षमताको पनि विकासको निम्ति कहिले पनि डराउन नपर्ने धारणा व्यक्त गरेका छन् ।

भेलामा बोल्दै पत्रकार पदमप्रसाद पोखरेलले विद्यार्थीहरूले प्रश्न/प्रतिप्रश्नसहित सामाजिक सेवाभावको उत्तरदायित्व नबोके देश फेरि ठूलो दुर्घटनामा जाने स्थिति रहेको बताएका छन् । उनले विद्यार्थी वर्ग जीवनलाई कसरी अरुकाे हितमा सकारात्मक कार्यकाे प्रभाव राखेर बढिभन्दा सार्वजनिक जीवन जिउने र समग्रतामा देशकाे सेवा गर्न सकिन्छ भन्ने विषयमा सचेत रहनको निम्ति अपिल गर्दै बाह्य कारण वा अन्यकाे कारणहरुले भन्दा कुनै वस्तुप्रति सोच्ने, अध्ययन गर्ने र सही निकास दिने विचार दर्शनकाे पाटाेमा कत्ति पनि सचेत नरहनुको कारणले नै अनावश्यक दुर्घटनाहरुमा फसेर जीवन बर्बाद हुने जोखिम रहेकोले सही विषयकाे ग्रहण गर्न ढिलो गर्न नहुने बताए । उनले विद्यार्थी कालको उमेर निकै संवेदनशील, जटिल र महत्वाकांक्षाहरूले भरिएको हुनाले पनि यो उमेरमा सही ज्ञानको आर्जनसँगै असल विचारको निर्माण, आफूलाई परिपक्क कसरी बनाउने र गाउँ समाजमा व्याप्त विभिन्न कुरीतिरबाट कसरी बचेर देशको निम्ति असल काम गर्न सकिन्छ भन्ने विषयमा चिन्तित रहेर आफ्नो करियर विकासमा ध्यान दिन जरुरी रहेकाे बताए ।

युवा लेखक तथा सामाजिक अभियन्ता गणेशमान सिंहले विद्यार्थीहरु आज विकृतिको पछाडि दौडिरहेको र आफूसँगको प्रतिभालाई प्रस्फुटन गर्ने अवसरबाट वञ्चित भइरहेको अवस्था रहेकोमा दुःख व्यक्त गर्दै समाजमा कसरी असल कर्म गर्न सकिन्छ र समाजलाई असल गोरेटोमा कसरी लैजान सकिन्छ भनेर सबै विद्यार्थीहरुले साझा प्रयासको रुपमा सामुहिक नेतृत्वको विकास गरेर अगाडि बढ्न जरुरी रहेको बताएका छन् । उनले विद्यार्थीमा हुनुपर्ने आधारभूत नैतिकता, इमानदारिता, अनुशासन र देश र समाजप्रतिको उत्तरदायित्वबाेधकाे विकास भएको खण्डमा जीवन चलाउन कुनै कठिनाइ नहुने बताउँदै विद्यार्थीहरू एकजुट भएर अध्ययन र बहसकाे थालनी गरेर सही चिज के हो भनेर उत्खनन गर्न दत्तचित्त भएर लाग्न अपिल गरे ।

कार्यक्रममा बोल्दै कालिमाटी गाउँपालिकाका शिक्षा शाखा प्रमुख भरत चन्दले विद्यार्थी नै भोलीको समाजको संवाहक भएको हुनाले सबै ढंगले आफूलाई असल बनाउन लाग्नुपर्ने र आफूलाई ज्ञान आर्जन गर्ने दिशामा प्रतिबद्ध बनाएर व्यवसायिक जीवनको सुरुवात गरेर घर, परिवार र समाजको सेवा गर्ने भावले दत्तचित्त भएर लाग्न ढिलाइ गर्न नहुने धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै सामाजिक अगुवा दीपक बिष्टले विद्यार्थीहरू एकताको भावनाले अगाडि बढेको खण्डमा समाजको विकास, नेतृत्वकाे विकास, प्रतिभाको प्रस्फुटन र सामूहिक काम कारबाहीको विकासमा कति समस्या नहुने धारणा व्यक्त गरेका छन् । उनले आजका विद्यार्थीहरू हरेक ढङ्गले प्रविधिकाे  ज्ञान आर्जनमा, दर्शनमा, विचारमा र सामाजिक काम कारबाहीमा निकै चनाखो ढङ्गले लाग्ने तप्का भएकोले विदेशमा मात्रै भविष्य छ भन्ने गलत भाष्यबाट टाढा रहेर स्वदेशमै पौरख गरी मेहनत गरे आफ्ना नंग्राहरु खियाएको खण्डमा जे पनि गर्न सकिन्छ र आत्मनिर्भर जीवन जिउन सकिन्छ भन्ने भावनाको विकास गर्न जरुरी रहेको बताएका छन् ।

त्यस्तै सामाजिक कार्यकर्ता मदन केसीले विद्यार्थीमा प्रविधिको विकास र त्यसको हस्तक्षेपमा एकताबद्ध भएर सीप निर्माणको क्षेत्रमा लाग्न जरुरी भएको बताउँदै ज्ञान सीप र प्रविधिमा अब्बल भएको खण्डमा आफू कुनै पनि क्षेत्रमा पछाडि नपरिने र त्यो ज्ञान आर्जनमा सबै दत्तचित्त भएर लाग्न जरुरी रहेको बताएका छन् ।

भेलाले सल्यान जिल्लाबाट दाङ आई अध्ययनरत विद्यार्थीहरूलाई एकतावद्ध गर्दै शैक्षिक, सामाजिक, सांस्कृतिक तथा बौद्धिक सरोकारका विषयमा सामूहिक आवाज उठाउने, सामाजिक सेवा, राहत तथा उद्धार कार्यमा सक्रिय रहने निर्णय गरेको छ। साथै सरसफाइ, वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी अभियान सञ्चालन गर्ने, अध्ययन, अनुसन्धान, अन्तरक्रिया, बहस तथा वैचारिक कार्यक्रममार्फत चेतनाको विकास गर्ने र साहित्य, कला तथा सिर्जनाको प्रवर्द्धन गर्दै प्रकाशन तथा बौद्धिक कार्य गर्ने उद्देश्य तय गरेको छ।

आत्मनिर्भरता, उत्पादन, श्रम, तालिम र स्वरोजगारसम्बन्धी गतिविधिमा पनि सक्रिय सहभागिता जनाउने निर्णय भेलाले गरेको छ।
भेलाबाट २९ सदस्यीय सल्यान–दाङ विद्यार्थी सम्पर्क समिति सर्वसम्मत रूपमा चयन गरिएको छ। समितिको पदाधिकारीहरुमा अध्यक्ष घनराज खड्का, उपाध्यक्ष किरणकुमार वली र रिता वली, सचिव सुमनबाबु बुढाथोकी, सहसचिव दिपेश खड्का, गणेश सुनार र हेमन्त योगी, तथा कोषाध्यक्षमा दिलमाया घर्ती मगरलाई चयन गरिएको छ।
नवगठित समितिले विद्यार्थी हकहित, सामाजिक उत्तरदायित्व र बौद्धिक विकासका क्षेत्रमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमको अध्यक्षता विद्यार्थी घनराज खड्काले गरेका थिए भने स्वागत मन्तव्य विद्यार्थी दिपेश खड्काले राखेका थिए । भेलाको सञ्चालन नेपाल पत्रकार महासंघ सल्यानका सहसचिव तथा सल्यान प्रेसका सञ्चालक खिमराज सुनारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation