भ्रष्ट मानसिकताबाट समाजलाई माथि उठाउन मेरो उम्मेदवारीः प्रमोद

११ माघ, दाङ

नेपालको वामपन्थी आन्दोलनमा लामो समयदेखि क्रियाशील नाम हो प्रमोद धिताल । कम्युनिस्ट आन्दोलनमा विचार, संगठन र संघर्षका विभिन्न आरोह–अवरोहरु पार गर्दै आएका प्रमोद सटिक कुरा गर्ने, स्पष्ट वैचारिक खुराक पस्कने, साथीभाई र सहयोद्धासँग सहृदयी ढंगले विषय राख्ने उनको जीवनशैली सरल, सहज भएकोले फजुल खर्चबाट मुक्त देखिन्छ । उनै धिताल आसन्न प्रतिनिधि सभाका स्वतन्त्र वाम उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका छन् । दाङ क्षेत्र नम्बर २ मा अटोरिक्सा चुनाव चिन्ह लिएर चुनावमा होमिएका खरो विचार राख्ने स्पष्ट वक्ता प्रचलित अर्थमा राजनीतिबाट केही दूरीमा रहँदै वाम बौद्धिक अभ्यास र लेखनमा सक्रिय धितालको उम्मेदवारीलाई सामान्य राजनीतिक घटनाभन्दा फरक रूपमा हेरिएको छ ।
स्वतन्त्र रूपमा उम्मेदवारी दिनुका पछाडि उनको उद्देश्य के हो ? पार्टीगत सीमाभन्दा बाहिर रहेर समग्र वाम आन्दोलनको प्रतिनिधित्व गर्ने बाध्यता किन आयो ? यी र यस्तै प्रश्नहरूलाई केन्द्रमा राख्दै, प्राणमञ्चका सम्पादक घनश्याम अस्तित्वसँग गरिएको कुराकानीलाई यहाँ प्रस्तुत गरिएको छ ।

वैचारिक तथा बौद्धिक गतिविधिमा तपाईं निरन्तर संलग्न रहँदै आउनुभएको थियो, एकाएक तपाईंको उम्मेदवारी मिडियामा चर्चामा आएको छ, के यो व्यक्तिगत रहर हो ?

आगामी फागुन २१ मा हुन गइरहेको निर्वाचनमा मेरो उम्मेदवारीलाई व्यक्तिगत रहरको विषयका रूपमा होइन, सामूहिक दायित्वका रूपमा बुझिदिन अनुरोध गर्दछु ।
एकातिर बुर्जुवा खेमाबाट ‘वैकल्पिक’ वा ‘नयाँ राजनीति’को नाममा नयाँ–नयाँ पात्र, प्रवृत्ति र शक्तिहरू अघि सार्ने प्रयास भइरहेका छन्, जहाँ लोकप्रियतावाद हावी हुँदै गएको छ। अर्कोतिर वाम आन्दोलन गम्भीर विचलन, विघटन र रक्षात्मक अवस्थामा पुगेको छ ।

यस्तो अवस्थामा जनपक्षीय र श्रमजीवी वर्गीय राजनीतिक आन्दोलनलाई वैचारिक तथा संगठनात्मक दुवै हिसाबले सही दिशामा अघि बढाउनु हाम्रो प्रमुख कार्यभार हो। वाम राजनीतिको एउटा कार्यकर्ताको हैसियतले केवल अन्धकारलाई सरापेर बस्नु, दर्शक बनेर रहनु वा ‘विकल्प’को नाममा गलत विकल्प रोज्नु इतिहासप्रतिको धोका हुन्छ ।
यस्तो घडीमा एक्लै भए पनि सही कुराको पक्षमा उभिन तयार हुनु अन्धकारमा एउटा मैनबत्ती बाल्नुसरह हो। यही अर्थमा विचार मिल्ने साथीहरूको सरसल्लाहअनुसार मैले उम्मेदवारी दिएको हुँ।

अहिले उम्मेदवारहरूको अभाव छैन । दलका प्रतिनिधिभन्दा स्वतन्त्र उम्मेदवारहरू बढी देखिन्छन् । स्वतन्त्र उम्मेदवारमध्ये तपाईं अरूभन्दा कसरी फरक हुनुहुन्छ ?

राजनीतिलाई गम्भीरतापूर्वक नलिनेहरूले मेरो उम्मेदवारीलाई चुनाव जित्ने चाहना वा व्यक्तिगत आकांक्षाको रूपमा मात्रै बुझ्न सक्छन्। अहिलेको परिस्थितिलाई सम्यक् ढंगले विश्लेषण गर्न नसक्ने केहीले यसलाई विचलनको रूपमा पनि लिन सक्छन्।
तर हामीले यसलाई एउटा राजनीतिक मिशनका रूपमा लिएका छौँ। नेपालको वाम आन्दोलनलाई नयाँ ढंगले अगाडि बढाउन सबै किसिमका अति र विचलनबाट जोगिँदै सही प्रवृत्तिको बीजारोपण गर्ने समय यही हो ।
यस अवस्थामा तीनवटा बाटा देखिन्छन्
१) चुनाव बहिष्कार गर्ने,
२) विद्यमान गलत प्रवृत्तिमध्ये कुनै एकको पक्षमा उभिने,
३) परिस्थितिको भेलले जहाँ बगाउँछ त्यतै बग्ने ।

यी तीनै बाटा गलत हुन् भन्ने हाम्रो ठहर हो। यसको एकमात्र विकल्प भनेको सही लागेका जनपक्षीय एजेण्डा लिएर जनतामाझ जानु हो।
‘जितिन्न भने किन लड्ने?’, ‘जसरी पनि जित्नुपर्छ’, ‘मत बढाउन जे पनि गर्ने’ जस्ता भ्रष्ट मानसिकताबाट हामी मुक्त छौँ। यसलाई हामी राजनीतिक–सांस्कृतिक पुनर्जागरणको एउटा हिस्साका रूपमा लिन्छौँ। यही कारण मेरो उम्मेदवारी अरूभन्दा फरक छ।

तपाईं एकाएक राजनीतिमा प्रवेश गर्नुभएको त होइन ? तपाईंको राजनीतिक पृष्ठभूमिबारे केही बताइदिनुस् न ।

म विद्यालय तहमा अध्ययनरत रहँदै पचासको दशकदेखि नै राजनीतिप्रति आकर्षित भएको हुँ । मेरो वैचारिक स्कुलिङको प्रमुख स्रोत वामपन्थी आन्दोलन र माक्र्सवादी साहित्य हो। वरिपरिका सामाजिक असमानता र विभेद, क्रान्तिकारी साहित्यको अध्ययन, साथीहरूको प्रेरणा तथा तत्कालीन माओवादी आन्दोलन मेरा प्रेरक कारण हुन् ।
अनौपचारिक रूपमा वाम आन्दोलनमा केही समय सक्रिय भएपछि संगठित राजनीतिमा लाग्नुपर्ने निष्कर्षमा पुगेँ । घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत रहँदा २०५९ तिर तत्कालीन ने.क.पा. (एकता केन्द्र) को कार्यकर्ता बनेँ । त्यससँग सम्बद्ध अनेरास्ववियु (२०२२) को जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पार्टी एकीकरणको क्रममा ने.क.पा. (एकता केन्द्र–मसाल) मा क्रियाशील भएँ।

२०६३–६४ तिर जिल्ला सचिवको जिम्मेवारी सम्हालेँ। २०६४ मा माओवादीसँग एकीकरणपछि पार्टीका विभिन्न तहमा रही विद्यार्थी तथा राजनीतिक कार्यकर्ताका रूपमा काम गर्ने अवसर पाएँ। २०७४ मा माओवादी र एमालेबीच एकीकरण भएपछि त्यहाँबाट अलग भएर फरक ढंगले विभिन्न फोरममार्फत वैचारिक, राजनीतिक तथा आन्दोलनात्मक गतिविधिमा संलग्न हुँदै आएको छु ।

तपाईंलाई मतदाताले भोट दिनुपर्छ भन्ने किन लाग्छ ?

मलाई मतदाताले भोट दिनु भनेको स्पष्ट विचार, जनपक्षीय राजनीति र श्रमजीवी वर्गीय मुद्दाको पक्षमा उभिनु हो। मेरो विगतदेखि वर्तमानसम्मको राजनीतिक कर्म, निरन्तरता र प्रतिबद्धता जनमतका लागि योग्य आधार हुन्। त्यस अर्थमा म जनताको भोटको हकदार छु भन्ने विश्वास राख्दछु ।

कम्युनिष्टहरूमाथि भइरहेको प्रहारलाई तपाईं कसरी हेर्नुहुन्छ ? के माक्र्सवादको औचित्य सकिएको हो ?

कम्युनिष्टहरूमाथि प्रहार हुनुका दुई कारण छन् । पहिलो, विश्वव्यापी रूपमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा हुनु । दोस्रो, आन्दोलनभित्रै प्रवेश गरेको विचलन र प्रतिक्रियावादी चिन्तन–संस्कृति ।

नेपालमा कम्युनिष्ट आन्दोलन बिग्रियो भन्ने बुझाइ आफैंमा त्रुटिपूर्ण छ। बिग्रिन त केही बाँकी हुनुप¥यो। यदि विचार, संस्कृति, निष्ठा र वर्गीय पक्षधरता नै हराइसकेको छ भने त्यो विघटन हो । ‘म कम्युनिष्ट हुँ’ भनी दाबी गर्ने तर माक्र्सवाद र वर्गसंघर्ष अप्रासंगिक भइसके भन्नु अवसरवादी प्रवृत्ति हो ।
अब यो आन्दोलनलाई श्रमजीवी वर्गीय पुनर्जागरणसहित नयाँ शिराबाट अघि बढाउनुको विकल्प छैन ।

तपाईंको चुनाव चिह्न रिक्सा छ । के यो केवल भावनात्मक प्रतीक हो ?
चुनाव चिह्न रिक्सा हुनु हाम्रो वर्गीय पक्षधरता जनाउने प्रतीक पनि हो । तर मुख्य कुरा चिह्न होइन, हामीले अंगाल्ने विचार, राजनीति र आचरण हो । हाम्रो राजनीति श्रमीक र गरिखाने वर्गकै पक्षमा केन्द्रित रहनेछ ।

यदि तपाईं विजयी हुनुभयो भने नेपाली राजनीतिमा के फरक ल्याउन सक्नुहुन्छ ?

म विजयी हुँदैमा समग्र प्रणाली बदलिन्छ भन्ने मसिहावादी सोचमा म विश्वास गर्दिनँ। तर जनताका आवाजहरू सडकदेखि संसदसम्म निर्भीक रूपमा उठाउने एउटा प्रतिनिधि संसदमा हुनेछ। यही नै मेरो योगदान हुनेछ ।

तपाईंलाई दङगाली मतदाताले भोट किन दिने ? तपाइंले चुनाव जित्ने आधारहरु के के हुन ?

मैले भोट माग्ने या जित्ने आधारहरु भनेको जनताको पक्षमा उठाइएका नीतिगत तथा जनपक्षीय एजेन्डाहरु नै हुन् । जस्तो कि नेपाली जनता कहिले प्रजात्न्त्र त कहिले लोकतन्त्रका नाउँमा बर्षौँ वर्षदेखि ठगिदै आएका छन् । जबकि दर्जनौं चुनाव भए, सयौं मान्छेहरू निर्वाचित भएर गए, त्यसको उपलब्धि जनतालाई के भयो ? यो प्रश्न हामीले जनताको बिचमा उठाउनुपर्ने भएको छ । आवधिक निर्वाचनमा भोट हाल्नु नै लोकतन्त्र हो भने देशमा यस्ता व्यथितिहरु हुनुहुदैनथ्यो, यदि त्यसो होइन भने यो व्यवस्था र चुनावका सीमाहरूबारे पनि जनतालाई हामीले बुझाउनुपर्ने हुन्छ । जनताले पनि बुझ्नुपर्छ ।
आश्वासनका पोकाहरु र विकासका कुराहरू लिएर जनताको बिचमा जाने अनि चुनाव जितिसकेपछि जनता र देशको ढुकुटीमाथि रजाइँ गर्ने प्रवृति जनताले धेरैपटक झेलिसके । हामी त्यसको विपरीत जनताको पक्षमा सैद्धान्तिक, नितिगत र व्यवहारिक समस्याहरुको उठान तथा तिनको समाधानका कुरा उठाएका छौं ! जनताको आवाजलाई जसले इमानदारीपूर्वक उठाउछ, ऊ नै जनताको मतको हकदार हुन्छ भन्ने मान्यता अन्तर्गत म जनताको मतको हकदार छु भन्ने लाग्छ ।

चुनावी खास एजेण्डाहरु छन् कि तपाइंका ?

हाम्रा एजेण्डाहरू मुख्यतः नीतिगत छन्—
श्रमिक वर्गका मुद्दा, श्रम क्षेत्रमा विद्यमान विभेदको अन्त्य, श्रमिक तथा कर्मचारीको हक–हित सुनिश्चित गर्ने कानुन, सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयन, बेरोजगारी समस्या, पर्यावरणीय मुद्दा, यातायात क्षेत्रका सुधार आदि ।

दाङ–२ का उम्मेदवारका रूपमा कृषि उत्पादन वृद्धि, रोजगारी सृजन, खानेपानी संकटको दीर्घकालीन समाधान, स्थानीय भाषा–संस्कृतिको संरक्षण र जोखिमयुक्त यातायात क्षेत्रको व्यवस्थापन मेरा प्रमुख प्राथमिकता हुन्। यी एजेण्डा समेटिएको घोषणापत्र छिट्टै सार्वजनिक गर्नेछौँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation