१२ माघ, धनकुटा
धनकुटामा निर्वाचन आचारसंहित उल्लंघन गर्ने एमाले उम्मेदवार राजेन्द्र कुमार राई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको छ ।
पूर्वमन्त्री समेत रहेका राईले आचारसंहिता विपरित पैसा बाँडेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
राईले मतादातालाई प्रभावित गर्ने गरी धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. १ सफाइटारकी ४५ वर्षिया तीर्थकुमारी राईलाई गत शुक्रबार गाउँमै पुगेर नगदसहित सम्मान गरेका थिए ।
सो अवसरमा एमाले नेता तथा सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले पनि तीर्थकुमारीलाई प्रोत्साहन स्वरूप पाँच हजार रुपैयाँ नगद प्रदान गरेका थिए ।
सो अवसरमा पूर्वमन्त्री राईले तीर्थकुमारीको बाँसुरी वादन कलाको प्रशंसा गर्दै गाउँमा लुकेको प्रतिभालाई प्रोत्साहन गर्न सम्मान गरेको बताएका थिए । पूर्व मन्त्री राईको साथमा एमाले नेता तथा कोशी प्रदेशका पूर्व राज्यमन्त्री एवं प्रदेशसभा सदस्य निरन राई र सहिदभूमि गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई पनि पुगेका थिए ।
पूर्वमन्त्री राई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार पनि बनेकाले निर्वाचन आचारसंहिता विपरित जनतालाई प्रलोभन पार्ने काम भएको भन्दै उजुरी परेको थियो ।
मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङनामले राईले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै एक पटकलाई सचेत गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी इन्द्र कुमार योङहाङले जानकारी दिए ।
पैसा बाँढ्नु आचारसंहिता उल्लंघन नै रहेको र अबदेखि यस्तो काम नगर्न सचेत गराइएको योङहाङले जानकारी दिए ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ को दफा ४८ को उप दफा १ मा आचारसंहिता उल्लंघन भएमा एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्द गर्न सक्नेसम्मको कारबाही हुने उल्लेख छ ।
















