जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीवार पत्रकार सम्मेलन गरी उनीहरूलाई आज सार्वजनिक गरेको हो।
प्रहरीले बुधवारदेखि सर्च अपरेसन चलाएर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले जानकारी दिए।
उनीहरूले जेन–जी आन्दोलनपछि राति १२ बजेपछि बिहान ४ बजेसम्मको समयमा हिँड्ने व्यक्तिहरूलाई लक्षित गरेर लुटपाट गर्ने गरेको थापाले बताए।
लुटपाट गर्ने गिरोहको नाइके विनय तामाङ रहेको उनले जानकारी दिए। उनकाअनुसार तामाङ जेन–जी आन्दोलन अगाडि पनि बूढानीलकण्ठ क्षेत्रमा चोरी गरेको आरोपमा पक्राउ परी महाराजगञ्ज प्रहरीको हिरासतमा थिए।
उनी भदौ २४ मा उनी हिरासतबाट भागेका थिए। हिरासतबाट भागेपछि समूह बनाएर विभिन्न ठाउँमा लुटपाट गर्ने गिरोह गठन गरेर सक्रिय भएको उनले बताए।
बुधवार साँझदेखि बिहीवार बिहानसम्म सञ्चालन गरेको सर्च अपरेसनमार्फत उनीहरूलाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए।
पक्राउका क्रममा दोहोरो झडप हुँदा प्रहरी र विनय तामाङ घाइते भएका छन्। हालसम्म उक्त गिरोहले स्वयम्भूमा ७ वटा, महाराजगञ्ज तथा बूढानीलकण्ठ क्षेत्र, बौद्ध क्षेत्र र गौशला क्षेत्रमा ३÷३ वटा र ठिमीको क्षेत्रमा १३ वटा लुटपाट गरेको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए।
उनीहरुविरुद्ध हालसम्म २७ वटा जाहेरी आएका छन्। पक्राउ पर्नेहरूमा विनयसँगै आयन माझी, मनिस रसाइली, सविन माझी, पेमा तामाङ, सलोन तामाङ, राजीव भण्डारी, विशाल तामाङ, विदुर विश्वकर्मा, फुर्वा तामाङ रहेका छन्।
उनीहरूबाट प्रहरीले ३ वटा मोटरसाइकल, एउटा ट्याक्सी तथा सुनका गरगहना तथा नगद रुपैयाँ बरामद गरेको छ। ती लुटेराले महिलाको कान नै लुछेर गहना लाने गरेका थिए।
















