१७ माघ, वीरगञ्ज (पर्सा)
वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात भएको छ ।
गत आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सो अवधिमा भने यो नाका हुँदै हुने खाद्य पदार्थको आयातमा २१ करोड मूल्यको गिरावट आएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले गत आवको छ महिनाको तुलनामा चालु आवको सोही समयमा खाद्य पदार्थको आयातमा सामान्य गिरावट आएको बताए ।
जबकि गत आवको छ महिनामा भने ११ अर्ब ७८ करोड मूल्य पर्ने १६ थरिका खाद्य पदार्थको आयात भएको थियो । चालु आवको छ महिनामा पाँच अर्ब ६८ करोड मूल्य पर्ने १५ करोड ४३ लाख किलोग्राम धान आयात भएको छ । जबकि गत आवको सोही अवधिमा भने छ अर्ब नौ करोड मूल्यको धान आयात भएको थियो ।
चालु आवको छ महिनामा तीन अर्ब ४१ करोड मूल्य पर्ने मकै आयात भएको छ । त्यस्तै चालु आवको छ महिनामा एक अर्ब ६१ करोड मूल्य पर्ने चामल र ३३ करोड मुल्य पर्ने माल्ट आयात भएको छ ।
यस्तै २३ करोड ७३ लाख मूल्य पर्ने फापर, कोदो र अन्य खाद्यान्न आयात भएको छ ।
















