पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार !

वरिष्ठ वामपन्थी लेखक, पत्रकार तथा साहित्यकार नरेन्द्रजंग पिटरलाई शनिबार नेपालगन्जमा कृष्णसेन इच्छुक स्मृति पुरस्कार २०८२ हस्तान्तरण गरिएको छ ।

प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवसको अवसरमा वरिष्ठ पत्रकार पिटरलाई प्रदान गरिएको सो पुरस्कार लिन उहाँ संघीय राजधानी काठमाडौं पुग्न नसक्नु भएको हुँदा प्रेस सेन्टर नेपालको बाँके शाखाले शनिबार यहाँ एक कार्यक्रमको आयोजना गरि सो पुरस्कार हस्तारन्तरण गरेको हो ।

पिटरलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव मानबहादुर बिकलगायतले संयुक्त रुपमा ३० हजार रुपियाँको चेकसहित पुरस्कार हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा बोल्दै पुरस्कृत हुनुभएका पत्रकार पिटरले प्रेस सेन्टरले सम्मान गरेर ठुलो जिम्मेवारीको भारी बोकाएको जनाउँदै स्वर्गीय कृष्णसेन इच्छुकसँग बिताएका समय र स्मरण सुनाउनु भयो ।

उहाँले जनपक्षीय पत्रकारिता अझै पनि जसरी हुनुपर्ने हो त्यसरी हुन नसकेको गुनासो पनि गर्नुभयो । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवमान बहादुर विकले धेरै छलफल र विचारविमर्श पछि मात्र यो पुरस्कारका लागि वरिष्ठ पत्रकार पिटरको छनोट गरिएको बताउनुभयो ।

प्रेस सेन्टर नेपालका निवर्तमान केन्द्रीय सदस्य डा. धितालले लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका पत्रकारलाई सेन्टरले सम्मान गरेर उत्कृष्ठ कार्य गरेको बताउनुभयो ।

प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष चन्द्र बोहोराको सभापतित्वमा सम्पन्न हस्तान्तरण कार्यक्रममा वरिष्ठ महिला उद्यमी तारा रोकाया लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation