कुनै बेला रुपन्देहीको रामापुरमा २ बिगाहा र नवलपरासीको भुताहामा ८ कठ्ठा जग्गा हुँदाहुँदै विष्णु पौडेलको परिवारले बुटवलको दीपनगरस्थित सुकुम्बासी बस्तीको जग्गा कब्जा गर्यो ।
र, सजिलै पौडेलका छोरा नवीनले सुकम्बासी समस्या समाधान आयोगबाट दीपनगरको घरजग्गाको धनीपूर्जा प्राप्त गरे । अर्थात्, प्रशस्त जग्गा हुँदाहुँदै नक्कली सुकुम्बासी बनेर वास्तविक सुकुम्बासीलाई जग्गाबाट वन्चित गरियो ।
नक्कली सुकम्बासी बनेर पाएको जग्गा र त्यहाँ बनेको घर बेचेर पौडेलले कलंकीमा जग्गा जमिन जोडे । पछि त्यही कलंकीको जग्गा बेचेर भैंसेपाटी आवास क्षेत्रमा ९ आना १ पैसा २ दाम जग्गा किनेर आलिशान घर बनाइयो ।
तर, भदौ २४ गते देशै भरि सरकारी र निजी भवनमा आगजनी गरियो, दुखका साथ भन्नुपर्छ, पौडेलको भैंसेपाटीस्थित घर पनि तोडफोड र आगजनीमा पर्यो । अहिले, त्यही आवास क्षेत्रमा एउटा नयाँ र पुरानो भन्दा बढी आलिशान घरमा पौडेल बस्छन् । प्रश्न उठ्छ- नयाँ घर उनलाई कसले दियो ?
यो त, सानातिना दुखले होइन, सुकुम्बासी बनेर आर्जेको घर र जग्गा थियो । त्यसो भए रामापुर र भुताहाको जग्गा के भयो त ? म सबै डिटेल बुझाउँछु, अन्तिमसम्म पढ्नुहोला । उनको अहिलेको सम्पत्ति कति छ, त्यो पनि भन्छु ।
रामापुरमा रहेको सगोलको जग्गा अंशबन्डा गरेर पाएको जग्गाको मूल्यमा भुताहामा आफ्नी श्रीमतीको नाममा उनले ८ कठ्ठा जग्गा किनिदिएका थिए, त्यसैलाई बेचेर बालुवाटारको (ललिता निवास काण्ड) कित्ता नम्बर ३०९ र ३१५ मा रहेको जम्मा ८ आना जग्गा खरिद गरियो, यो २०६१ सालको कुरा हो । भुताहा र बालुवाटारको जग्गाको मूल्य एउटै रहेको देखाइएको छ, जुन सम्भव छैन ।
कसरी आयो उनको र परिवारको नाममा अर्बौं सम्पत्ति ? यो अलि पुरानो तथ्यांक हो, अहिले केही थपघट भएको हुन सक्छ ।
अहिले ललितपुरको भैंसेपाटी आवास क्षेत्रमा छोरा नवीन पौडेलका नाममा ९ आना १ पैसा २ दाम जग्गा र त्यसमा निर्माण भएको एउटा घर (जुन अहिले बस्न योग्य छैन)।
बालुवाटारमा छोरा नवीन पौडेलका नाममा ८ आना जग्गा (ललितानिवास काण्ड पछि जग्गा फिर्ता गरेर कारवाहीबाट बच्ने पौडेलको प्रयासस्वरूप) अहिले त्यो सरकारको नाममा छ ।
१६ तोला सुन (अहिले थपघट भएको हुन सक्ने) । छोरा र परिवारको नाममा विभिन्न बैंकहरूमा करोडौं निक्षेप । बुहारी प्रमिता अधिकारीका नाममा कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा लाखौँ डलर थियो (अस्ट्रेलियास्थित नेपाली दूतावासमा काम गर्दा) । त्यसैगरी छोराकै नाममा विभिन्न बैंक र इन्स्योरेन्स अनि ब्रोकर कम्पनीमा लाखौँ कित्ता सेयर । अहिले बुहारी अमेरिकामा छन् ।
स्याङ्जाबाट बसाइसराई गरेर नवलपरासी पुगेपछि उनको नाममा आएको ८ कठ्ठा जमिन नै उनको वास्तविक जमिन हो । उनको सम्पत्तिको अर्को स्रोत नक्कली सुकुम्बासी बनेर पैदा भएको हो ।
त्यसपछि उनको आर्थिक स्थिति व्हात्तै यसरी बढ्नुको अरू कुनै कारण देखिन्न, बरू राजनीतिका नाममा भएको आर्थिक लेनदेन नै हो । बालेन चढेको गाडीका साहु मालपानीसँग पनि उनको घनिभूत सम्बन्ध नै छ । र, उनलाई सघाउने यस्ता मालपानी दर्जनौंको संख्यामा छन् । यसबारे सिरिजमा लेख्दा पनि बरू मसी सकिने, काण्ड नसकिने अवस्था छ ।
उनले एकपटक पनि ललितानिवासको जग्गा हडपेकोमा माफी मागेका छैनन् । भुताहाको जग्गा केही वर्षमै करोडौं पर्ने कसरी भयो ? त्यसको जवाफ दिएका छैनन् । अष्ट्रेलियामा रहेका छोरा–बुहारीको आम्दानीबाट नेपालमा जोडिएको सम्पत्तिको स्रोत र कर विवरण सार्वजनिक गरेका छैनन् ।
अहिले, ध्वस्त भएको भन्दा ठूलो घर कहाँबाट आयो ? कसले दियो ? रुपन्देही- २ का मतदाताहरूले उनलाई सोध्नुपर्ने गहन प्रश्न यही हो ।














