रामेछापको मन्थली नगरपालिका– ६, त्रिवेणीघाटस्थित तामाकोशी नदीमा दुर्घटना भएको यात्रुबाहक बसमा सवार थप ६ जनाको शव फेला परेको छ।
यसअघि बिहान घटनास्थलबाट ६ जनाको शव निकालिएकोमा मृतकको संख्या १२ पुगेको छ। मृत्यु हुनेमा सात पुरुष र पाँच महिला रहेका प्रहरीले जनाएको छ। मृतकहरूको पहिचान खुलेको छैन।
दुर्घटनामा परी घाइते हुनेको संख्या आठ पुगेको छ। घाइते हुनेहरूमा मन्थली– १२ बस्ने ३३ वर्षीया देवकी खड्का, रामेछाप– ११ बस्ने ३१ वर्षीय सुशान्त थापामगर, उमाकुण्ड नगरपालिका– ५ बस्ने ५२ वर्षीय सोनातेन्जी शेर्पा, ६ वर्षीया निश्मा शेर्पा, लिखुतामाकोशी गाउँपालिका– ४ बस्ने ७१ वर्षीय ओलकबहादुर थापा, खाँडादेवी गाउँपालिका– ३ बस्ने २१ वर्षीय समीर श्रेष्ठ, दोलखाको भीमेश्वर नगरपालिका– ७ बस्ने १७ वर्षीया नीलिमा तामाङ र ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका– २ बस्ने ४५ वर्षीय जयबहादुर तामाङ रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
घाइतेमध्ये सातजनालाई थप उपचारका लागि धुलिखेल अस्पताल काभ्रे पठाइएको छ भने चालक सुशान्त थापामगरलाई तामाकोशी अस्पताल मन्थलीमा सामान्य उपचारपश्चात् डिस्चार्ज गरिएको छ।
प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस मंगलबार दिउँसो करिब पौने ११ बजे २० मिटर तल तामाकोशीमा खसेको हो। सो बसमा कतिजना सवार थिए भन्ने अझै खुल्न सकेको छैन।















