अमेरिकाकाे ६६ वर्षे नाकाबन्दी: कसरी चहिरहेछ क्युवा ?

क्युबा अहिले अमेरिकाको कठाेर नाकाबन्दीमा परेको छ। हुनत क्युबा माथी अमेरिकाले बिगत ६० बर्ष देखीनै नाकाबन्दी लगाउदै आएको छ। तर यो पटक अमेरिकाले क्युबा माथी तेलको नाकाबन्दी लगाएको छ। बिगत केही महिना यता क्युबाले एक थोपो तेल पनि आयत गर्न पाएको छैन। यतिबेला क्युबामा इन्धनको अभावमा बाहिर बिदेश बाट आउने प्लेनहरु ठप्प भएका छन। साथै २० घन्टा सम्म लोडसेडिङ हुन थालेको छ।
ठुलाे मानवीय संकटको संघारमा छ क्युबा। तर उसलाई यतिबेला सहयोग गर्न खासै कोहि निक्लेका छैनन्। यहि परिवेशमा किन अमेरिकाले क्युबालाई देख्न सक्दैन भनेर बुझ्न सहयोग मिल्ला भनेर यो एउटा पुरानो लेख फेरी सेयर गरेको छु। रुचि र फुर्सद भए हेर्नुहोला!
||अन्तर्राष्ट्रिय राजनीतिमा क्युबाको भूमिका||

क्युबामा क्रान्ति सम्पन्न भएको ६६ वर्ष पुग्दैछ । यी ६ दशकमा यो देशले उल्लेखनीय प्रगति गरेको छ । अमेरिका जस्तो महाशक्ति राष्ट्रको आँखाको कसिङ्गर बनेर ६० वर्ष टिक्नु पनि आफैँमा चानचुने उपलब्धि होइन । अझ अमेरिकाको फ्लोरिडा राज्यबाट केवल ९० माइल मात्र टाढा रहेको देशका लागि । अमेरिकाले क्युबाको क्रान्तिलाई उल्ट्याउन कुनै कसर बाँकी राखेको थिएन । ६० वर्षसम्म लगातार नाकाबन्दी लगाइरह्यो तर पनि क्युबा झुकेन । क्युबाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोलाई हत्या गर्न मात्र अमेरिकाले ५०० पटकभन्दा बढी प्रयास गर्‍यो । तर हरेकचोटि ती प्रयास असफल भए । फिडेल आफूले सुरु गरेको क्रान्तिलाई सुदृढ बनाएर ९० वर्षको उमेरमा स्वाभाविक मृत्युवरण गरे। यो टिप्पणीमा क्युबाको अन्तर्राष्ट्रिय भूमिकाको बारेमा सङ्क्षेपमा चर्चा गरिने छ ।
क्युबाले सन् ६० र ७० को दशकमा ल्याटिन अमेरिका र अफ्रिकाका बामपन्थी छापामार आन्दोलन र राष्ट्रिय मुक्ति आन्दोलनलाई समर्थन र सहयोग गरेको थियो । जसमध्ये चे ग्वेभाराको कङ्गो र बोलिभिया अभियान प्रख्यात छ । दुर्भाग्यवश यी दुवै अभियान असफलतामा टुङ्गिए र चे ग्वेभाराको दुखद मृत्यु भयो । तर यसले क्युबाको विश्व क्रान्ति र मुक्तियुद्धलाई समर्थन गर्ने कार्यमा बिराम लागेन बरु अनवरत रूपमा जारी नै रह्यो । क्युबाले त्यो समयमा एल साल्भाडोर, ग्वाटेमाला, निकारागुवा, कोलम्बिया, बोलिभिया, भेनिजुयेला र अर्जेन्टिनामा चलेका छापामार आन्दोलनलाई सहयोग गरेको थियो । जसमध्ये १९७९ मा निकारागुवाको स्यानडिनिस्टा आन्दोलन मात्र क्रान्ति सम्पन्न गर्न सफल भयो । त्यसै क्युबाले अफ्रिकाको अल्जेरिया, गिनी बिसाउ, अङ्गोला आदि देशका मुक्ति आन्दोलनलाई समर्थन गरेको थियो । त्यस्तै अफ्रिकामा क्युबाले अल्जेरिया, इथोपिया र अङ्गोलामा सैन्य हस्तक्षेप गरेको थियो ।

सन् १९६१ मा क्युबाले अल्जेरियाको स्वतन्त्रताको लागि सङ्घर्षरत राष्ट्रिय मुक्ति मोर्चा एनएलएफ लाई एक पानीजहाजभरि हतियार पठाएर सहोयोग गरेको थियो । त्यस्तै फर्किंदा ७० जना घाइते अल्जेरियाली स्वतन्त्रता सेनानीलाई लिएर फर्केको थियो । अल्जेरिया स्वतन्त्र भएलगत्तै मोरोक्कोले आक्रमण गरेपछि क्युबाले सहयोग स्वरूप ७०० जना सैन्य स्वयंसेवक र ७० वटा ट्याङ्कहरु पठाइदिएको थियो ।
अफ्रिकामा क्युबाले सबैभन्दा ठूलो भूमिका भने अङ्गोलामा खेलेको थियो ।

सन् १९७५ मा अङ्गोलामा पोर्चुगलबाट मुक्त हुने क्रममा एमपीएलए नामक बामपन्थी आन्दोलनले राजधानी लुवान्डामा नियन्त्रण गरेको थियो । त्यस्तै एमपीएलएका विरोधी अमेरिका र युरोप समर्थक एफएनएलए र युनिटा ९ग्ल्क्ष्त्ब्० र एफएलईसी नामक समूहहरु थिए । यी समूह र यिनीहरुको समर्थनमा छिमेकी देश दक्षिण अफ्रिका र जायरले पनि एमपीएलएमाथि आक्रमण सुरु गरेको थियो । एमपीएलएका नेता अगस्टिन नेटोले फिडेल क्यास्ट्रोसँग जब सहायता मागे क्यास्ट्रोले बिना हिच्किचाहट मन्जुर गरे । क्युबाले केही हप्ताभित्रै हजारौँ किलोमिटर टाढा हजारौँ सैनिकहरु पठायो । यो काम गर्न क्यास्ट्रोले सोभियत सङ्घसँग सल्लाह पनि गरेनन् । जसका कारण रिसाएको सोभियतसँगले क्युबालाई सेना ओसारपसार गर्न विमानहरु उपलब्ध पनि गराएन । तर क्युबाका सेनाहरुले आक्रमणकारी सेनालाई हराएर एमपीएलएको सत्तालाई बचाएको थियो । त्यस पछि पनि अमेरिका र दक्षिण अफ्रिकाको समर्थनमा युनिटा समूहले युद्ध जारी राख्यो । क्युबाले सो युद्धको क्रममा सन् १९८८ मा अङ्गोलाको कुइँटो क्ववानाभालमा भएको लडाइँमा दक्षिण अफ्रिकालाई पराजित गर्‍यो । सो युद्धलाई अफ्रिकामा दोस्रो विश्व युद्धपछि भएको सबैभन्दा ठूलो आधुनिक युद्ध मानिन्छ । यो युद्धको क्रममा हजारौँ सैनिकको मृत्यु भएको थियो । यो युद्धपछि क्युबा, अङ्गोला र दक्षिण अफ्रिकाबीच न्युयोर्कमा अमेरिकाको मध्यस्थतामा एउटा सहमति भयो । जसअनुसार अङ्गोलामा दक्षिण अफ्रिकाले हस्तक्षेप बन्द गर्ने, नामिबियालाई स्वतन्त्रता दिने र अङ्गोलाबाट क्युबाले सेना हटाउने । कुइटो कुनाभालेको लडाइँको जति सामरिक महत्त्व छ त्योभन्दा बढी राजनीतिक महत्त्व रहेको छ । यो लडाइँको महत्त्वलाई प्रस्ट पार्दै दक्षिण अफ्रिकाका रङ्गभेद विरुद्धको सङ्घर्षका नेता तथा राष्ट्रपति नेल्सन मन्डेलाले भनेका थिए– कुइटो कुनाभालेमा रङ्गभेदी सेनाको निर्णायक हार सम्पूर्ण अफ्रिकाको जित हो । यो जितले अङ्गोलालाई शान्ति दिलाएको छ र नामिबियालाई स्वतन्त्रता । यो जितले गोरा जातिको अपराजयेताको मिथकलाई तोडिदिएको छ र यो जितले दक्षिण अफ्रिकाका जनतालाई सङ्घर्षको लागि प्रेरणा दिएको थियो । र यो जित बेगर हाम्रो पार्टी खुला र कानुनी हुन् थिएन ।
त्यस्तै क्युबाले अन्तर्राष्ट्रिय क्षेत्रमा निर्वाह गरेको अर्को महत्त्वपूर्ण भूमिका हो– स्वास्थ्य क्षेत्र । सन् १९५९ को क्युबाली क्रान्तिलगत्तै यो देशले चिकित्सकीय अन्तर्राष्ट्रियवाद सुरु गरेको थियो । यसको सुरुवात चिलीमा १९६० मा गएको भूकम्पपछि चिकित्सकहरुको टोली पठाएर गरेको थियो । त्यसपछि लगत्तै फ्रान्सबाट भर्खरै स्वतन्त्र भएको देश अल्जेरियाले क्युबासँग आफ्नो देशमा जनस्वास्थ्य व्यस्था स्थापना गर्न सहायता माग्यो । त्यसबेला क्युबा आफैँ पनि स्वास्थ्य सङ्कटबाट गुज्रिरहेको थियो । १९५९ को क्रान्तिलगत्तै क्युबाका ६ हजार चिकित्सकमध्ये करिब आधा जति देश छोडेर पलायन भएका थिए । तैपनि क्युबाले अल्जेरियामा ५५ जनाको स्वास्थ्य टोली पठाइदियो । जसमध्ये २९ जना चिकिसक, ३ जना डेन्टिस्ट, १५ नर्स र ८ जना प्राविधिक थिए । यो सुरुवात मात्र थियो । त्यस यता क्युबाले करिब ६ लाख स्वास्थ्यकर्मीलाई विश्वभरका १६० देशमा पठाइसकेको छ । क्युबाले विकसित राष्ट्रहरुको समूह जी–८ ले गरेभन्दा बढी स्वास्थकर्मी विकासशील देशहरुलाई उपलब्ध गराएको छ । २०१४ सम्म क्युबाली स्वाथ्यकर्मीहरुले १ अरबभन्दा बढी परामर्श, २० लाखभन्दा बढी प्रसूति सेवा र ८० लाखभन्दा बढी सर्जरी गरिसकेको छन् ।
क्युबाले विकासशील तथा गरिब देशहरुलाई नियमत स्वास्थ्य सहयोगबाहेक पनि कहीँकतै विपद परे त्यहाँ पनि तुरुन्त स्वास्थ्य टोली पठाउने गरेको छ । विश्वभर कतै ठूलो भूकम्प, आँधी–तुफान, महामारी आए त्यहाँ क्युबाली स्वास्थ्य टोली तत्काल पुगिहालछन् । पाकिस्तान र हाइटीमा गएको भूकम्पमा होस् वा अमेरिकामा आएको क्याटरिना चक्रवात वा अफ्रिकामा सुरु भएको इबोला महामारी त्यहाँ तत्काल क्युबाली स्वास्थ्यकर्मीको टोली पुगेको थियो । अहिले चलिरहेको कोरोना भाइरसको महामारीमा समेत क्युबाले करिब ४० वटा देशहरुमा आफ्ना स्वाथ्यकर्मी पठाएको छ । त्यसमध्ये सबैभन्दा उल्लेखनीय सहयोग चाहिँ इटालीलाई गरेको थियो । आफूभन्दा धेरै धनी युरोपेली देश इटाली जब कोरोना महामारीको चपेटामा पर्‍यो र त्यहाँको स्वास्थ्य सेवाले त्यसलाई धान्न सकेन तब उसले क्युबासँग सहायता माग्यो । क्युबाले तल्काल दर्जनौँ चिकित्सकहरु आवश्यक उपकरणसहित इटाली पठायो । तिनीहरुले त्यहाँ धेरैजनाको जीवन बचाउन सफल भए । अहिले फेरि इटालीमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएपछि इटालीले क्युबासँग स्वास्थ्यकर्मी पठाइदिन अनुरोध गरेको छ । विश्वविख्यात विद्वान् नोम चोम्स्कीले यसै प्रसङ्गमा भनेका छन्– यो महामारीको बेला विश्वमा एउटा मात्र देश छ, जसले विश्वभर आवश्यकतामा परेका मानिसहरुलाई स्वास्थ्य सेवा र सहायता पुर्याएर सच्चा अन्तर्राष्ट्रियतावाद देखाइरहेको छ– त्यो देश क्युबा हो ।
जम्मा एक लाख वर्ग किलोमिटर क्षेत्रफल र एक करोडभन्दा अलिक बढी जनसङ्ख्या भएको एउटा सानो देश क्युबाले अन्तर्राष्ट्रिय राजनीतिमा आफ्नो देशको आकार र सामर्थ्यभन्दा धेरै नै ठूलो भूमिका खेल्ने गरेको छ । यो क्युबाली क्रान्तिको ठूलो सफलता हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation