१ फागुन, काठमाडौँ
बंगलादेश नेशनल पार्टीले शुक्रबार आम निर्वाचनमा दुई तिहाई मत ल्याएको स्थानीय टिभी च्यानलहरुलाई उद्रृत गर्दै रोयटर्सले जनाएको छ । रोयटर्सका अनुसार बिहीबार मतदान भएका २ सय ९९ निर्वाचन क्षेत्रमध्ये कम्तिमा २ सय १२ क्षेत्रमा बीएनपीको जीत सुनिश्चित भएको छ ।
निर्वाचन आयोगले आधिकारीक घोषणा गर्न बाँकी नै छ ।
झन्डै डेढ वर्षदेखि अस्थिरताबाट गुज्रिएको बंगलादेशमा यस नतिजा स्थिरता ल्याउने अपेक्षा गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिएनपी र यसका अध्यक्ष तरिक रहमानलाई बधाई दिएका छन् ।
विद्यार्थी आन्दोलनपछिको पहिलो ऐतिहासिक चुनावमा रहमानले ढाका–१७ र बरौगा–६ बाट जित हासिल गरेका छन् । उनलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको थियो । जमात् ई इस्लामीले ६० सिटमा विजयी हासिल गरेको दाबी गरेको छ ।
२० वर्षपछि बीएनपीले सत्तामा फर्कने जनादेश पाएको हो । पछिल्लोपटक सन् २००१ देखि २००६ सम्म बिएनपको सरकारलाई तत्कालीन पार्टी अध्यक्ष बेगम खालिदा जियाले नेतृत्व गरेकी थिइन् ।
‘जीतका बाबजुद अहिल्यै कुनै उत्सव वा र्याली आयोजना नगर्ने पार्टीले जनाएको छ । उसले देशको भविष्यका लागि आफ्नो आस्थाका केन्द्रमा प्रार्थना गर्न आग्रह गरेको छ ।
अब बीएनपीका अध्यक्ष तरिक रहमान प्रधानमन्त्री हुनेछन् । ६० वर्षका रहमान संस्थापक तथा पूर्व राष्ट्रपति जिउर रहमान तथा बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री खलिदा जियाका छोरा हुन् । विगत १८ वर्षदेखि लण्डनमा बस्दै आएका रहमान यसै चुनावको पूर्वसन्ध्यामा ढाका फर्किएका थिए ।
जमात्ले हार स्विकार्दै शशक्त प्रतिपक्षको भूमिका निर्वाचन गर्ने बताएको छ । ‘हामी सकारात्मक राजनीति गर्नेछौं,’ जमात्का प्रमुख साफिकर रहमानले भने ।
विद्यार्थी आन्दोनलबाट जन्मिएको नेशनल सिटिजन पार्टी (एनसिपी) ले उम्मेदवारी दिएका ३० सिटमध्ये केवल ५ सिट तिजेको छ ।
यस निर्वाचनमा उत्साहप्रद जनसहभागिता रहेको थियो । स्थानीय मिडियाका अनुसार झन्डै ६० प्रतिशतभन्दा धेरैले यस निर्वाचनमा मत खसाले । जबकी सन् २०२४ मा शेख हसिना सरकारले गराएको निर्वाचनमा केवल ४२ प्रतिशत मत खसेको थियो ।
बंगलादेशमा संवैधानिक सुधारको विषय समेटिएको ‘जुलाई बडापत्र २०२५’ बारे जनमतसंग्रह पनि भएको छ । यसको नतिजा सार्वजनिक हुनै बाँकी छ ।