मान्छेलाई सपना बेचेर कसरी बेकुफ बनाइन्छ ? अर्को उदाहरण हेरौं । कांग्रेस सभापति गगन थापाले कीर्तिपुरको डाँडामा बसेर ३-४ लाख कमाउने गफ आज पनि दोहोर्याएको भिडियो आयो ।
यो सही हो कि कीर्तिपुरको डाँडामा बसेर ३-४ लाख कमाउन सकिन्छ । तर त्यसरी कमाउने भनेको निकै सीमित मान्छेले हो, जसले दशौं लाख तिरेर कम्प्युटर/प्रविधि पढेका छन् वा पढ्न सक्छन् । सीमित मान्छेले अहिले कीर्तिपुर नगइकन पनि लाखौं कमाएकै छन् । तर अबको २० वर्षसम्म पनि आम रूपमा ३-४ लाख कमाई गर्न कुनै सम्भावना छैन । किनभने कम्प्युटर इञ्जिनियर आफैमा धेरै महंगोमा पढाइ हुन्छ । प्राविधिक शिक्षा गरिब नागरिकको पहुँचमा छैन । शिक्षाको व्यापारीकरण गरेर पढ्नै नसक्ने बनाउने, तर गफ चाहिँ ४ लाखको दिने ।
यो कमाई भनेको प्रतिव्यक्ति आयको हिसाबले जापान र दक्षिण कोरियाको हाराहारी हो भने कुवेत, पोर्चुगल, बहराइन, पोल्यान्ड, हंगेरी आदि विकसित देश भन्दा धेरै हो । प्रतिव्यक्ति आय जम्मा १५ सय भएको देशमा ३२ हजार डलरको सपना देखाउनु भनेको खतरनाक पाखण्ड हो । ती इन्जिनियरलाई त्यसरी कमाइ गर्न वातावरण बनाउनुपर्छ । तर देशका सबै नागरिकले कमाउन सक्छन् भन्ने जसरी ग्लोरीफाई गरिनु बाँकी नागरिकमाथि गरिएको मजाक हो ।
आजको मुख्य आवश्यकता १८ प्रतिशत बहुआयामिक गरिबी जनसंख्याले एक महिनाको १९ हजार ५ सय कमाउने बनाउनु हो । निस्संदेह प्रत्येक व्यक्तिको कमाई १९ हजार ५ सय मुख्य सरोकारको विषय हो । किसानले उत्पादन गरेको तरकारी, आलु, साग, अदुवाको कुरै नगर्ने तर ४ लाखको हल्ला यसरी मच्याइदिने कि भर्खरै सबै नागरिकको खातामा ४ लाख आइहाल्छ ।
नेपाली नागरिकलाई ४ लाखको आश देखाएर १९ हजार ५ सयको रोजगारी दिन नसक्ने शासन व्यवस्थाको नालायकी गगन थापाले प्रस्तुत गरेका छन् । सम्भावना त विनोद चौधरी वा गगन थापा हुने पनि होला । सम्भावना छ भनेर सबै उद्योगपति, व्यापारी विनोद चौधरीजस्तै खरबपति हुन सक्दैनन् र प्रत्येक कांग्रेस गगन थापा हुन सक्दैनन् ।
आजको आवश्यकता नेपाली समाजमा रहेकोे भयंकर असमानतालाई घटाउँदै लैजानु हो । त्यसको लागि नागरिकको रोजगारी र न्यूनतम तलबको ग्यारेन्टी हो । संविधानले व्यवस्था गरेको रोजगारी र न्यूनतम तलबको कुरै नगर्ने, सीमित व्यक्तिको पकडमा रहने ४ लाखको आश देखाएर चुनाव जित्ने रणनीति देश र गरिब नागरिकको लागि धेरै नै घातक छ !
लेखक : नेपाली जनता दलबाट उठेका प्युठान जिल्लाका प्रत्यक्ष तर्फका उम्मेदवार हुन् ।















