अमेरिकी साम्राज्यवाद अहिले विश्वव्यापी खतरा बनेको छ । त्यसले ग्रीनल्याण्ड, क्यानडा, पनामा नहर, गाँजापट्टि समेतलाई कब्जा गर्न खोजेको, युक्रेनका खनिज पदार्थहरू भएको भूमि माथि दाबी गरेको तथा भेनेजुएलाका राष्ट्रपतिलाई अपहरण गरेको वा इरान माथि आक्रमणका लागि चौतर्फी सैनिक नाकाबन्दी समेत गरेका उदाहरणहरूबाट अमेरिकी साम्राज्यवाद विश्वको नम्बर १ दुस्मन भएको कुरामा कुनै शङ्का रहन्न । त्यही प्रकारले अहिले त्यसले नेपालमा पनि आफ्नो प्रभुत्व कायम गर्ने प्रयत्न गरिरहेको छ । त्यसले इण्डोप्यासिफक रणनीति वा एम.सी.सी को माध्यमद्वारा नेपाललाई पनि आफ्नो सुरक्षा नीतिको घेराभित्र ल्याउन खोजेको छ । त्यसले तिब्बत माथि आक्रमण गरेर दलाइ लामाको त्यहाँ पुर्नस्थापना गर्न चाहन्छ र त्यसका लागि तिब्बत माथि आक्रमण गर्न नेपाललाई आफ्नो युद्ध भूमि बनाउन चाहन्छ । त्यही रणनीति अन्तर्गत नै त्यसले नेपालको सांसदद्वारा पनि एम.सी.सी पारित गर्न लगाएको थियो र त्यसले नेपाललाई एस.पी.पी. मा पनि सहमत गराउन चाहन्छ । यदि अमेरिकाको त्यो नीति सफल भएमा नेपाल चीन र अमेरिका बिचको लडाई को एउटा युद्ध भूमि बन्नेछ । आफ्नो त्यो उद्देश्य पूरा गर्न त्यसले नेपालमा आफ्नो कठपुतली सरकार कायम गर्न चाहन्छ । त्यसका लागि त्यसले नेपालमा अमेरिकी साम्राज्यवादको पक्षमा काम गर्ने कैयौँ राजनीतिक पार्टी, समूह वा व्यक्तिहरूलाई अगाडि सारेको छ । त्यसको रणनीति सत्ता वा विपक्षका नेताहरूमा आफ्नै व्यक्तिहरूलाई निर्वाचित गराउने हो । त्यसैले त्यसले प्रधानमन्त्रीका लागि एकैसाथ कैयौँ उम्मेदवारहरूलाई अगाडि सारेको छ । त्यस प्रकारका व्यक्तिहरू चुनावमा पनि ठुलो सङ्ख्यामा उम्मेदवारहरू बनेका छन् । उनीहरूको जीत हुने हो भने संसदमा पूरै नै अमेरिकाको प्रभुत्व कायम हुनेछ र नेपालमा अमेरिकाको कठपुतली सरकार बन्नेछ । अमेरिकाको त्यस प्रकारको षडयन्त्रकारी भूमिकालाई हामीले रोक्नुपर्दछ र त्यसका लागि अमेरिकाका तर्फबाट यो वा त्यो पक्षमा अगाडि आएका विभिन्न उम्मेदवारहरूलाई पराजित गर्नु हाम्रो जिम्मेवारी हुन जान्छ ।
लोकप्रियतावाद पनि अहिलेको नेपालको गम्भीर समस्या बनेको छ । लोकप्रियतावाद गलत प्रकारको प्रभाव वा भ्रमहरूको आधारमा जनतामा देखा पर्ने नकारात्मक प्रकारको सोचाई हो । त्यस प्रकारको सोचाई कुनै सिद्धान्त, सही राजनीतिक लाइन वा सही राजनीतिक चेतनाका आधारमा बनेको हुँदैन । त्यस प्रकारको सोचाइका कारणले जनताले कैयौँ गलत राजनीतिक शक्ति वा तत्त्वहरूलाई पनि अन्दाधुन्द प्रकारले समर्थन गर्न पुग्दछन् । त्यस्तो हुन नदिन जनतामा उच्च राजनीतिक चेतना दिएर लोकप्रियतावादी सोचाइलाई साफ गर्नु राष्ट्रिय आवश्यकता हुन्छ । त्यही प्रकारको लोकप्रियतावादी सोचाइको बलमा नै हिट्लरले जर्मनीमा चुनाव जितेको थियो र त्यहाँ फासिस्ट शासन कायम गरेको थियो । त्यसको परिणाम स्वरूप विश्वव्यापी रूपमा नरसंहार भएको थियो । राजावादीहरूले पनि त्यही प्रकारको लोकप्रियतावादी सोचाइका आधारमा जनताको समर्थन प्राप्त गर्न र देशमा पुनः राजतन्त्र वा निरङ्कुश शासन कायम गर्न प्रयत्न गरिरहेका छन् । विभिन्न साम्राज्यवादी तत्त्वहरूले, मुख्यतः अमेरिकी साम्राज्यवादले, पनि त्यस प्रकारको लोकप्रियतावादी सोचाइका आधारमा नेपालमा आफ्नो स्थिति बलियो पार्न, संसदमा बहुमत प्राप्त गर्न वा अमेरिकाको कठपुतली सरकार कायम गर्न योजनाबद्ध प्रकारले प्रयत्न गरिरहेका छन् । त्यस प्रकारका प्रयत्नहरूको परिणामस्वरूप नेपालमा गम्भीर प्रकारका घातक परिणामहरू हुन सक्दछन् । सही राजनीतिक चेतनाका आधारमा नै त्यस प्रकारको सोचाइलाई साफ गर्न सकिन्छ र गर्नु पनि पर्दछ ।
















