८ फागुन, म्याग्दी
म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति भएको छ ।
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक योजनामार्फत मालढुङ्गा–बेनी सडकलाई दुई लेनको ११ मिटर फराकिलो बनाएर अक्सफाल्ट प्रविधिको कालोपत्र गरिएको हो ।
पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि जलजला गाउँपालिका–८, ७, ४ र ३ नं वडा हुँदै म्याग्दी सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक दुई लेनको बनाएर कालोपत्र गर्न २०७७ साल चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले रु ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
तेह्र किलोमिटर दूरीको सडकमध्ये ९६० मिटरबाहेकका ठाउँमा कालोपत्र र ढलान सकिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताए । ‘ढलान र कालोपत्र सकिएको सडकमा रङरोगन र सुरक्षा पूर्वाधार राख्ने काम भइरहेको छ,’ उनले भने, ‘वारीबेनीको ७६० मिटर, केराबारी र फर्से पहिरोमा एक–एक सय मिटर सडकलाई ठेक्काबाट हटाइएको छ ।’
वारीबेनीमा बस्तीको बीचमा सडक विस्तार गर्न घरधनीहरूको असहमति तथा फर्से र केराबारीमा पहिरोका कारण ती खण्ड ठेक्काबाट हटाउनुपरेको योजना प्रमुख शर्माले बताए । विसं २०७९ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
सडक निर्माण कोरोना महामारी, बाढीपहिरो र नदीजन्य निर्माण सामग्रीको अभाव देखाउँदै सहायक ठेकेदार ओमकारेश्वरले अलपत्र पारेको योजनालाई पूर्णता दिन एक वर्षअघि मुख्य ठेकेदार कार्यक्षेत्रमा आएका थिए ।
यसअघि गत वर्ष मालढुङ्गा–फर्से खण्डमा तीन किलोमिटर ३०० मिटर कालोपत्र र दुई किलोमिटर २०० मिटर ढलान भएको थियो । गत मंसिर पहिलो सातादेखि सुरु भएको लस्ती–बेनी खण्डको छ किलोमिटर ५०० मिटर सडक कालोपत्र गर्ने काम सकेर प्राविधिक टोलीबाट नापजाँच भइरहेको निर्माण कम्पनीका इन्जिनियर जीवन चौधरीले बताए ।
छोटियो यात्राअवधि
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दा, पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक २०६८ सालमा एकतर्फी कालोपत्र भएको थियो । मुस्ताङ र कोरलानाका सडक सञ्जालमा जोडिएपछि यातायातका साधनको चाप बढ्दा साँघुरो सडक पछिल्लो समय जीर्ण बनेको थियो ।
यातायात व्यवसायी बुद्धि पुनले मालढुङ्गा–बेनी सडकमा यात्रा गर्दा यसअघि एक घण्टा लाग्ने दूरी स्तरोन्नतिपछि १५ देखि २० मिनेटमा छोटिएको बताए । ‘पछिल्लो पाँच वर्षयता पोखरा–बेनी आवतजावत गर्न बेनीदेखि रत्नेचौर बागलुङ हुँदै मालढुङ्गा जोड्ने घुमाउरो वैकल्पिक सडक प्रयोग गर्दै आएका थियौँ,’ उनले भने, ‘घुमाउरो सडकको समस्या हट्नुका साथै यात्राअवधि पनि छोटिएको छ ।’
जलजला गाउँपालिका–७ मिलनचोकका बासिन्दा बाबुराम कार्कीले सडक कालोपत्र भएपछि धुलो र हिलोका कारण जोखिमपूर्ण र कष्टकर यात्रा गर्नुपर्ने अवस्था अन्त्य भएको बताए ।
















