८ फागुन, काठमाडौं
नेकपा एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित जबर्जस्ती जनतामाथि निर्वाचन थोपरेको टिप्पणी गरेका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पण्डितले यस्तो बताएका हुन् ।
‘निर्वाचन जनतामाथि थुपारेको अवस्था छ । नचाहेर पनि निर्वाचनमा जानुपरेको अवस्था छ,’ पण्डितले भने, ‘चिन्ता, असन्तुष्टि पनि त्यत्तिकै छ । तैपनि जनताले आफ्नो मताधिकार प्रयोग गर्ने कुरामा दुईमत छैन ।’
चुनावी वातावरण तातिनुपर्थ्यो त्यति नतातेको उनले टिप्पणी गरे । उनले भने, ‘अझैपनि आशंकाहरू छन् । तैपनि राजनीतिक पार्टीको नेतृत्वमा विभिन्न मतदाताको घरदैलोमा भोट माग्ने क्रम चलिरहेको छ ।’ एमालेका तर्फबाट मोरङ–६ का प्रत्येक घरदैलोमा आफूहरू पुग्ने प्रयासमा रहेको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)लाई उनले ‘फेसबुके पार्टी’को संज्ञा दिए । ‘यो फेसबुके पार्टी, सामाजिक सञ्जालभित्रको प्रचार अनि अतृप्त चाहना भएको कुरालाई केही पनि नदेख्ने दिमागी रतन्धो लागेकाहरूसँग केही पनि भन्नु छैन,’ नेता पण्डितले भने ।
भएको नदेख्ने, केही पनि भएको छैन भन्ने, सपनामात्रै देख्ने र विपनामा केही पनि नगर्नेहरूले देश नबनाउने उनले दाबी गरे । जनतासँग सुखदु:खमा सँगसँगै रहेका र व्यवहारबाटै जनतामाझ रहेकाहरूले नै देश बनाउने उनले टिप्पणी गरे ।
















