९ फागुन, धनगढी
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।
२०७९ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–५ बाट प्रत्यक्ष उम्मेदवार समेत बनेका बिष्टले पार्टी परित्याग गर्दै साधारण सदस्यबाट समेत नरहने गरी राजिनामा दिएका छन् ।
पार्टीको केन्द्रीय कार्यालय, काठमाडौंलाई सम्बोधन गर्दै राजिनामा पत्र बुझाएको बिष्टले बताएका छन् । उनी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा कैलाली–५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए ।
उनले रास्वपाले ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर प्राइमरीबाट उम्मेदवार छनोट गर्ने मूल आदर्शबाट प्रेरित भएर पार्टीमा आवद्ध भएको उल्लेख बताएका छन् तर पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति रहेको उनी बताउँछन् ।
संगठनमा समर्पित नेता कार्यकर्ताको उचित मूल्यांकन नभएको, पार्टीमा विधि–विधान विपरीत गतिविधि बढेको र निर्णय प्रक्रियामा पारदर्शिता कमजोर बन्दै गएको अवस्थाले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमाथि प्रश्न खडा गरेको बिष्टको भनाइ छ ।
यस्तो परिस्थितिमा मौन रहन नसक्ने निष्कर्षसहित पार्टीको साधारण सदस्यबाट समेत अलग हुने निर्णय गरेको उनले बताएका छन् । बिष्ट रास्वपाबाट कैलाली–५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न आकांक्षी थिए तर रास्वपाले भने आनन्द बहादुर चन्दलाई उम्मेदवार बनाएपछि रुष्ट भएका उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
अघिल्लो चुनावमा रास्वपाबाट उम्मेदवार बनेका बिष्टले तीन हजार ४०५ मत प्राप्त गरेका थिए ।
















