बिहीबार राति भएको सामान्य विवादले उग्ररूप लिँदै शनिबार पनि विभिन्न स्थानमा आगजनी र तोडफोड भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डिएसपी विष्णु प्रदीप बस्यालका अनुसार शनिबार मात्रै दुई वटा स्कारपियो गाडीमा आगजनी गरिएको छ। गौर नगरपालिका–४ स्वर्णामाईमा भारतीय नम्बर प्लेट भएको एक स्कारपियो जलाइएको छ भने राजगढ नगरपालिका- ९ बैरियामा अर्को स्कारपियोमा आगजनी गरिएको प्रहरीले जनाएको छ।
यसका साथै अन्य स्थानमा करिब १० भन्दा बढी मोटरसाइकल जलाइएको सूचना आएको भए पनि त्यसको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । गौरबाट सुरु भएको झडप अन्य वडामा समेत फैलिएको बताइएको छ।
एक समुदायको विवाहमा बाजागाजा बजाएको विषयलाई लिएर अर्को समुदायसँग विवाद शुरु भएको थियो। दुवै पक्षबीच भनाभन बढ्दै गएपछि केही व्यक्तिमाथि कुटपिट भएको थियो।

















