बालेन शाह प्रधानमन्त्री बनेपछि देशको कायापलट हुन्छ भन्ने आधार, भिजन, रोडम्याप या नीतिगत स्पष्टता अहिलेसम्म देखिएको छैन !
कसरी हुन्छ भन्ने प्रश्न सोध्ने हक पनि अरू कसैलाई नदिई रास्वपाले आफैसँग राखेको भन्ने सुनियो !
पहिलो पार्टी बन्ने दौडमा रहेको दल अलि नरम, अलि स्पष्ट, अलि अन्तर्क्रियात्मक, अलि समावेशी र अलि जबाफदेही देखिए हुने भन्ने धेरैलाई लागेकै होला !
विग्रह, आक्रोश, आवेग, धाक र निषेधजस्ता तत्त्व राजनीतिमा हावी भयो भने त्यसले सबैभन्दा दुःख दिने जितेर आउने दललाई नै हो । सडक कब्जा गर्न त एक लाखमात्रै भए पनि पुग्छ । बिथोल्न, रोक्न, भत्काउन र बिगार्न ठूलो शक्ति चाहिन्न । भोलि सत्तासम्म पुग्ने लक्षण देखिएको दल सबै नेपालीलाई तोडेर होइन जोडेर लैजाने खालको भइदिए भन्ने चाहना र त्यस कोणबाट गरिने आलोचना जायज नै हो !
तर, बालेन शाह प्रधानमन्त्री भए भने देश बस्नलायक नै रहन्न, बर्बादै हुन्छ, खत्तम नै हुन्छ, उनी राँको बोकेरै देश जलाउँदै हिँड्छन्, देश युक्रेन हुन्छ या देशको चाबी लगेर विदेशीलाई बुझाउँछन् भन्ने खालको त्रासको व्यापारचाहिँ कत्ति पनि जायज छैन ! यहाँ हरेक आन्दोलन हिंस्रक र विवादित नै छन् ! सामन्तको नाममा आम नागरिकको घाँटी रेटेका आन्दोलन पनि छन्, राष्ट्रप्रमुख चढेको जहाजमा बम हानेका आन्दोलन पनि छन् । १७ हजार निर्दोष नागरिकको रगत बगेको आन्दोलन पनि छ, बालबच्चा र सर्वसाधारण चढेको बसमा बम पड्केका विद्रोह पनि छन् र सिंहदरबार जलेको आन्दोलन पनि छ । प्रहरीलाई भाला रोपेर जघन्य हत्या गरेका आन्दोलन पनि छन् । एउटा आन्दोलन गर्नेले अर्को आन्दोलनलाई गन्दैन । कसलाई दिनु त भोट ?
देश बङ्गलादेशजस्तो छैन । जति गाली गरे पनि कम्तिमा यहाँ सिस्टमचाहिँ बसेको छ । यहाँ कुनै दललाई निषेध छैन । सिस्टम भएकैले पूर्वप्रधानमन्त्रीसम्मलाई मुद्दा चलेको छ भने सिस्टमले फङ्क्शन गरेकै कारण यसअघि रवि, बालेन र हर्कहरूले ठूला पार्टीलाई हराएर चुनाब जितेका छन् ! अहिले पनि देशको भविष्य छान्ने काम जनताले नै गर्ने हुन् !
बालेन सैन्य कूबाट प्रधानमन्त्री बन्ने होइनन् ! बने भने चुनाबबाटै, जनताको अनुमोदनबाटै र यही संविधानबाटै बन्ने हुन् । यदि जनता तपाईंका साथमा छन् भने भोट नहाल्नुहोस्, हराई दिनुहोस्, सकिइहाल्यो नि ! यो चुनाबमा भोट हाल्ने भारत या अमेरिकाले होइन, हामीले नै हो ! देशका अधिकांश जनता यदि उनलाई प्रधानमन्त्री देख्न चाहन्छन् भने उनी बन्न पर्छ ! उनमा ‘जसरी पनि’ प्रधानमन्त्री बन्ने लालसा भएको भए अस्ति नै बनिसक्थे ! उनी बनिसकेका पनि छैनन् । नबन्न पनि सक्छन् । तर आफ्नो एउटा पार्टीसम्म नभएको व्यक्ति संसदीय व्यवस्थामा प्रधानमन्त्रीको सम्भावित उम्मेदवार बनेर स्थापित सबै दललाई चुनौती दिनु सामान्य कुरा होइन । के दलहरूको कुनै दोष छैन त यसमा ? बाहिरैबाट त कोही आएको छैन । हिजो आफूलाई नै भोट हाल्ने जनता हुन्, आज के भयो त ?
देश विकेन्द्रित छ ! हिजो काठमाडौंको मेयर हुँदा प्रधानमन्त्रीलाई बालेनले टेरेका थिएनन् ! काठमाडौंको कार्यप्रगति सबैभन्दा कम देखिएको पनि केन्द्रीय सरकारसँग ठासठुसकै कारण हो ! एउटा हर्कले सिङ्गो देश हल्लाएका थिए । देशमा त्यत्तिकै शक्तिशाली ७५३ स्थानीय सरकार छन् । सात वटा प्रदेश सरकार छन् । अख्तियार छ, सेना छ, अदालत छ, संवैधानिक आयोग छन् । संसद् पनि छ । सबैसँग समन्वय नगरी, सँगै नहिँडी, मेलमिलाप नगरी एउटा व्यक्तिले मात्रै देशमा गर्न सक्ने खास केही पनि छैन ! एउटा वडाध्यक्ष पनि केही गर्छु भनेरै आएको हुन्छ र देशको प्रधानमन्त्री पनि गर्नै भनेर आउँछ !
चुनाब हो, सामान्य टीकाटिप्पणी, व्यङ्ग्य र आलोचना स्वाभाविक हो ! आफूलाई अब्बल लागेको पक्षको पोषण पनि ठीक हो । संसद् सार्वजनिक विषय भएकाले क्षमता, दक्षता, जबाफदेहिता, भिजन र उपयुक्ततामाथि प्रश्न, आशङ्का र तुलना गर्न पाइन्छ तर कसैको नियत, राष्ट्रियता र देशप्रतिको निष्ठालाई नै विवादित बनाउनुचाहिँ उचित होइन । बालेन नेपाली हुन् ! उनको नियत पनि देश बनाउने नै हो । अलिकति टेम्पर र अनुभवको कमी देखिन्छ ! अलिकति ढङ्ग सिक्नै बाँकी होला तर उनी धेरै युवाहरूका आदर्श र सपना हुन् । स्कुलको पाँचजना बच्चालाई जम्मा गरेर एउटा नाम लिन लगाउनुभयो भने उनकै नाम लिने स्थिति छ । मोमेन्टम पनि छ ! उनले सके जति गर्लान् ! कति काम त मोमेन्टम आफैले गर्छ । उनी एक्लै सरकार बन्ने पनि होइनन् । उनीभन्दा दक्ष र विज्ञ पनि त टीममा समेटिन सक्लान् । अन्य दलसँग मिलेर सरकार बन्न पनि सक्छ ।
देशमा सिस्टम छ, गरेनन् भने निर्वाचन त फेरि पनि आउँछ ! दशथरी मान्छे जम्मा भएका छन् । आफ्नै सिंगको भारीले थचार्न पनि सक्छ । जो जति बढ़ी लोकप्रिय हुन्छ, ओरालो लाग्दा उही नै सबैभन्दा अप्रिय हुने हो ! त्यो बेलाका लागि आफूलाई तैयार राखे पनि भयो ! यदि देश नसोचेको स्तरमा विकास भयो भने त्यो पनि चाहिएन । खोजेको त विकास न हो !
बालेनले एजेन्डा स्पष्ट पार्न सक्दैनन्, मिडिया फेस गर्न सक्दैनन्, रोडम्याप खुलस्त व्यक्त गर्न सक्दैनन् त यसले त उनैलाई बेफाइदा गर्ने हो । तपाईंलाई त फाइदा नै हुन्छ त । आफ्नो एजेन्डा राख्दै जानुस्, यसकारण बालेनको विकल्प छ भन्नुस् । खुशी हुनुस्, नबोल्दै त आच्छु आच्छु भएको छ, बोल्नेवाला परेको भए के हुन्थ्यो ?
यो लोकतन्त्रको विशेषता के हो भने, तपाईं या मलाई योग्य लागेकोले होइन, जनतालाई योग्य लागेकोले शासन गर्छ ! अब जनतामाथि नै विश्वास नभए त तपाईं या म पनि केको लोकतान्त्रिक ?
















