मानव इतिहासका ठूला मोडहरू युद्ध, महामारी र प्रविधिगत क्रान्तिबाट अगाडि बढिरहेको छ । मानव स्वयंले आफ्नै अस्तित्वमाथि जलवायु परिवर्तनको खतराल र आणविक हातहतियारको होडवाजीलाई प्रवद्र्धन गरेरखतरा निम्त्याइरहेको छः । यी दुवै संकट अलग–अलग जस्तो देखिए पनि अन्ततः एउटै प्रश्नमा आएर ठोक्किन्छन् । के हामी विकासको नाममा विनाश रोजिरहेका छौं ?
औद्योगिक क्रान्तिपछि मानव सभ्यताले अद्भुत प्रगति ग¥यो । ऊर्जा, यातायात, उद्योग, कृषि सबै क्षेत्रमा विस्तार भयो । तर यो प्रगतिको आधार थियो जीवाश्म इन्धनः कोइला, पेट्रोलियम र ग्यास । त्यसको परिणाम आज पृथ्वीले भोगिरहेको छ । अहिले विश्व तापक्रम करिब १.१ देखि १.३ डिग्रीले बढेको छ । हिमनदी र हिमतालहरु तीव्र गतिमा पग्लिने÷विस्फोट भइरहेका छन् । समुद्री सतह बढ्दैछ । डढेलो, बाढी, सुख्खा, तुफानजस्ता विपद् तीव्र र बारम्बार भइरहेका छन् । यो समस्या युरोप, अमेरिका, अरब, एसियाका सबै देशमा सल्किएको छ । नेपाल विश्वको कार्बनउत्सर्जनमा अत्यन्तै सानो हिस्सा राख्छ, तर असर भने असमान रूपमा भोग्न अभिसप्त छ ।
हाम्रा हिमनदी पग्लिनु, अनियमित वर्षा, बाढी–पहिरो, कृषि उत्पादनमा गिरावट आदिले जलवायु संकट वातावरणीय मात्र नभएर सामाजिक र आर्थिक संकट बन्दै गएको तितो यथार्थ छ । तथापि मुख्य समस्या विज्ञान होइन, पुँजीवादी राजनीति हो । विश्वका शक्तिशाली औद्योगिक राष्ट्रहरू दशकौँदेखि चेतावनी सुन्दै आए पनि उत्सर्जन घटाउने ठोस प्रतिबद्धतामा कमजोर देखिएका छन् । उत्पन्न संकट समाधानका हरेक सम्मेलनहरू, घोषणापत्रहरू, लक्ष्यहरू धेरै छन् तर कार्बन उत्सर्जनको ग्राफ भने बढिरहेको छ । पृथ्वी र मानव जीवनको लागि यो निकै खतराको विषय हो ।
दोस्रो विश्वयुद्धको अन्त्यसँगै संसारले हिरोशिमा र नागासाकीमा मानव इतिहासकै सबैभन्दा भयावह दृश्य देख्यो । त्यो त्रासदीपछि विश्वले “अब कहिल्यै यस्तो नहोस्” भन्ने कसम खाएको थियो । तर विडम्बना त्यसपछि नै आणविक हतियारको भण्डारण झन् बढ्दै गयो । आज पनि विश्वमा हजारौँ आणविक वारहेडहरू तयारी अवस्थामा छन् । केही मिनेटको निर्णयले करोडौँ जीवन समाप्त हुन सक्छ । यसको असर केवल युद्ध क्षेत्रसम्म सीमित नभएर वातावरणमा विकिरण, कृषि प्रणाली ध्वस्त, विश्वव्यापी भोकमरी “न्यूक्लियर विन्टर” अर्थात् सूर्यको प्रकाश अवरुद्ध भएर विश्व तापक्रम अस्वाभाविक रूपमा घटबढ हुने सम्भावना छ ।
आणविक युद्धको परिणाम विजेता र पराजितको कथा होइन बरु सम्पूर्ण मानव सभ्यताको पराजय हुनेछ । आजका ठूला युद्धहरू (ऊर्जा स्रोत, भूराजनीतिक प्रभाव, सीमाको विवाद) प्रत्यक्ष रूपमा प्राकृतिक स्रोतहरूसँग जोडिएका छन् । तेल, ग्यास, खनिज, पानी लगायतका स्रोतहरूका लागि संघर्ष बढ्दै जाँदा वातावरणीय विनाश हुन्छ । कार्बन उत्सर्जन बढ्छ । सैन्य गतिविधि आफैं ठूलो प्रदूषणको स्रोत हो । युद्धले जलवायु संकटलाई बढाउँछ, र जलवायु संकटले भविष्यका युद्धहरूको जोखिम बढाउँछ । यो एक विनाशकारी चक्र हो ।
पृथ्वी सीमित छ । प्राकृतिक स्रोत सीमित छन ्। वातावरणको सहनशीलता सीमित छ । तर हाम्रो लोभ सीमित छैन । जब विश्वका केही प्रतिशत धनी देशहरू र वर्गहरूले अत्यधिक उपभोग गर्छन्, त्यसको मूल्य तिर्ने गरिब समुदाय, साना राष्ट्र र भविष्यका पुस्ताहरू हुन्छन् । त्यसकारण जीवाश्मा इन्धनबाट तत्काल रूपान्तरण भई नवीकरणीय ऊर्जामा तीव्र लगानी गरेर सौर्य, पवन, जलविद्युत, हरित हाइड्रोनमा ध्यान दिँदै आणविक निःशस्त्रीकरणलाई पुनर्जीवित गर्नुपर्छ । आणविक हतियार घटाउने अन्तर्राष्ट्रिय सन्धिहरूलाई बलियो बनाउनुपर्छ । समग्र जीवनको अस्तित्वभन्दा ठूलो “राष्ट्रिय सुरक्षा” हुँदैन ।
त्योसँगै अत्यधिक उपभोगमा आधारित अर्थतन्त्रबाट पुनःप्रयोग, पुनर्चक्रण, स्थानीय वस्तुको उत्पादन र कम फोहोर प्रणालीतर्फ हरेक राष्ट्रहरु अघि सर्नुपर्छ । साथै जनचेतना र नागरिक दबाब नभए सरकारले भ्रष्ट नीति परिवर्तन गर्दैनन् । सचेत नागरिक, वैज्ञानिक समुदाय, युवा आन्दोलन नै वास्तविक परिवर्तनका चालक हुन् ।
हामी पहिलो पुस्ता हौं जसले जलवायु संकटको वैज्ञानिक तथ्य स्पष्ट रूपमा बुझेका छौं, सायद अन्तिम पुस्ता पनि हुन सक्छौं जसले यसलाई रोक्ने मौका पाएको छ । राजनीतिक इच्छाशक्ति, नैतिक साहस र सामूहिक चेतना विकाससँगै राष्ट्रहरूले प्रतिस्पर्धाभन्दा सहकार्य र सहअस्तित्वमा आधारित विकास अपनाएर शक्ति प्रदर्शनलाई मानव सुरक्षाभन्दा माथि राखियो भने भविष्यले हामीलाई क्षमा गर्नेछ । प्रकृतिले अझै हामीलाई मौका दिइरहेकी छm, चेतावनी पनि दिइसकेको छ, अब निर्णय हाम्रो हातमा छ, सहअस्तित्व कि आत्मविनाश ?
















