१३ फागुन, दाङ
प्रतिरोध : जनअधिकार आन्दोलनका तर्फबाट दाङ, क्षेत्र नं. २ का स्वतन्त्र उम्मेदवार प्रमोद धितालले चुनावी अभियान तीव्र पारेका छन् । रिक्सा चुनाव चिन्ह लिएर मैदान उत्रिएका उम्मेदवार धितालले विभिन्न वडाहरुमा मतदाताहरुका बिचमा पुगेर चुनावी अभियान तीव्र पारेका हुन ।
मंगलबार घोराही १८ का नवलपुर, सालघारी, ११ नम्बर वडाका नारायणपुर, खैरा, मनुवा, वडा नम्बर ८ र १० का पत्थरकोट्ट, सेवार, वनगाउँ, कटुकी, वडा नम्बर १२ का वसन्तपुर, बटोलपुर, कृष्णपुर, शाहीपुर लगायतका क्षेत्रका मतदातासँगका भेटघाट गरेको बताए । उनले आफूहरु सानो टिम बनाएर मतदाताको घर तथा कार्यस्थल मै पुगेर आफ्ना कुरा राख्ने र मतदाताको कुरा सुन्ने गरेको बताए ।
“हामीले सानो टिम बनाएर मतदाताका बीचमा पुगेर उहाँहरुका कुरा सुन्ने र आफ्ना एजेन्डाहरु राख्ने गरिरहेका छौँ”, उम्मेदवार धितालले भने । मतदाताहरुले पनि ठूलो भीडभाड भन्दा आफूहरुकै जस्तो प्रचार प्रसारको शैली मनपराएको उनको भनाइ थियो ।
उम्मेदवार धितालले आाफ्नो उम्मेदवारी श्रमजीवी वर्ग र सामाजिक–सांस्कृतिक न्याय र हक–अधिकारको पक्षमा भएको बताए । उनले अनावश्यक आश्वासन दिनेभन्दा पनि गर्नंंसक्ने कुरा मात्रै गरेर मतदातासँग मत मागिरहेको पनि बताए । “झुठा आस्वासनदेखि मतदाता वाक्कदिक्क हुनुहुन्छ, त्यसैले हामीले गर्नसक्ने कुरामात्रै मतदातालाई भनेका छौँ”, धितालले भने ।
दाङ २ मा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका किरण किशोर घिमिरे, नेकपाका निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका विपिन कुमार आचार्यजस्ता हेवीवेट नेता प्रतिस्पर्धामा छन । उम्मेदवार धितालले हेवीवेट नेताको पुरानो मानक जनताले भत्काइदिएको र अब पुरानो विरासतले मात्र चुनाब जित्ने अवस्था नरहेको बताए । “अहिले मतदाताले हाम्रा कुरा रुचीपूर्वक सुनेको र उहाँहरुले दिएको वचनका आधारमा हामी पनि यो क्षेत्रमा प्रतिस्पर्धी नै हौँ । पुरानो विरासत र संगठनको दादागिरीकै आधारमा चुनाव जित्ने अवस्था छैन”, धितालले भने ।
उनले आफूले श्रमजीवी जनताको हकहितको कुरालाई मुख्य मुद्दा बनाएको बताए । “विकास,सुशासन, पारदर्शीता, जवाफदेहिता, जनपक्षीयता आम नेताको मुद्दा भइसके । हामीले यसका साथै श्रमजीवी जनताको हितलाई मुख्य मुद्दा बनाएका छौँ । श्रमिक अधिकार हाम्रो मुख्य मुद्दा हो”, उनले भने ।
उम्मेदवार धितालले आफ्नो उम्मेदवारी अहिले स्वतन्त्रको रुपमा भए पनि आफू संगठनमा विश्वास गर्ने र अहिले पनि संगठनकै योजनामा स्वतन्त्र उम्मेदवारी दिएको बताए । “म त संगठनमा विश्वास गर्ने, समाज रुपान्तरण संगठित प्रयासबाट मात्रै सम्भव हुन्छ भन्नेमा विश्वास गर्छु । पार्टी नभए पनि अहिले मेरो उम्मेदवारी संगठित रुपमै हो”, उनले भने । धिताल प्रतिरोध ः जनअधिकार आन्दोलनका केन्द्रीय संयोजक हुन ।
उनले निर्वाचनमा प्रतिस्पर्धा हुने भए पनि आफ्नो प्रतिस्पर्धी कोही नभएको बताए । निर्वाचनलाई आफूहरुले आफ्ना कुरा जनतालाई सुनाउने र जनताका कुरा सुन्ने अवसरका रुपमा लिएको भन्दै निर्वाचनमा पराजित भए पनि जनताको सेवामा निरन्तर लाग्ने बताए ।
“हामीले निर्वाचनलाई प्रतिस्पर्धाका रुपमा मात्र नलिई आफ्ना कुरा जनतालाई सुनाउने र जनताका गुनासा आफूहरुले सुन्ने अवसरका रुपमा लिएका छौँ”, उनले भने, “हामी विजय भए पनि जनताको सेवमा हुन्छौँ भने पराजित भए पनि जनताकै सेवामा लाग्छौँ ।”
उनले निर्वाचन जित्ने जे पनि गर्ने प्रवृत्ति बढ्दै गएको बताए । अप्राकृतिक गठबन्धन, अनावश्यक भिडभाड, एजेण्डा भन्दा वढी व्यक्तित्वको प्रदर्शन, भाइरल हुने होड अहिलेको समस्या भएको बताए । आफूलाई सहयोग गर्ने र सहयोगका लागि आह्वान गर्नेको पनि कमी नभएको भन्दै उनले निर्वाचन जित्नका लागि जे पनि गर्ने सोचमा आफूहरु नभएको बताए ।
उनले निर्वाचनमा आफ्नो कुरा जनतालाई भन्नका लागि ठूलो खर्च आवश्यक नभएको बताए । “हामीले सामान्य प्रचार प्रसारका सामग्री तयार गरेका छौँ । होहल्लामा भन्दा पनि कन्टेनमा जोड दिएका छौँ”, उनले भने, “सानो टिम बनाएर धेरै भन्दा धेरै जनतासामू पुग्ने प्रयास गरिरहेका छौँ ।”
















