किन बनेन देश, बनाउने कसरी ? आउनुस्, मज्जाले प्रश्न गरौँ

गाउँ सहरमा नेताले बाँडिरहेका चुनावी समृद्धिका अनावश्यक लफ्फाजीबारे आम नागरिक सचेत हुन जरुरी छ । किनकी हामीले २००७ सालदेखि दर्जनौँपटक आफ्नो अमूल्य मत खसालेर हजारौं जनप्रतिनिधि चुनेका छौँ । यो बिचमा दर्जनौँ सरकार बने र विघटित भए । जनताका अभाव र समस्यामा हातेमालो गरेर उनीहरुका दर्दमा मलहमपट्टी गर्दै समृद्ध मुलुक बनाउने बाचा गरेर चप्पल पड्काउँदै एकसरो कपडामा काठमाडौं छिरेका हाम्रा जनप्रतिनिधि सम्भ्रान्त वर्गमा परिणत भई अकुत सम्पत्ति जोडेर भोगविलासको जीवन बिताइरहेका छन् तर जनताले सिटामोल खान नपाएर वा भनौँ भोकभोकै छट्पटाएर अकालमा ज्यान गुमाउन विवश छन् ।

जनतालाई कर, महंगी र भ्रष्टाचारजन्य बेथितिले थोपरेको अजङ्गको भारी बोकाएर जनताकै रगत पसिनामाथि किन होली खेलिरहेछन् हाम्रा शासक ?

प्रजातन्त्र बहालीको ७५ वर्ष पुग्दापनि देशको राष्ट्रिय स्वाधीनता र जनअधिकार तथा जनजिविकाका सवाल किन चुट्किको भरमा समाधान भएनन् र देश झनै कंगालीकरण हुँदै गएको छ ? निजीकरण र उदारीकरणको राष्ट्रघाती नीतिको फ्रेममा घुसेको दलाल एवं् कर्पाेरेट पूँजीवादले देशका दर्जनौँ उद्योगधन्दा र कलकारखानालाई खर्लप्पै निलेर कसरी हाम्रो राष्ट्रिय सम्पत्तिलाई धरासायी बनाउन सफल भयो । राष्ट्रको पुँजी विकास र अर्थतन्त्रको मेरुदण्ड मानिने उद्योगधन्दा कौडीको भाउमा बेचेर शासकले देशमा विकास र समृद्धिको पहिरो ल्याउँछौँ भनेर पत्याउने हामी कस्ता नागरिक हौँ ? जबकी राष्ट्रको आय वृद्धि, रोजगारी र उत्पादनमा आत्मनिर्भरताको विकासको लागि राज्यको स्वामित्वमा उद्योगधन्दा र कलकारखाना पहिलो मेरुदण्ड हो तर हामीले शासकले गरेको यस्ताखाले भ्रमपूर्ण कुरा पलभरमै पत्याएर नेतासँगै गला किन जोड्यौँ ? उनीहरुले महाकाली बेचेपछि वर्षेनी राज्यको खातामा अरबौँ रकम आउँछ, यसैबाट हामीले देश विकासको मूल फुटाउँछौँ भने । देशको सीमाना नै साटिएको, हाम्रो महाकाली नदीको मुहान नै सारेर भारततर्फ हालेर सानो खोल्सो देखाएर चतुर भारतीय शासकले यहाँका दब्बु शासकलाई मनाएको सो राष्ट्रघाती सन्धिलाई पनि ठिक भनेर ताली बजायौँ । अमुर्त व्यक्ति र पार्टीको नारा भजाउँदै जिन्दावाद र मुर्दावादको नारा उरालेर उनै राजनैतिक एवम् वैचारिक नपुंशकको अघिपछि दौडिरहयौँ ।

शासक झनपछि झन् फन्टुस र फासीवादी बनिरहे । उनका हरेकखाले जनमारा बदमासीमा हामी अन्धभक्त बन्दै ताली बजाएर आत्मरति किन लिइराख्यौँ ? अझ कहिलेसम्म नेतालाई भगवान मानेर थप अपराध गर्न प्रेरित गरिरहने हो हामी नेपालीले ? के प्रश्न, प्रतिप्रश्न गर्ने हाम्रो आलोचनात्मक चेत सकिएकै हो त ?

हाम्रै विवेकमा लागेको ढडेलोले सिर्जना गरेको मनमौजी र अन्धभक्त समर्थनका कारणले लोकतन्त्रको मेरुदण्ड मानिने संविधानको सर्वोच्चता गुमिरहेको छ । सोही कारणले गर्दा विधिको शासन नागरिक सर्वाेच्चता, स्वतन्त्र र निष्पक्ष निर्वाचन, शक्ति पृथकीकरणको सिद्धान्त लगायतलाई सिन्डिकेट प्राप्त दलका भ्रष्ट नेताहरुले सनकबाट पटकपटक निमोठिएको छ, विभत्स हत्या गरिएको छ । स्वतन्त्र न्यायपालिका, मौलिक हक र मानवअधिकार, बहुदलीय व्यवस्था र राजनीतिक प्रतिस्पर्धा, पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिक सहभागिता र सचेत नागरिकता, पारदर्शिता र जवाफदेहिता तथा अल्पसंख्यक अधिकारको संरक्षण जस्ता महत्वपूर्ण विषयको हुर्मत लिइएको छ ।

दलका नेता र उनका आसेपासेले नै लाभको पद लिने र व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालई पङ्गु बनाइरह्को दशकौँ भइसक्यो । जनप्रतिनिधि, मन्त्री, नेताको पहलमा भनि हरेक जिल्लामा जाने विकास बजेटको किन कार्यान्वय भएको छैन र तिनै योजनाको नाममा भ्रष्टाचारलाई संस्थागत गरिएको छ ? आजैबाट औँला उठाउने साहस गरौँ ।

संसदीय राजनीतिको सामान्य सैद्धान्त्कि नियम बहुमतको शासन भएकोले प्रतिपक्ष वा अल्पमतको सगर्व कदर गर्नुपर्ने हो तथापि नेपालको परिप्रेक्षमा अल्पमतको कुरा त के, दुई तिहाई बहुमत सांसद तथा जनताले भनेको नमानेर शासकीय अहंमता र दादागिरी देखाउँदा देश नै जलेर खरानी भयो । ७६ बढीको अकालमा मृत्यु भयो । परिवर्तनको उत्कट चाहना बोकेर भएको जेनजी उमेर समूहको विद्रोहमा अन्धाधुन्ध घुसपैठ हुँदा देश अनाहकमा २० वर्ष पछाडि परेको तितो यथार्थ छ ।

एकातिर यस्तो दुर्दान्त क्षण हाम्रोसामु छ भने अर्काेतिर हरेक पार्टीका नेताहरु दलाधिपति हुँदै देश सञ्चालनको सम्पूर्ण चावी विदेशीलाई सुम्पिँदा पनि हामीले किन खबरदारी, प्रश्न र प्रतिप्रश्न गर्दैनौँ ? हामी किन सदियौँदेखि गरिबी र अभावको कालो बादलभित्र नारकीय जीवन बिताउन विवश छौं, कतै हाम्रै मौनता र बफादारितामा रहने कमजोरी र लापरबाहीको कारणले शासक मैमत्त साँढे बनेका त होइनन् ? सरल उत्तर छः यो हाम्रो समस्याले हो । हाम्रेै बेप्रवाह हो र हाम्रै मौनतको सीमामा टेकेर नै नायकहरु खलनायकमा बदलिएको सत्य हो ।

त्यसकारण गलाभरी विभिन्न कलरका खादामाला र मुहारभरि अविर लपटेर हाम्रो गरिबी, अभाव, भोकमरी, पलायनता र निराशाले थिलथिलो परेको कमजोर एवम् धर्मराएको मनोविज्ञानसँग खेलेर एकाध वर्षमै देशको कायापलट गर्छाैं, हामीलाई भोट दिनुस् भन्दै लम्पसार पर्ने उडन्तेहरुलाई मतदाताले वस्तुवादी प्रश्नसहित कडा खबरदारी गर्नुपर्ने हुन्छ ।

आउनुस्, हामीलाई साँचो अर्थको परिवर्तन चाहिएको छ भने उनीहरुलाई अनिवार्य रुपमा सोधौँः तपाईंले चाहेको राज्यव्यवस्था के हो ? धार्मिक, प्रजातान्त्रिक वा समाजवादी ? राष्ट्रियता के हो ? अमेरिकाले जबरजस्त संसदबाट घुसाएको विवादित राष्ट्रघाती एमसिसी परियोजनाबारे तपाईंको व्यक्तिगत र पार्टीको आधिकारिक धारणा के हो ? तपाईं वा तपाईंको पार्टीले अगाडि सारेको शासकीय स्वरुप कुन हो ?

नयाँ भनाउँदा ओभरस्मार्ट धुन्धुकारी र अराजक अन्धभक्तहरुलाई अझ जोड दिएर प्रश्न गरौँः देशको एकतिहाई माटो अनाहकमा गुमाउन विवश सुगौली सन्धिबारे के हो ? देशको सीमाना नै हेरफेर गरेर भारतीय सेना कालापानीमा हुल्ने र नदिको सम्पूर्ण अग्राधिकार भारतसामु राखेर सुख्खा सिजनमा नेपालीले पानी छुनै नपाई लाखौँ हेक्टर उर्वरजमिन बन्जर राखेर कृषकको छाती चह¥याउने महाकाली सन्धि, टनकपुर, कोशी, गण्डकी आदि राष्ट्रघाती सन्धिले नेपाली जनतालाई थोपरेको कंगालीकरणबारे उम्मेदवार र पार्टी लाइन के हो ?

भारतबाहेक अन्य देशसँग मुलुकी सुरक्षाको निम्ति चाहिने आधारभूत हातहतियार तथा गोलीगठ्ठा एवम् लजिस्टिक सामान लिनै नपाइने वा उसँग नपाइने अन्य खरखजाना खरिद गर्न पनि भारत सरकारको आदेश र अनुमति लिनुपर्ने राष्ट्रघाती पारवहन सन्धिबारे के गर्ने ? चेतनाको अभिवृद्धि, महिला सशक्तीकरण र सबैखाले गरिब एवम् निमुखाहरुको मुक्ति दिलाउने न्युनतम कार्यक्रम र दुरगामी राजनीतिक एजेण्डा के हो ?

अज्ञानता, अल्पज्ञान एवम् सर्वज्ञानको घमण्डले समाजमा व्याप्त अराजकता र अश्लीलतालाई निस्तेज पार्दै सही ज्ञान र चेतनाको अभिवृद्धि गरेर जिम्मेवार देशभक्त नागरिक उत्पादन गर्ने वौद्विक पूर्वाधार विकासको कार्यक्रम के हुन् ? देशको शासकीय स्वरुप कस्तो आवश्यक छ, महिला सशक्तिकरण र उपेक्षित वर्गको मुक्ति कसरी गर्ने हो ?

देश, भूगोल र जनसंख्यालाई चाहिएको निर्वाचन प्रणाली कस्तो हो, राष्ट्रिय स्वाधीनतासँग जोडिने परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, कुटनीति र अन्य शक्ति सन्तुलनबारे दुरगामी नीति के हो ? कति निर्वाचन क्षेत्र कायम राख्ने हो, संघीयता कस्तो प्रकारको हो, आफ्ना नेता र कार्यकर्ताको मनग्य भर्ती केन्द्र बनाउँदै जनतालाई करको भारि बोकाएर कुलो र बिबाहको उद्घाटनमा घोडसवारको ताँती लगाउनेप्रदेश संरचनाबारेको धारणा के हो ? साँचो अर्थको शान्ति, सुशासन र समृद्धिको ठोस एजेण्डा र त्यसलाई पूरा गर्ने न्युनतम आधारहरु के के हुन् ? देशको बजेट आकारले यो देशका कर्मचारहरुलाई तलब बुवाउन पनि पुग्दैन भन्ने कुरा तपाईंलाई थाहा छ कि छैन ? विकास बजेट मागेर देशको समृद्धि कसरी प्राप्त हुन्छ ?

आधुनिक कृषि उत्पादनको अभिवृद्धि गरी राष्ट्रिय आय वृद्धि गर्ने ठोस कार्यक्रम के छ ? उद्योगधन्दा र कलकारखाना कसरी अभिवृद्धि गर्ने र आयातमुखी उपभोक्ता बजारको माग पूरा गर्दै रोजगारीको व्यापक वृद्धि कसरी गर्ने ? तरकारी तथा खाद्यवस्तुमा भारतले घुसपैठ गरिरहेको अखाद्य एवम् गुणस्तरहिन बजारिया दादागिरी र विषादी परिक्षणको क्वारेन्टाइन उल्लंघनका घटनामा स्पष्ट बजार व्यवस्थापन नीति के हो ?

आउनुस्, सबैले मन्थन गरौँः

देश हाइज्याक गरिएका डाटा, प्रायोजित एल्गोरिदम र विदेशीसँग भिख मागेर ल्याइएको कलोबाट समृद्ध बन्छ कि ग्राउण्डबेसबाट हाम्रो माटो अनुकुलको उत्पादनका साधनमा आधुनिकिकरण गर्दै उत्पादकत्व बृद्धिको लागि दिन गुना र रात चौगुनाको स्तरमा विकास गरेर तमाम क्षेत्रमा विद्यमान माफियाकरणको समूल नष्ट गर्न सकेर मात्र बन्छ ?

हाम्रो वित्तीय नीती के हो ? सहकारी पीडितलाई न्याय दिने र उनीहरुको रगत र पसिनाले सिंचित एक एक रुपैँयाको बचतमा भएको वैधानिक लुटपाट र ठगीको समाधान, क्षेतिपूर्ति र न्याय दिने जादुयी छडी के हो ?

प्रश्न गरौँ तिनीहरुलाई, जसले देशभर ठगी तथा फौजदारी अभियोगमा करोडौँ रकम धरौटी राखेर समृद्धि बनाउने खोक्रो नारा उरालिरहेका छन् । उनीहरुले अब देश बनाउँछन् कि आफूले तिरेको धरौटी उठाउने र आफ्नो मुद्दा किनाराको चलखेलमा जुनी बिताउनुपर्ने  हो ?

सोधौँ निर्धक्कसँग तिनलाई जसले स्वार्थ केन्द्रित मुद्दामामिलाको हेरफेर गरेर आफ्ना मान्छेलाई सुनपानी छर्कने र विरोधीलाई राज्यशक्तिको चरम दुरुपयोग गरेर पटकपटक मुद्दा लगाउने, थुन्ने र बोलकबोल गरेर आत्मसमर्पण गरेपछि कानुनको धज्जी उडाउँदै छाडा साँढेझै किन उन्मुक्ति दिन्छन् ? यो देशमा कानुनको किनबेच कहिलेसम्म चल्ने हो अपराधिहरुको ? के प्रश्न गर्न ढिलो भयो भन्ने लाग्दैन तपाइंलाई ?

अनिवार्यरुपमा खोतलौँ हामीले यसपटक देशको जलजमिन, प्राकृतिक स्रोत सम्पदाबारे धारणा के हो ? खानी तथा उद्योग क्षेत्रमा स्वदेशीकरण र स्थानीय जनताले पाउनुपर्ने अग्राधिकारबारे धारणा के हो ? सोधौँ हामीले चारैतिरबाट भुमिहिन र सुकुम्बासीको समस्या समाधानको वैज्ञानिक समाधान के हो ? प्रत्यक्ष कार्यकारी हो की सेरेमोनियल राजासहितको प्रजातन्त्र? प्रश्न र खबरदारीबाट भागेर सनकको भरमा सामाजिक सञ्जालमा पोख्ने अश्लील तुषले मुलुक समृद्धिको सपना कसरी चुम्न सकिन्छ ? के हो एनसेल काण्डबारे धारणा, विद्युत बक्यौता नतिर्ने ठक उद्योगपतिको विषयमा किन मौन छ ?

उद्योपतिहरुले देश चुसेर अकुत सम्पत्ति थुपार्ने त्यसको केही हिस्सा दलका नेताहरुलाई पनि कलो चखाएर जनता मार्ने कहिलेसम्म हो ? किन बेखबर छौँ, खरवौँ रकम कुम्ल्याउने माफियातन्त्रको महाजालो भत्क्याएर निमुखा र गरिबहरुका सुदिन फर्काउने अभियानमा हामी ? विलासी जीवनशैली र फजुल खर्चको सीमा किन नाघिरहेको छ, हत्या, हिंसा, बलात्कार, चोरी डकैती र ठगीको पत्तासाफ गर्न के शाषक, जनप्रतिनिधि, सेवा डेलिवरी गर्ने कर्मचारी नैतिकवान्, जिम्मेवार र पारदर्शी हुनुपर्देन ? जनताको रगत पसिना मिसिएको करबाट पालितपोषित राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र किन भ्रष्टाचारको आहलमा डुबेर गन्ह्याइरहेको छ ?

बर्खरै मात्रै “नेपोकिड”को विरुद्ध भएको जेनजी आन्दोलनलाई लात मार्दै करेन्ट चाउचाउबाला मालपानीसँग कुम जोड्दै ८ करोडको गाडीमा हुँइकिनुपर्ने हाम्रा उधारो प्रधानमन्त्रीलाई किन बाध्यता आइपर्‍यो ? परिवर्तनको खातिर हुने हरेकखाले न्यायपूर्ण आन्दोलन, विद्रोहलाई आतंककारी भनेर सहिदको रगतको भल नसुक्दै अपमान गर्ने दानवहरुले समाजमा कसरी न्यायोचित राज्यसत्ताको अनुभूति दिन सक्छन् ? न्याय, अधिकार र स्वतन्त्र प्राप्तिको लागि मुक्तिकामी जनताले उठाएको संघर्षमा राज्य गर्ने आततायी दमन र नरसंहारलाई हाम्रो आँखा, दिमाग र विवेक ठिक ठाउँमा छ भने त्यो कसरी सही हुन सक्छ ? सोधौँ, सहकारी काण्ड के हो ? बालुवाटार, बाँसवारी तथा गिरीबन्धु चिया बगानको घोटालाको फाइल कहाँ पुगेको छ ?

हाम्रा विकासे योजनाहरु दशकौँदेखि अलपत्र हुने र भ्रष्टाचार गर्ने अखडा मात्र बन्न पुगेका छन्, मुहानलाई नै व्यवस्थित नगरिकन ल्याइएको मेलम्ची खानेपानी आयोजना ५ दशकदेखि चुनावी नारा मात्रै बन्यो । पछिल्लो चार वर्षयता काठमाण्डौंम गर्न खोजिएको वितरणको प्रक्रिर्या पनि वैज्ञानिक तवरको देखिन्न । पाइपलाइन ठाउँठाउँमा फुटेर जलमग्न हुनु, धारामा पानी समान तरिकाले नचढ्नु, नियमित पानी वितरण गर्न नसकिनु जस्ता गौरवको योजनामा भएका प्राविधिक समस्या किन हल हुन सक्दैनन् ? २ सय ११ अरबमा बनिरहेको राष्ट्रिय गौरवको आयोजना तराई–मधेसलाई सिधा काठमाण्डौँसँग जोड्ने ७०.९ किमीको फास्ट ट्रयाक किन दशकदेखि नेपाली सेनाले भ्रष्टाचारको अखडा बनाएर म्याद थपिरहेको छ ? हाम्रो सेनाले ७० किमी सडक पनि दशक बित्दासम्म सम्पन्न गर्न नसक्नु विडम्बनाको विषय होइन त ?

देश विकासमा अर्थतन्त्रको बलियो अस्त्र बन्नसक्ने पर्यापर्यटनको संवर्धन र विकासको कार्यक्रम के हो ? शैक्षिक ठेकेदार र माफियागिरीले शिक्षा क्षेत्रमा मच्याइरहेको लुट र धार्मिक साँस्कृतिक अफवाहबारे धारणा के हो ? तपाईंको शिक्षा र सांस्कृतिक नीति के हो ? कसरी शिक्षा क्षेत्रमा माटो अनुकुलको सुधार गरी आत्मनिर्भर, स्वाबलम्बन बनाउँदै वर्षेनी उत्पादित लाखौँ बढी जनशक्तिलाई नेपालमा रोजगारीमा जोड्न सकिन्छ ?

स्वास्थ्य क्षेत्रमा व्याप्त माफियाकरण र लुटधन्दाको अन्त्य गरेर निमुखा वर्गले पनि उपचारमा सहज पहुँच पुग्नसक्ने स्वास्थ्य नीति कस्तो छ ? सही ज्ञान निर्माण्को लागि पठन संस्कृतिको विकास कसरी गर्ने ? महिला, मधेसी, जनजाती, मुस्लिम, पिछडावर्ग तथा उत्पीडित जात जाती र धर्मको सही निकास के हो ? समानतामा आधारित समानुपातिक समावेशीताको संवैधानिक हकलाई निष्पक्ष ढंगले कार्यान्वय गराउने उपायहरु के के हुन ? नेपालको स्वास्थ्य क्षेत्रमा कायापलट गर्न सकिने वस्तुवादी स्वास्थ्य नीति के हो ?

मज्जाले निर्धक्कसँग सोेधौः यो देशमा भ्युटावर, ग्रिनसिटी वा रेडलाइट एरिया निर्माण जस्ता बेकामे एजेन्डा बिकाउने हो कि दिनप्रतिदिन झन् बिकराल बन्दै गइरहेको गरिबी निवारणमा साँचो अर्थको ध्यान खिच्ने हो ?

देश बनाउने स्पष्ट आर्थिक नीति के हो ? हाम्रो विकासे पूर्वाधार, दक्ष जनशक्ति, प्रविधिको विकास, आचरण र विचार आदिले अराजकता र दिशाहिनतामा भासिएको छ, सबैखाले विकृति र युवा पलायनतालाई रोक्नसक्ने विश्वासनीय कार्यक्रम के हुन् ? चुनावले समाज बदल्न सक्छ, तर त्यसका लागि मतदातामा खबरदारी, सही सूचनाको ज्ञान र विवेकको जागरण पनि उत्तिकै जरुरी छ । नत्र ‘चुपचाप…….छाप’ भन्ने अतिवादले हामीलाई पनि इतिहासले सराप्ने छ । देश झन् हरिविजोगमा पर्नेछ । हामी नेपालीको भविष्य अन्धकारमा पर्नेछ ।

दशक अघिसम्मका चुनावमा परम्परागत रूपमा राजनीतिक र वैचारिक रुपमा ‘पार्टीको लिगेसी’ हेरिन्थ्यो तर सामाजिक सञ्जालले गर्दा अहिले ‘सेलिब्रेटी कल्चर’ र ‘तत्कालीन मुद्दा’ हाबी भएका छन् । सामाजिक सञ्जालमा चल्ने ट्रेन्डले चुनावको मुख्य एजेन्डा के हुने भन्ने तय गर्दैन । छोटा भिडियो (टिकटक रिल्स)ले लामो भाषणभन्दा छिटो र प्रभावकारी रूपमा मानिसको दिमागमा छाप पार्छन् । तर ति क्लिपहरु कुन उद्देश्यले निर्माण गरिएको हो ? यसको सकारात्मक र नकारात्मक पक्ष के हुन् भन्ने विषयमा हाम्रो आलोचनात्मक चेत जिवित राख्न जरुरी छ । यतिबेलाको नेपाली राजनीतिमा निर्वाचन केवल भोट खसाल्ने प्रक्रिया मात्र रहेन, यो ‘डिजिटल म्यानिपुलेसन’ र ‘इमेज व्यवस्थापन’को एउटा जटिल खेल पनि बनेको छ ।

हिजोको ‘आस्था’ र ‘त्याग’मा आधारित राजनीति आज सामाजिक सञ्जालको ‘अल्गोरिदम’ र ‘भाइरल’ संस्कृतिको चेपुवामा परेको छ । उच्च चेतना, नीति, विचारधारा र दीर्घकालीन प्रभावमा आधारित मतदान नहुने जोखिम बढ्नु लोकतन्त्रका निम्ति निकै खतराको विषय हो । कम चेतना, भावनात्मक नारा, पैसाको प्रभाव, डर वा भ्रममा आधारित मतदान र सामाजिक सञ्जालले सूचना मात्र होइन, भ्रम र अफवाह पनि तीव्र गतिमा फैलाउँछ । यसमा हामी सचेत हुन जरुरी छ ।

त्यसकारण हाम्रो अमूल्य मत देशको अग्रगामी रुपान्तरण्को मतपेटिकामा खस्न जरुरी छ नकि आवेग र हुल्लडवाजको भुंग्रोमा । हामीले उच्च विवेकको प्रयोग गर्ने यहिँनेर हो । जोकर र चाकडी प्रणाली खारेज गरौँ । लोकप्रियतावादले कैयौँ देशहरुको अस्तित्व नै नामेट भएको हामीले देखेका छौँ । उदाहरणको रुपमा हिटलरी नाजीवादले पतन गराएको जर्मन साम्राज्य, विकास र समृद्धिको लोभमा पतन भएको सिक्किम, जनताको ७३ प्रतिशतले अनुमोदित भएका युक्रेनी राष्टपती र त्यसको एक महिना भित्रमा निम्तिएको युक्रेनको विनास र विलय आदि हेरे पुग्छ ।

अन्त्यमा, संसारको कुनैपनि देश ८÷१० वर्षमै विकास र समृद्धिले कायापलट हुन सक्दैन तर माथि उल्लेखित सम्पूर्ण विकासका सवालउपर सम्बधित विधाका विषय विज्ञहरुसँग व्यापक छलफल र अन्तरक्रिया गरेर वस्तुवादी निकासको ‘रोडम्याप’ दिनसक्ने र विज्ञ जनशक्तिसहितको देशभक्त एवम् क्रान्तिकारी शासक र प्रशासक भएको खण्डमा ८÷१० वर्षको अवधिमा सम्पन्नताको पूर्वाधार मज्जाले खडा गर्न सकिन्छ । त्यसलाई पूरा गर्न थप १२ देखि १५ वर्ष लाग्छ । त्यो पनि तिव्र इच्छाशक्ति र प्रयाप्त बजेट सुनिश्तिताको प्रत्याभुति हुन सकेको खण्डमा मात्र । समग्रमा भन्दा २२/२५ वर्षमा देशले समृद्धिको सपना हासिल गर्न सक्छ । त्यसको लागि सम्पूर्ण नागरिक सबैभन्दा बढी जागरुक, चेतनशील, आलोचनात्मक चेतले भरिपूर्ण भएको साचो अथैको देशभक्त हुन जरुरी छ । देशको सहि निकास एक्काइसौं सदिको वैज्ञानिक समाजवाद हो । यदि हामीले यो कुरालाई राम्रोसँग बुझ्न सकेनौं भने पुँजीवादी भ्रमपूर्ण व्यवस्थाले तपाईं हामीलाई चुस्ने र देश भुट्ने काम मात्रै हुनेछ ।

प्राणमञ्च मासिककाे माघ अंकमा प्रकाशित

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation