चुनाव जित्नेभन्दा समाज बनाउने शक्तिकाे जरुरी: टंक कंडेल

गगन थापा र कुलमान घिसिङ जस्ता पात्रले हार्ने र ‘हार्न परे आत्मदाह गर्छु’ भन्दै स्टन्ट गर्ने जोकरहरुले फराकिलो मतान्तरले जित्ने अवस्था किन आउँछ?

खास समस्या भोटरको होइन, हाम्रो परीक्षण विधिको हो। जब विधि नै अवैज्ञानिक हुन्छ, नतिजा यस्तै र्‍यान्डम र अतार्किक (Illogical) निस्कन्छ।

वास्तवमा लोकतन्त्रमा ‘टाउको गनेर’ सही र गलत, वा राम्रो र नराम्रो निर्धारण गर्ने परिपाटी नै त्रुटिपूर्ण छ। भिडले आफ्नो ‘स्वार्थ’ को प्रतिनिधित्व सबैभन्दा प्रभावकारी तरिकाले गर्न सक्ला, तर भिडले सधैं ‘विचार’ वा ‘सही/गलत’ को प्रतिनिधित्व गर्न सक्दैन।

यदि टाउको गनेरै फैसला हुने भए नेपालमा सती प्रथा र जातीय छुवाछुत कहिल्यै हट्ने थिएन।

राणाशासनको अन्त्य भोटिङबाट भएको होइन।

२०३७ सालमा पञ्चायत ठीक कि बहुदल भनेर टाउको गन्दा जितेको पञ्चायतले नै थियो।

अष्ट्रेलियाले आदिवासीमाथि विगतमा भएको अन्यायमा क्षमायाचना गर्दै ‘Sorry Day’ मनाउँछ। तर त्यही अष्ट्रेलियामा २ वर्षअघि आदिवासीलाई संविधानमा विशेष सम्बोधन गर्ने कि नगर्ने भनेर भोटिङ (Referendum) गर्दा झण्डै ६०% ले ‘हुँदैन’ भनेर भोट हाले। ‘Sorry’ भन्ने कुरा पनि भोटिङबाट गर्न खोजेको भए सम्भव हुन्थेन।

अमेरिकामा दास प्रथा भोटिङबाट हटाउन खोजेको भए गृहयुद्ध हुँदैथ्यो तर दास प्रथा बहुमतले पारित हुन्थ्यो।

यदि चीनले पनि टाउको गन्ने लोकतन्त्र रोजेको भए, आज भारतकै स्तरमा रुमल्लिरहेको हुन्थ्यो।

आज हामी विज्ञान प्रविधिको यस्तो युगमा छौं जहाँ हरेक मान्छे ‘ह्वाट्सएप युनिभर्सिटी’ (WhatsApp University) को एक्स्पर्ट बनेको छ। चुनावमा उसले आफ्नो त्यही विज्ञता प्रयोग गरेर आफूभन्दा पनि ठूलो ‘खतरा एक्स्पर्ट’ (पपुलिस्ट) छान्छ। आज अमेरिकामा डोनाल्ड ट्रम्प नछानिएको भए सायद प्यालेस्टाइन र इरानको यो हालत हुने थिएन।

अब संसारले टाउको गनेर चलाउने परम्परागत लोकतन्त्रको मात्र अभ्यास गर्न नसक्ने अवस्था आइसकेको छ। यदि हामीले समयमै यसको विकल्प खोज्न सकेनौं भने पपुलिजमको यो लहरले कुनै पनि दिन विश्वलाई न्युक्लियर बमको चपेटामा पुर्‍याउन सक्छ। शिक्षाले यो अवस्थामा परिवर्तन ल्याउँछ भन्ने तर्क गर्न सकिएला तर अमेरिका र अस्ट्रेलियाको साक्षरता ९९% छ। यो शिक्षाको सवाल हुँदै होइन, पपुलिजम हाम्रो सर्भाइभल इन्स्टिंक्ट (Survival instinct) सँग जोडिएको छ। यो प्राकृतिक हो।

जबसम्म मानिसमा स्वार्थ, ईर्ष्या, प्रेम र घृणा रहन्छ, पपुलिजमको खतरा कुनै न कुनै रूपमा रहन्छ नै।

त्यसैले अब प्रगतिशील कांग्रेसी लगायत सबैले गम्भीर भएर सोच्ने बेला आएको छ। मानिसको ‘स्वार्थ र आवश्यकता’ को प्रतिनिधित्व सरोकारवालाहरूको भिडबाटै (टाउको गनेर) गराउनु पर्छ। तर ‘विचार’ र ‘सही/गलत’ को प्रतिनिधित्वको लागि वैकल्पिक विधि खोज्नै पर्छ।

यहाँ यस्तो प्रश्न उठ्न सक्छ- उसोभए सहि र गलत कसले निर्धारण गर्ने? यदि ‘टाउको गनेर’ (जनताले) सही र गलत नछान्ने हो भने, त्यो छान्ने जिम्मा कसलाई दिने? केही मुठ्ठीभर विज्ञ वा एलिट (Elites) हरूलाई?

विश्वलाई आज जे जति राम्रो कुरा प्राप्त भएको छ, के यो एलिटहरुकै योगदानको देन होइन र? मानव सभ्यताले आजसम्म हासिल गरेका विज्ञान, प्रविधि, मानवअधिकार, संविधानवाद र स्वतन्त्रताका अवधारणाहरू भिडले आविष्कार गरेका होइनन्। सुकरात, प्लेटोदेखि लिएर ग्यालिलियो, न्युटन हुँदै आधुनिक लोकतन्त्रका सूत्राधारहरू (जस्तै: अमेरिकी संविधान लेख्ने ‘फाउन्डिङ फादर्स’) सबै बौद्धिक एलिट नै थिए। इतिहासमा ‘सत्य’ को सुरुवात सधैं अल्पमत (Minority) वा कुनै एक दार्शनिकको दिमागबाटै भएको हुन्छ, जसलाई पछि भिडले अपनाउँछ। त्यसैले विश्वलाई यहाँसम्म ल्याउन बौद्धिक एलिटहरूको (दार्शनिक, वैज्ञानिक, सम्पादक, विचारक) देनलाई नकार्न सकिँदैन। यदि फैसला गर्ने ठाउँमा दार्शनिक र सम्पादकहरू हुँदैनथे भने आजको विश्वको अनुहार पक्कै यस्तो हुने थिएन।

यसरी त बहुलवादको अन्त्य र तानाशाहको सुरुवात होला नि त ? चीनकै जस्तो व्यवस्थाको वकालत गरेको हो ? पक्कै होइन। चीन एउटा सन्दर्भ हुन सक्छ तर राम्रो लोकतन्त्रको उदाहरण होइन। बहुमतको विकल्प खोज्नु भनेको बहुलवाद (Pluralism) मास्नु वा तानाशाही (Dictatorship) ल्याउनु होइन। राजनीतिक दर्शनमा ‘भिडतन्त्र’ को विकल्प तानाशाही मात्र होइन, अरु पनि कैयौं उन्नत व्यवस्थाहरू हुन सक्छन्। जस्तै:

ज्ञानतन्त्र (Epistocracy): यो यस्तो अवधारणा हो जहाँ नीति निर्माण र सही/गलतको फैसला गर्ने अधिकार उनीहरूलाई मात्र हुन्छ, जोसँग त्यो विषयको ज्ञान र विशेषज्ञता हुन्छ।

विमर्शात्मक लोकतन्त्र (Deliberative Democracy): यसमा ‘कति जनाले भोट हाले’ भन्दा पनि ‘कति सटिक र तार्किक बहस भयो’ भन्ने कुराले निर्णय लिइन्छ। दार्शनिक र सम्पादकहरूले फैसला गर्ने ठाउँ यही हो।

यी उदाहरण सन्दर्भ मात्र हुन्, यी पर्याप्त छैनन्। हामीले बिल्कुल नयाँ व्यवस्थाको सिर्जना गर्नुपर्ने छ।

कांग्रेस र कम्युनिष्ट दुवै आइडियोलोजी अब पुराना भइसके। आउनुहोस्, अब चुनाव मात्र जित्ने होइन, समाज रूपान्तरण गर्ने एउटा नयाँ विचार, नयाँ प्रणाली र नयाँ मान्यताको विकास गरौं।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation