समानुपातिकमा कुन दलबाट कति महिला आउँदै ?

२६ फागुन, काठमाडौं

प्रतिनिधिसभामा कम्तीमा ७७ जना महिला सांसद समानुपातिक प्रणालीबाट आउने भएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा कम्तीमा ३३ प्रतिशत अर्थात् ९१ महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । तर, प्रत्यक्षतर्फबाट १४ महिला मात्रै निर्वाचित भएका छन् । बाँकी ७७ महिला दलहरूले आफ्नो भागमा पर्ने समानुपातिक सिटका आधारमा पठाउनुपर्नेछ ।

प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकमा प्राप्त मत अनुपात हेर्दा ५८ सिट जित्ने देखिन्छ । कुल १८३ सिट जित्दा रास्वपाले ३३ प्रतिशत अर्थात् ६१ महिला सहभागी गराउनुपर्छ । रास्वपाबाट प्रत्यक्षमा १३ महिला निर्वाचित भएकाले अब समानुपातिकमा ४८ जना चुन्नुपर्छ । त्यस्तै, प्रत्यक्षमा १८ सिट जितेको कांग्रेसले समानुपातिकमा १९ सिट ल्याउने देखिन्छ । कुल ३७ सिटको ३३ प्रतिशत अर्थात् १३ महिला उम्मेदवारलाई कांग्रेसले सांसद बनाउनुपर्छ । प्रत्यक्षमा एक सिट जितेकाले अब १२ महिला सांसद समानुपातिकबाट पठाउनुपर्छ ।

त्यस्तै, प्रत्यक्ष नौ सिट जितेको एमालेले समानुपातिकमा १६ सिट ल्याउने देखिन्छ । कुल २५ सिट जित्दा ३३ प्रतिशत अर्थात् नौ महिला चुन्नुपर्छ । एमालेमा प्रत्यक्षबाट एउटै पनि महिला उम्मेदवारले जित निकालेका छैनन् । नेकपा, श्रम संस्कृति र राप्रपाले समानुपातिकमा १० प्रतिशतभन्दा कम मत प्राप्त गरेका छन् । १० प्रतिशतभन्दा कम सिट प्राप्त गर्ने दलले पनि महिला प्रतिनिधित्वकोे हकमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधिसभामा पठाउनैपर्छ ।

प्रत्यक्षमा आठ सिट जितेको नेकपाले अहिलेकै अनुपातमा मत कायम गर्दा समानुपातिकमा पनि नौ सिट प्राप्त गर्छ । कुल १८ सिटको ३३ प्रतिशत हुने गरी उसले ६ महिला सांसद संसद्मा पठाउनुपर्छ । प्रत्यक्षमा एउटै महिला पनि निर्वाचित नभएकाले सबै समानुपातिकबाटै पठाउनुपर्छ । त्यस्तै, श्रम संस्कृति पार्टीले प्रत्यक्षमा तीन सिट जित्दा महिला सांसद छैनन् । उसले समानुपातिकमा चार सिट जित्ने देखिन्छ । कुल सात सिटको ३३ प्रतिशत अर्थात् कम्तीमा दुई महिला समानुपातिकबाटै पठाउनुपर्छ । राप्रपाले पनि समानुपातिकबाट दुई महिला सांसद संसद्मा पठाउनुपर्ने देखिन्छ । प्रत्यक्षमा एक सिट पुरुष सांसदले जितेकामा समानुपातिकमा चार सिट ल्याउने अवस्था रहेकाले कुल पाँच सिटको ३३ प्रतिशत अर्थात् दुई महिला पठाउनुपर्छ ।

चाउरिए पुराना दल
०७९ को निर्वाचनमा राम्रो जनमत पाएका सबै पुराना दल यसपालि नराम्ररी चाउरिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षमा ७६ प्रतिशत सिट जितेर समानुपातिकमा पनि ४८ प्रतिशत हिस्सा सुनिश्चित गर्दा कांग्रेस, एमाले र नेकपालाई ठुलो क्षति पुगेको हो ।तुलनात्मक रूपमा सबैभन्दा ठुलो मार एमालेलाई परेको छ । ०७९ मा प्रत्यक्षतर्फ ४५ सिट जितेको एमाले यसपालि १६५ सिटकै नतिजा आउँदा नौ सिटमा सीमित भएको छ । एमालेको नतिजा समानुपातिकमा पनि उस्तै कमजोर छ । ०७९ मा समानुपातिकतर्फ सबैभन्दा धेरै २७ लाख ९१ हजार मत पाएकोमा यसपालि आधा खुम्चिएको छ । सोमबार राति १२ बजेसम्म एक करोड मत गणना हुँदा एमालेलाई करिब साढे १३ लाख मात्रै प्राप्त भएको छ । समानुपातिकतर्फ कुल एक करोड नौ लाख ७७ हजार मत खसेको छ ।

०७९ को निर्वाचनमा प्रत्यक्षमा केवल नौ सिट जितेको रास्वपाले अहिले १२५ सिट जितेको छ । त्यतिवेला समानुपातिकमा ११ लाख २४ हजार मात्रै मत पाएको उसले एक करोड गणना हुँदा झन्डै आधा अर्थात् ४८ लाख कटाएको छ । रास्वपाले सबैतिर एकछत्र जित निकाल्दा कांग्रेस पनि नराम्ररी खुम्चिएको छ । ०७९ मा प्रत्यक्षतर्फ ५७ सिट जितेकोमा अहिले १८ सिटमै सीमित भएको छ । त्यतिवेला समानुपातिकमा २६ लाख ६६ हजार मत पाएको कांग्रेसले यसपालि अहिलेसम्म १६ लाख मात्रै प्राप्त गरेको छ ।

नेकपा पनि आधा नै खुम्चिएको छ । ०७९ मा प्रत्यक्षमा १८ सिट जितेको नेकपा (तत्कालीन माओवादी)ले अहिले आठ सिट मात्रै जितेको छ । अझ यो पार्टी त्यतिवेला प्रत्यक्षमा १० सिट जितेको तत्कालीन एकीकृत समाजवादीसहित २२ कम्युनिस्ट पार्टी तथा समूह जोडिएर बनेको हो । यो अवस्थामा पनि नेकपाको समानुपातिक मतसमेत घटेको छ । ०७९ मा ११ लाख ६२ हजार मत ल्याएको नेकपा (तत्कालीन माओवादी मात्र)ले यसपालि मतगणना उत्तरार्धतिर पुग्दा सवा सात लाख मात्रै कटाएको छ ।

त्यस्तै, ०७९ मा प्रत्यक्षमा सात सिट जितेको राप्रपा अहिले एक सिटमै सीमित भएको छ भने आठ सिट जितेको जसपा, तीन सिट जितेको नागरिक उन्मुक्ति तथा एक–एक सिट जितेका नेमकिपा, जनमत र राष्ट्रिय जनमोर्चा ‘क्लिनस्विप’ भएका छन् । बरु नयाँ उदाएको श्रम संस्कृतिले तीन सिट जितेको छ । श्रम संस्कृतिले समानुपातिक सिटका लागि थ्रेसहोल्ड पनि कटाएको छ । राप्रपाले समेत समानुपातिकमा अघिल्लो निर्वाचनको भन्दा कम मत पाएको छ भने थ्रेसहोल्ड कटाउन तीन हजार भोट आवश्यक छ । प्रत्यक्षको एक सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

समानुपातिकतर्फको ११० सिटका लागि पनि मतगणना उत्तरार्धतिर पुग्दा रास्वपालाई नै झन्डै आधा मत प्राप्त भएको छ । समानुपातिकमा कुल एक करोड नौ लाख ७७ हजार ७११ मत खसेकोमा राति १२ बजेसम्म एक करोड मत गणना हुँदा रास्वपालाई ४८ लाख प्राप्त भएको छ । ११० सिटमा यो मतको हिस्सा ५३ सिट हुन आउँछ ।

त्यस्तै, कांग्रेसले १६ लाख, एमालेले करिब साढे १३ लाख र नेकपाले सवा सात लाख मात्रै मत पाएका छन् । श्रम संस्कृतिले तीन लाख ४० हजार पाएर थ्रेसहोल्ड कटाएको छ भने तीन लाख १४ हजार कटाएको राप्रपालाई थ्रेसहोल्ड कटाउन तीन हजार मत आवश्यक छ । थ्रेसहोल्ड कटाउन कुल सदर मतको तीन प्रतिशत ल्याउनुपर्छ । अहिलेकै रेसियोमा मत पाए थ्रेसहोल्ड कटाउने पनि देखिन्छ । मत प्राप्तको यही रेसियो कायम रह्यो भने समानुपातिकमा कांग्रेसले १८, एमालेले १४, नेकपाले आठ तथा श्रम संस्कृति र राप्रपाले तीन–तीन सिट पाउने देखिन्छ ।

हालसम्म गणना भएको हिसाबमा ६ दलले पाउने सिटसंख्या ९९ हुन आउँछ । यसमा थ्रेसहोल्ड नकटाउने दलले पाएको मतअन्तर्गतको बाँकी ११ सिट पनि ६ दलमै जोडिन्छ । निर्वाचन आयोगका अनुसार समानुपातिक प्रणालीतर्फ कुल ६३ दलले भाग लिएका छन् । ५७ दलले थ्रेसहोल्ड नकटाउने देखिएको छ । थ्रेसहोल्ड नकटाउने मत १० प्रतिशत पुग्ने आयोगको अनुमान छ । यो कुल सदर मतको १० लाख ५९ हजार ३४९ मत हो । सदर मतबाट यो घटाउँदा ९५ लाख ३४ हजार १४२ मत हुन आउँछ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार यसलाई नै कुल सदर मत मानेर ६ दलले प्राप्त गरेको मत प्रतिशतका आधारमा सिट बाँडफाँट हुनेछ । यही ९५ लाख ३४ हजार १४२ को आधारमा ११० सिटको बाँडफाँड हुनेछ । निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार समानुपातिक मत गणना सक्न बुधबार बिहानसम्म लाग्नेछ ।

‘आयोगले निर्धारित संख्यामा समानुपातिक क्लस्टरअनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ,’ प्रवक्ता भट्टराईले भने, ‘दलहरूले बन्दसूचीभित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी क्लस्टरबमोजिम मिले नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराउने कार्य गर्नेछ ।’ ५ चैतभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको पनि उनले बताए ।

घन्टीमय भयो नयाँ संसद्
प्रत्यक्ष निर्वाचनको १६५ वटै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । जसअनुसार रास्वपाले १२५, कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृतिले ३, राप्रपाले १ र स्वतन्त्र १ सांसद निर्वाचित भएका छन् । समानुपातिकतर्फ मतगणना जारी छ । कुल खसेको एक करोड ९ लाख ७७ हजार ७११ मतमध्ये सोमबार राति २ बजेसम्म १ करोड १ लाख १३ हजार ६२३ मतगणना भएको छ । थ्रेसहोल्ड कटाउन कुल सदर मतको तीन प्रतिशत ल्याउनुपर्छ ।

अहिलेसम्मको बदर मतको अनुपात हेर्दा थ्रेस होल्ड कटाउन करिब ३ लाख १७ हजार ८ सय मत ल्याउनुपर्छ । लगभग अन्तिम चरणमा पुगेको गणनाअनुसार ६ वटा पार्टीले मात्र थ्रेसहोल्ड कटाउने देखिन्छ । रास्वपाले ४८ लाख ११ हजार ६७३ (४८.०२%), कांग्रेसले १६ लाख १८ हजार ८३८ (१६.२३%), एमालेले १३ लाख ४८ हजार ३६८ (१३.५३%), नेकपाले ७ लाख ३२ हजार ९९२ (७.३३%), श्रम संस्कृतिले ३ लाख ४१ हजार ३२ (३.४०%) र राप्रपाले ३ लाख १५ हजार ४३८ (३.१६) मत पाएको छ । थ्रेसहोल्ड कटाउने दलको मात्र हिसाब गर्दा रास्वपाले ५२.३८%, कांग्रेसले १७.७१%, एमालेले १४.७६%, श्रम संस्कृतिले ३.७१% र राप्रपाले ३.४४% मत पाएका छन् । बाँकी मत पनि यही अनुपातमा पाए समानुपातिकतर्फका ११० सिटमध्ये रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले ४/४ सिट पाउने देखिन्छ । अन्तिम गणना आउँदासम्म एक सिट तलमाथि हुन सक्छ ।

नयाँ पत्रीका बाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation