२७ फागुन, काठमाडौं
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत प्रस्थान गरेका छन् ।
भारतको नयाँ दिल्लीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्धिक तथा वैज्ञानिक विमर्शमा सहभागी हुन उनी त्यसतर्फ गएका हुन् ।
‘एनएक्सटी २०२६ ग्लोबल समिट’ नाम दिइएको सो बौद्धिक तथा वैज्ञानिक विमर्श नयाँ दिल्लीस्थित भारत मण्डपममा मार्च १२, १३ र १४ मा आयोजना हुनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी हुने समिटमा डा. भट्टराई ‘गेस्ट अफ अनर’ को रूपमा सहभागी हुँदैछन् ।
आयोजकका अनुसार, विश्वभरिका नीति–निर्माता, सांसद, प्रविधि विज्ञ, व्यवसायी तथा विशिष्ठ शैक्षिक क्षेत्रका प्रतिनिधिहरूको समिटमा सहभागी हुनेछन् । समिटमा विश्व शासन, प्रविधि, अर्थतन्त्र, शिक्षा, सुरक्षा, स्वास्थ्य, वातावरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
विभिन्न देशका सांसद, नीति–निर्माता, विज्ञ तथा युवा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहने यस सम्मेलनलाई समसामयिक वैश्विक बहस र सहकार्यको महत्वपूर्ण मञ्चका रूपमा लिइएको छ ।
पूर्वप्रधानमन्त्री भट्टराईले १४ मार्चमा‘डेमोक्रेसी इन द एज अफ एआईएम डिजिटल गभर्नेन्स एन्ड द युथ’ शीर्षकको सत्रलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ । उनी १४ मार्चमै स्वदेश फर्कनेछन् ।
















