‘एनएक्सटी ग्लोबल समिट’मा रेनु दाहालले सम्बोधन गर्ने

२८ फागुन, काठमाडौं

भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजित एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताको रूपमा आमन्त्रण गरिएको छ ।

भारतीय संसद्को राज्यसभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै निमन्त्रणा गरेका हुन् । मार्च १२, १३ र १४ मा नयाँदिल्लीस्थित भारत मण्डपमा आयोजना हुने सम्मेलनको प्रमुख अतिथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी छन् । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मोरिसन सम्मानित अतिथि रहनेछन् ।

यो सम्मेलनलाई भारतमा वार्षिक क्यालेन्डर इभेन्टको रूपमा विकास गर्ने उद्देश्य राखिएको छ । यसले नीति, शिक्षा, व्यवसाय, राजनीति, विज्ञान तथा प्रविधिका क्षेत्रका विश्वस्तरीय विचारकहरूलाई एकै ठाउँमा ल्याउने लक्ष्य लिएको आयोजकहरूले बताएका छन् ।

सम्मेलनका अन्य प्रमुख वक्ताहरूमा रेल, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री अश्विनी वैष्णव, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री डा. जितेन्द्र सिंह लगायतका छन् ।

सम्मेलनमा ३० भन्दा बढी देशका सांसदहरू, हार्वर्ड, एमआईटी, बर्कली, अक्सफोर्ड, क्याम्ब्रिज, एलएसई, स्ट्यानफोर्ड लगायत विश्वका २५ उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीहरू, विभिन्न देशका उपकुलपति तथा विशेषज्ञहरू सहभागी हुँदैछन् ।

यसैगरी, एनएक्सटी इन साइन्स कार्यक्रम प्रसिद्ध भौतिकशास्त्री डा. ब्रायन ग्रीन (कोलम्बिया विश्वविद्यालय) सँगको सहकार्यमा आयोजना हुने बताइएको छ ।

निमन्त्रणापत्रमा रेनु दाहालजस्ता नेताहरूको उपस्थितिले सम्मेलनलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ । साथै, यस फोरमलाई आगामी वर्षहरूमा कसरी अझ प्रभावकारी बनाउने भन्ने विषयमा उनको सुझावसमेत मागिएको छ ।

रेनु दाहाल भरतपुर महानगरपालिकाको दुई कार्यकाल मेयर रहिसकेकी छन् र हाल सक्रिय राजनीतिमा छन् । एनएक्सटी समिट भारतलाई विश्वस्तरीय संवाद मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यका साथ आयोजना हुँदै आएको छ ।

समिटमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सहभागी हुँदैछन् । उनी बुधबार नयाँदिल्ली प्रस्थान गरेका छन् । भट्टराईले १४ मार्चमा ‘डेमोक्रेसी इन द एज अफ एआईएम डिजिटल गभर्नेन्स एन्ड द युथ’ शीर्षकको सत्रलाई सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation