२९ फागुन, प्युठान
कम्युनिस्ट नेताहरूको प्रभाव रहेको प्यूठानमा यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित भएका छन्।
झन्डै तीन दशकदेखिको वामपन्थी वर्चस्व तोड्दै उनले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका हुन्।
प्यूठान नगरपालिका–१ खैरामा २०५१ जेठ १८ गते जन्मेका वैदिकको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक क्षेत्रसँग जोडिएको छ।
उनका बुबा पदमप्रसाद वैदिक २०७३ कात्तिक १९ मा न्याय परिषद सदस्य नियुक्त भएका थिए। तत्कालीन प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नियुक्त गरेकी थिइन्। तीन वर्षपछि २०७६ मंसिर १८ मा उनले पदबाट राजीनामा दिएका थिए।
सुशान्तको अध्ययन यात्रा तुलसीपुरस्थित राप्ती बोर्डिङ स्कुलबाट सुरू भएको हो। उनले २०६५ मा एसएलसी उत्तीर्ण गरे। त्यसपछि काठमाडौंको तीनकुनेस्थित पेन्टागन इन्टरनेसनल कलेजबाट व्यवस्थापन संकायमा प्लस–टू पूरा गरे।
उनी उच्च शिक्षाका लागि मलेसिया पुगेका थिए, जहाँ क्वालालाम्पुरस्थित हेल्प युनिभर्सिटीबाट उनले अर्थशास्त्रमा स्नातक गरे। त्यसपछि नर्वेको नर्वेजियन स्कुल अफ इकोनोमिक्सबाट स्नातकोत्तर अध्ययन पूरा गरेका वैदिक नेपाल फर्किएपछि नीति तथा अर्थतन्त्रसम्बन्धी क्षेत्रमा सक्रिय भए।
२०७९ मंसिर ४ मा भएको निर्वाचनपछि लुम्बिनी प्रदेशमा कांग्रेस र माओवादी सहितको गठबन्धन सरकार बनेको थियो। त्यस क्रममा दाङ क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित कांग्रेस नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री बने। चौधरीले नै सुशान्तलाई लुम्बिनी प्रदेश सरकारको आर्थिक सल्लाहकारका रूपमा नियुक्त गरेका थिए।
सुशान्तका अनुसार चौधरीले देश निर्माणका लागि सहयोग गर्न प्रस्ताव गरेपछि आफूले आर्थिक सल्लाहकारका रूपमा काम गर्न स्वीकार गरेको बताए।
‘राजनीति जेसुकै होस्, यहाँ देश बनाउनु छ भनेर मकहाँ कांग्रेसका डिल्लीबहादुर चौधरी प्रस्ताव लिएर आउनुभयो,’ सुशान्तले भने, ‘उहाँको प्रस्ताव मलाई जायज लाग्यो र म उहाँको आर्थिक सल्लाहकारका रूपमा काम गर्न राजी भएँ।’
लुम्बिनी प्रदेश सरकारमा रहँदा उनले बजेट निर्माण, आर्थिक सुधार, रणनीतिक योजना तथा विकास कार्यक्रमको अवधारणा तयार पार्ने काममा भूमिका खेले।
प्रदेश सरकारमा राजनीतिक समीकरण पटक पटक बदलिँदा सुशान्तको जिम्मेवारी पनि परिवर्तन हुँदै गयो।
कांग्रेस नेतृत्वको सरकार ढलेपछि २०८० चैत २३ मा माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री बने। महराले पनि सुशान्तलाई आर्थिक तथा विकास विज्ञको जिम्मेवारीमा निरन्तरता दिए। तर केन्द्रमा फेरि सत्ता समीकरण बदलिँदा २०८१ साउन ६ मा महरा नेतृत्वको सरकार पनि ढल्यो।
त्यसपछि कांग्रेसको समर्थनमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेपछि सुशान्तले प्रदेश सरकार छाड्नुपरेको थियो।
प्रदेश सरकारबाट बाहिरिएपछि उनी काठमाडौं फर्किए र धुम्बाराहीमा ‘काठमाडौं रिसर्च इकोनोमिक्स प्रालि’ स्थापना गरे। उक्त संस्थामार्फत अर्थशास्त्र तथा राजनीतिशास्त्र अध्ययन गरिरहेका विद्यार्थीहरूलाई अनुसन्धान र समन्वयमा सहयोग गर्दै आएको उनले बताए।
हाल यो संस्थाले बर्दियामा सरकारले तोक्ने धानको न्यूनतम समर्थन मूल्यबारे अध्ययन गरिरहेको छ।
यसबीच सुशान्त युवा पुस्तामा चर्चित ‘जेनजी मुभमेन्ट’ मा पनि सक्रिय भए। भदौ २३ र २४ मा भएको उक्त आन्दोलनले मुलुकको राजनीतिमा ठूलो हलचल ल्यायो। आन्दोलनपछि राजनीतिक समीकरण परिवर्तन भई तत्कालीन सरकार ढलेको थियो र सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो।
जेनजी आन्दोलनकै क्रममा सुशान्तले काठमाडौंका तत्कालीन मेयर बालेन शाहसँग भेट्ने अवसर पाएका थिए। पछि शाहसँगै सुशान्त पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भए। उनले जेनजी आन्दोलनका मागहरूलाई रास्वपाले आत्मसात गरेको विश्वासका आधारमा आफू पार्टीको केन्द्रीय सदस्य बनेको बताए।
‘अरू दलले जेनजी आन्दोलनका कुराहरू आत्मसात् गरेनन्, तर रास्वपाले गरेको हो,’ उनले भने, ‘भविष्यमा पनि उसले जेनजी मुभमेन्टका कुराहरू यसैगरी आत्मसात् गर्छ भन्ने विश्वासका साथ म रास्वपाको केन्द्रीय सदस्य बनेको हुँ।’
बालेन शाहसँगको चिनजानकै कारण आफूले रास्वपाबाट प्यूठानको टिकट पाएको सुशान्त स्वीकार गर्छन्। तर सक्रिय राजनीतिमा यति छिट्टै प्रवेश गर्ने वा सांसद बन्ने कल्पना भने आफूले नगरेको उनी बताउँछन्।
उनले यो निर्वाचनमा प्यूठानमा लामो समयदेखि कायम कम्युनिस्ट प्रभाव तोडे। उनका अनुसार २०५१ पछि प्यूठानबाट संघीय निर्वाचनमा वामपन्थी दलहरूबाहेक अन्य दलका उम्मेदवार विजयी हुन सकेका थिएनन्।
निर्वाचन परिणाम अनुसार सुशान्तले २७ हजार ४६९ मत प्राप्त गर्दै विजय हासिल गरे। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्दराज पोखरेलले १८ हजार ३३८ मत पाए। २०७९ मा विजयी एमालेका सूर्य थापाले १६ हजार ७१० मत प्राप्त गरे।
प्यूठानमा कुल १ लाख ६५ हजार ४०६ मतदाता थिए। तीमध्ये ८४ हजार ४३३ मत खसेको थियो। प्रतिस्पर्धामा रहेका १४ उम्मेदवारमध्ये ९ जनाको जमानत जफत भएको निर्वाचन परिणामले देखाएको छ। समानुपातिकतर्फ पनि रास्वपाले सबभन्दा बढी ३० हजार ७५२ मत प्राप्त गरेको थियो।
अब सांसद बनेपछि सुशान्तले आफ्नो प्राथमिकता नीति निर्माण र दीर्घकालीन प्रणाली विकासमा रहने बताएका छन्। उनले पुल वा सडकमा आफ्नो नाम लेखाउनेभन्दा प्रणाली सुधारमार्फत् दीर्घकालीन विकास गर्न चाहेको बताए।
उनका अनुसार प्यूठान जिल्ला अस्पताललाई कम्तिमा २०–२२ शैय्याको विशेषज्ञ सेवासहितको अस्पताल बनाउने योजना प्राथमिकतामा छ।
साथै, जिल्लामा प्राविधिक शिक्षा पढाइ हुने आंगिक क्याम्पस स्थापना गर्ने, खानेपानी क्षेत्रमा सुधार ल्याउने र स्वर्गद्वारी मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाउने बताएका छन्।