गगनलाई राजीनामा नदिन सुझाव

३० फागुन, काठमाडौं

नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह गरेका छन् ।

सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ को नेतृत्वमा गएका नेताहरूले शनिबार सभापति थापालाई पदबाट राजीनामा नदिन आग्रह गरेका हुन् ।

आफूहरूले थापालाई मुलुक, संविधान र पार्टीमाथि चुनौती देखिएका कारण राजीनामा नदिन आग्रह गरेको रसाइलीले जानकारी दिए ।

‘यस्तो बेलामा पार्टीलाई पनि निकास दिन र १५ औं महाधिवेशन गर्न तपाईंको नेतृत्व जरूरी छ । राजीनामा नदिनुस् भन्यौ,’ उनले भने ।

निर्वाचनमा हारजित स्वाभाविक भएको र मतदाताले झुक्किएर मत र मन परिवर्तन गर्नुलाई अन्यथा लिन नहुने उनीहरूको भनाइ छ ।

‘संसदीय व्यवस्थामा निर्वाचनमा हारजित भइहाल्न्छ । मतदाताले कहिलेकाहीँ झुक्केर पनि मन र मत परिवर्तन गर्छन् । त्यसलाई अन्यथा लिनु हुँदैन भन्यौं,’ सहमहामन्त्री रसाइलीले भने ।

सभापति थापालाई भेट्न जनकराज गिरी, मधु आचार्य, अजयबाबु शिवाकोटी, प्रमोद गुरागाईं, प्रदीप शर्मा, गंगा सुनार, बिष्णु पाण्डे, सीता मिजारसहित तीन दर्जन केन्द्रीय सदस्यहरू गएका उनले बताए ।

२१ फागुनमा सम्पन्न निर्वाचनमा प्रतिकूल परिणाम आएपछि कांग्रेसमा सभापति थापाले राजीनामा दिनुपर्ने स्वरहरू सुनिन थालेका छन् ।

उनले पनि केही दिनअघि उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा आफूले राजीनामा दिने मनस्थिति बनाएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation