रोल्पामा माटोको ढिस्कोले पुरिएर एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका वडा नं. ७ निवासी ४९ वर्षीया निर्मला बुढाथोकी रहेको इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी हवल्दार द्रोण केसीले जानकारी दिए। उनले बुढाथोकीको घर लिप्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले च्यापेर घटना स्थलमै मृत्यु भएको बताए।
शनिबार मध्याह्न १२ बजेको समयमा घर लिप्ने माटो खन्ने क्रममा रुन्टीगढी – ७ मटिखन्ने डाडाँमा घटना भएको थियो । मृतकको शव पाेष्टमाटमकाे लागि जिल्ला अस्पताल रेउघा पठाइएको प्रहरीले जनाएको छ ।
माटो खन्ने क्रममा अन्य तीनजना घाइते भएका छन् । घाइते हुनेमा सोही निवासी २८ वर्षीया एलिना पुन, ४९ वर्षीया पार्वती पुन र ३८ वर्षीया शान्ति पुन रहेका छन् ।
घाइते तीनै जनाको प्राथमिक स्वास्थ्य चौकी होलेरीमा सामान्य उपचार पश्चात् थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रिफर गरिएको इप्रका होलेरीले जनाएको छ ।
माटो खन्न गएको सात जनाको टोली रहेको र त्यसमध्ये एक जनाको घटना स्थलमै मृत्युुसँगै अन्य तीनजना घाइते भएको र बाँकी तीनजना सकुशल रहेका समेत प्रहरीले जानकारी दिएको छ ।
मृतक बुढाथोकीका तीन छोरा छन् । जेठो छोरा बैदेशिक रोजगारीमा छन् भने माइलो र कान्छो छोरा घरमै छन् । उनका श्रीमन रेशम बुढाथोकी भने सरस्वती माबि सतिममा शिक्षण पेशामा आवद्ध रहेका छन् ।
















