३ चैत, प्युठान
श्री उमामहेश्वरी माध्यमिक विद्यालय, स्वर्गद्वारी–५, सारी, प्युठानमा “डिल्लिराज–हरिकला” नामक छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ । शिक्षा र सेवाको उज्यालो दीप प्रज्वलित गर्दै पीता एवम् विद्यालयका पूर्व प्रअ तथा शिक्षक स्वर्गीय डिल्लिराज पौड्याल र माता हरिकला पौड्यालको पावन स्मृतिमा उहाँहरूका छोराहरू प्रा.डा. देवराज पौड्याल, प्रशिक्षक घनश्याम पौड्याल तथा दन्त चिकित्सक मदनकुमार पौड्याल लगायत सम्पूर्ण परिवारको संयुक्त पहलमा उक्त अक्षयकोष स्थापना गरिएको हो ।
विद्यालयप्रति गहिरो आत्मीयता र जन्मथलोप्रतिको ऋण तिर्ने भावनाले प्रेरित भई पौड्याल परिवारले रु ३,०१,१०१ (तीन लाख एक हजार एक सय एक) रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका हुन् । यो कोषबाट हरेक वर्ष विद्यालयमा अध्ययनरत जेहेन्दार, लगनशील तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिने विश्वास गरिएको छ । यसले केवल आर्थिक सहयोग मात्र नभई विद्यार्थीहरूमा शिक्षाप्रतिको आशा, उत्साह र आत्मविश्वासको नयाँ ज्योति जगाउने अपेक्षा गरिएको छ ।
स्वर्गद्वारी–५, सारी प्युठान निवासी देवराज पौड्यालले पेशाका कारण विदेशमा रहे पनि आफ्नो जन्मथलो र विद्यालयसँगको सम्बन्धलाई जीवन्त राख्न शिक्षा क्षेत्रमा योगदान दिनु आफ्नो कर्तव्य रहेको बताउनुभयो । “जन्मथलोले दिएको पहिचान र अवसरलाई समाजमै फर्काउने” उच्च भावनाले गरिएको यस कार्यले अन्य समाजसेवी तथा शिक्षाप्रेमी व्यक्तिहरूलाई पनि सकारात्मक सन्देश दिएको छ ।
विद्यालय परिवार, वडा कार्यालय तथा सम्पूर्ण सारिबासीहरूले यस उदार र अनुकरणीय कार्यको उच्च प्रशंसा गर्दै पौड्याल परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन् । स्थानीयवासीहरूका अनुसार यस्तो सहयोगले विद्यालयको शैक्षिक वातावरण थप सुदृढ बन्ने र विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउने मार्गमा महत्वपूर्ण टेवा पुग्नेछ ।
यस अक्षयकोषले केवल एक आर्थिक संरचना मात्र नभई एउटा जीवित सम्झना, प्रेरणाको स्रोत र शिक्षाको उज्यालो भविष्य निर्माण गर्ने अभियानको रूपमा दीर्घकालसम्म प्रभाव पार्ने विश्वास गरिएको छ ।
















