कम्युनिस्ट पार्टीलाई यसरी मजबुत बनाउन सकिन्छ

यदि साँच्चै नै कम्युनिस्ट पार्टीलाई सुदृढ, क्रान्तिकारी, वैज्ञानिक समाजवादतर्फ उन्मुख र जनमुखी बनाउने हो भने, आधा-अधुरा सुधार होइन जडसम्म पुग्ने संरचनागत रूपान्तरण आवश्यक छ । जसका लागि ततकाल निम्न कामहरू गरिनुपर्छ ।

१. संगठनात्मक शुद्धीकरण र पुनर्गठन
केन्द्रीय समितिदेखि मातहतका सबै कमिटीहरू तत्काल विघटन गरिनुपर्छ । सीमित, सक्षम र क्रान्तिकारी चरित्र बोकेको आयोजक कमिटीमार्फत महाधिवेशनको तयारी अगाडि बढाउनुपर्छ । टिके प्रथा, गुटबन्दी र भागबन्डाको अन्त्य गर्दै प्रत्यक्ष महाधिवेशन प्रतिनिधिहरुको जनवादी मतदान प्रक्रियाबाट अधिकतम ५ सदस्यीय पदाधिकारी र बढीमा ९ सदस्यीय पोलिटब्यूरो/स्थायी कमिटी निर्वाचित गरिनुपर्छ ।

२. सदस्यता शुद्धीकरण र जनआधार पुनर्निर्माण
पार्टी सदस्य संख्या भन्दा समानुपातिक मत कम आउनु संगठनको कृत्रिम फुलावट र विचारहीन विस्तारको परिणाम हो । त्यसैले २०८३ बैशाखसम्म कडाइका साथ सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र वैचारिक परीक्षणसहितको शुद्धीकरण अभियान सञ्चालन गरिनुपर्छ । यसबाट सदस्य कम होस् तर प्रतिबद्ध जुझारु र बास्तबिक कम्युनिस्ट थपियोस ।

३. वडा तहबाट युवा नेतृत्वको उदय
२०८३ जेष्ठ ५ गतेभित्र देशका सबै ६७४३ वडामा एकैदिन अधिवेशन सम्पन्न गरिनुपर्छ । यसबाट २९ वर्षमुनिका जुझारु, उत्पादनशील, वैचारिक रूपमा स्पष्ट र क्रान्तिकारी युवाहरूलाई नेतृत्वमा ल्याउने बाध्यकारी मापदण्ड तय गरिनुपर्छ । जेष्ठ महिनाको दोस्रो हप्ताभित्र स्थानीय (पालिका र जिल्ला) स्तरीय अधिबेशन एकैदिन सापन्न गर्ने । जबाट युवा उमेर (४० वर्षमुनि) समुहलाई मुख्य नेतृत्व दिने । जेष्ठ दोस्रो हप्ताभित्र जिल्लाका अधिबेशन एकैदिन सम्पन्न गर्ने जसबाट कुशल नेतृत्व निर्वाचित होस् र जिल्लातहको राजनीति सुदृढ गर्न सकियोस । जेष्ठ तेस्रो हप्ता संविधानले निर्वाधरण गरेको प्रदानहरुको सम्मेलन सम्पन्न गर्ने । हालको गरिभौगोलिक संरचनाहरु खारेज गरि जिल्ला स्तरीय सम्पर्क मञ्चको रुपमा संचालन गर्ने । र जेष्ठ अन्तिम हप्ता राष्ट्रिय महाधिवेशन सम्पन्न गरि नयाँ नीति र नेतृत्व चयन गर्ने ।

४. भ्रष्टाचारविरुद्ध आन्तरिक शुद्धीकरण अभियान
पटके राजनीतिक नियुक्ति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, माननीय हरु र २०६४ पछि पार्टी सिफारिसमा विभिन्न लाभका पदमा पुगेकाहरूको सम्पत्ति छानबिन गरिनुपर्छ । आफ्नै पार्टीभित्रबाट सुशासनको उदाहरण प्रस्तुत गर्दै भ्रष्ट, दलाल र अवसरवादी तत्वलाई निर्ममतापूर्वक निष्कासन गरिनुपर्छ । जनताले कम्युनिस्ट आचरण अनुसार काम गर्दैछन भन्ने अनुभुत गराउनुपर्छ ।

५. जनसंगठनहरूको जेनजी पुनर्जागरण
सबै जनसंगठनहरूलाई जेनजी (Gen-Z) युवाशक्तिको अग्रसरतामा उनीहरूको नेतृत्व हुने गरि पुनर्गठन गरिनुपर्छ । नवप्रवर्तन, डिजिटल चेतना र उत्पादनमुखी सोचसहितको नयाँ पुस्तालाई संगठनको मूलधारमा स्थापित गरिनुपर्छ । जसले भविस्यमा नेतृत्व निर्माण शृङ्खला व्यवस्थित गर्न मद्दत पुगोस् ।

६. स्पष्ट वैचारिक र नीतिगत दस्तावेज
राष्ट्रिय स्वाधीनता, अन्तर्राष्ट्रिय सम्बन्ध, आत्मनिर्भर अर्थतन्त्र, गरिबी न्यूनीकरण, उत्पादन वृद्धि र कम्युनिस्ट संस्कृतिको विकासबारे पार्टीको ठोस, वैज्ञानिक र समयानुकूल धारणा सार्वजनिक गरिनुपर्छ । सिद्धान्त र व्यवहारबीचको खाडल अन्त्य गर्दै व्यवहारमै समाजवादी रुपान्तरणको आधार तयार गर्नुपर्छ ।

७. कडा अनुशासन र समान उत्तरदायित्व
पार्टी अनुशासन सर्वोच्च नेतादेखि साधारण सदस्यसम्म समान रूपमा लागू हुने व्यवस्था गरिनुपर्छ । शक्तिशाली, स्वतन्त्र र निष्पक्ष अनुशासन आयोग गठन गरी विधानअनुसार कारबाही आवश्यक परे निष्कासनसम्म निर्भीक रूपमा कार्यान्वयन गर्ने व्यवस्था गरिनुपर्छ । ताकी काम गर्नेलाई पुरस्कृत नगर्नेलाई कारबाही गर्ने परम्पराले निरन्तरता पाओस ।

निष्कर्ष
क्रान्ति नाराले होइन, कठोर आत्मालोचना, वर्गीय प्रतिबद्धता र संगठनात्मक शुद्धीकरणबाट अगाडि बढ्छ । यदि पार्टीले साँच्चिकै जनताको विश्वास पुनः जित्न चाहन्छ भने, यी कदमहरू अनिवार्य कार्यभारका रूपमा तुरुन्त कार्यान्वयन गर्नुपर्छ । यही बाटोले मात्र सच्चा कम्युनिस्ट, समाजवादी र बामपन्थी आन्दोलनलाई पुनर्जीवित गर्न सक्छ । हामीले निराश मनहरुमा आशा जगाउनुछ । एकपटक सुदृढीकरण संचालन गरेर उठ्नुछ । यसको लागि निर्मम बनौं, बनाउन सक्ने थुप्रै आधार हामीसँग छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation