गाजा युद्धको विनाश, विस्थापनको संकट र स्वतन्त्रता दिवस

 

फासीवादी देश अमेरिका र इजरायल मिलेर स्वतन्त्र प्यालेटिनीहरुको पवित्र भूमि गाजालाई करिब पूर्ण विनाश गरे । साम्राज्यवादी शक्ति राष्ट्रले अनाहकमा हानिकारक बमबारी गरेर कमजोर सैन्य क्षमता भएका तर अथाह प्राकृतिक खजानाकाे लुटपाट कसरी गर्छन् भन्ने उदाहरण ल्याटिन अमेरिकी देश क्युवा, भेनेजुयला, कैयौं अफ्रिकी देश र मध्यपूर्वकाे युद्ध हेरे पुग्छ । पछिल्ला विनाशकारी युद्ध, लुटपाट र सत्ताकब्जाकाे हाेडबाजीले उत्पीडित राष्ट्रहरुमाथि  गम्भीर बन्दै गइरहेको स्वाधीनता, मानवीय, राजनीतिक र नैतिक संकटको प्रतिनिधित्व गर्छ । गाजामा सन् २०२३ अक्टोबरपछि तीव्र बनाइएको हिंसाले आजसम्म आइपुग्दा गाजालाई “मानवीय विपत्ति” मा रूपान्तरण गरिसकेको छ । मृत्युको बढ्दो संख्या, पूर्वाधारको व्यापक विनाश र जनसंख्याको सामूहिक विस्थापनले यो संकटको गहिराइलाई प्रस्ट पार्छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार तीन वर्षदेखि जारी इजरायली अन्धाधुन्ध बमबारीमा परेर ७२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ तर स्वतन्त्र रिपोर्टहरुले एक लाख २६ हजार नागरिरकको हताहति भएको हुनसक्ने बताइरहेका छन् ।

यो कारुणीक आँकडा संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय मानवीय कानुनको प्रभावकारितामाथिको गम्भीर प्रश्न पनि हो । करिब २२ लाख जनसंख्या रहेकाे गाजा क्षेत्रको युद्धमा मृतकहरूको संरचना हेर्दा महिला, बालबालिका र वृद्धको हिस्सा ६० प्रतिशतभन्दा बढी हुनु विशेष चिन्ताजनक छ । पूरै जनसंख्या खाद्य असुरक्षामा बाँच्न विवस छ भने आधा भन्दा बढी जनसंख्या भाेकमरी, कुपाेषण र उपचारको अभावमा अकाल मृत्युको जोखिममा परेको रिपोर्ट छ । पानी, औषधि, आश्रयको चरम अभाव छ ।

गाजा विध्वंसमा कम्तीमा २४.५ अर्ब अमेरिकी डलर बराबर क्षति भएको छ भने पुनःनिर्माणमा ७० अर्ब डलर लाग्ने बताइएको छ । स्वास्थ्य संस्थाहरु ८४% क्षतिग्रस्त वा नष्ट भएका छन् भने शिक्षा प्रणाली लगभग पूर्ण रूपमा ध्वस्त छ । पानी तथा सरसफाइ प्रणाली पनि ध्वस्त बनाइएको छ भने ऊर्जा पूर्ण ब्ल्याकआउट अवस्थामा छ । सडक ९२% भन्दा बढी क्षतिग्रस्त भएको छ । खानेपानी आपूर्ति ५% भन्दा कम छ । उल्लेखित सारा अभावले मानिसहरुमा दीर्घकालीन मानसिक आघात पुगेको छ । गाजाका ७५% जनसंख्या विस्थापित भएका छन् ।

अमेरिका–इजरायलकाे संरचनात्मक दमन र सामूहिक दण्डले उनीहरुको जीवन र प्यालेस्टिनी मातृभूमिलाई तहसनहन बनाइरहेकाे छ । हामी प्रष्ट भन्न सक्छौँ, गाजा नरसंहार फासीवादी क्याम्पहरुको एक निर्लज्ज कुकृत्य हो, त्यसकारण यस्ता निरसंशकारीहरुको पतन अनिवार्य छ । तर सवाल छ, संसारभर युद्ध मडारेर निर्दाेष नागरिकहरुकाे कत्लेआम गरी नाफाकाे व्यापार गर्ने महाविध्वंशकारी सर्वसक्तिमान क्याम्पलाई कसले सबक सिकाउन सक्छ ?

गाजामा ३० अर्बभन्दा बढी यानकी ७० प्रतिशतभन्दा बढी आवास नष्ट भएको छ । अस्पतालहरू बन्द छन् र विद्यालयहरू भग्नावशेषमा परिणत भएको दुखद स्थितिमा पुनर्निर्माण केवल आर्थिक चुनौती मात्र नभएर अबउप्रान्त सामाजिक जीवनकाे पुनर्जन्मको हुन्छ कि हुँदैन भन्ने प्रश्न खडा भएको छ । पानी, विद्युत्, स्वास्थ्य र शिक्षा प्रणालीको ध्वंसले जीवनको आधारभूत संरचनालाई नै नष्ट गरेको छ । यस्तो अवस्थामा युद्ध सकिएपनि शान्ति कायम हुँदैन किनकि शान्ति टिक्नका लागि आवश्यक आधारभूत आधारहरू सबै गुमिसकेका छन् ।

गाजाको ७५ प्रतिशतभन्दा बढी जनसंख्या विस्थापित हुनु विश्वकै सबैभन्दा ठूलो जबर्जस्ती विस्थापन घटनामध्ये एक हो । विस्थापन केवल भूगोलको सरुवा मात्र होइन यो त पहिचान, आफन्त र देश गुमिरहेको गहिरो पीडाको स्मृति र सामाजिक सम्बन्धको विघटन पनि हो ।

यस युद्धमा महिला, बालबालिका र वृद्धहरू यस संकटबाट सबैभन्दा धेरै पीडित बनेका छन् । बालबालिकाले शिक्षा गुमाएका छन्, मानसिक आघात भोगिरहेका छन् र उनीहरूको भविष्य अनिश्चित बनेको छ । यसरी, विस्थापनले केवल वर्तमान जीवनलाई मात्र होइन, मानव जीवनकाे सम्पूर्ण पुस्ताको भविष्यलाई प्रभावित गरिरहेको छ ।

गाजाको संकटलाई केवल युद्धको परिणाम भनेर बुझ्नु अधुरो हुन्छ । यसलाई दीर्घकालीन राजनीतिक संरचना, शक्ति सन्तुलन र नियन्त्रणको सन्दर्भमा पनि विश्लेषण गर्न आवश्यक छ । साम्राज्यवादीहरुले गरिरहेको भूमि नियन्त्रण, नाकाबन्दी, बस्ती विस्तार र सैन्य कारबाहीले फासीवादीहरुको हिंसा एक सामान्य कार्यजस्तो बनेको छ । गाजा संकटले अन्तर्राष्ट्रिय समुदायको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ । संयुक्त राष्ट्रसंघ, मानवअधिकार संस्था र विभिन्न देशहरूले बेलामाैकामा चिन्ता व्यक्त गरे पनि वास्तविक हस्तक्षेप सीमित देखिन्छ । प्यालेस्टाइन क्षेत्रमा मच्याइएकाे सामूहिक हत्या, गिरफ्तारी र सम्पूर्ण भूमि अतिक्रमणकाे मुद्दामा विश्व यति बिघ्न बेखबर रहनु मानव जगतकै निम्ति अत्यन्तै लज्जा र पश्चातापकाे विषय हाे ।

यसरी हेर्दा अन्तर्राष्ट्रिय विश्वव्यवस्था विशेषतः मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन कति प्रभावकारी छन् भन्ने बहसलाई पुनः सतहमा प्रवेश गरेको छ। यदि यति ठूलो मानवीय संकटमा पनि ठोस हस्तक्षेप हुन सक्दैन भने विश्वव्यवस्थाको नैतिक आधार कति बलियाे छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । यति गम्भीर र संवेदनशील विषयमा विश्व करिबकरिब बेखबर जस्तै रमिते हुनु मानवताकाे युग समाप्तिको युग हाेइन भन्ने बहस पनि उठिरहेको छ ।

गाजाको युद्धलाई केवल वर्तमानको द्वन्द्वका रूपमा हेर्नु पर्याप्त छैन । यो एक पिढीगत संकट हो जहाँ मृत्यु, विनाश र विस्थापनले मानव र जमिनकाे भविष्यलाई नै अनिश्चित बनाइरहेको छ । ७२ हजारभन्दा बढी मृत्यु, अरबौँ डलरको क्षति र लाखौँ विस्थापितहरू यी सबै तथ्याङ्कहरूले एउटै सन्देश दिन्छ: गाजा आज केवल युद्धको मैदान होइन, मानवता विरुद्धको कुरुक्षेत्र बनेको छ । प्रश्न केवल याे होइन कि यो युद्ध कहिले समाप्त हुन्छ वास्तविक प्रश्न यो हो, यसपछि गाजा वा सिंगो प्यालेस्टाइनमा कस्तो भविष्य सम्भव छ ?

भूमि दिवसः ५० वर्षपछि पनि उही पीडा, उही संघर्ष

हरेक वर्ष मार्च ३० मा प्यालेस्टिनीहरूले “भूमि दिवस मनाउँछन् । सन् १९७६ मा इस्रायली सेनाको गोलीबाट छ जना निहत्था प्यालेस्टिनीको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए । उनीहरू इजरायलद्वारा  प्यालेस्टिनीहरूको जमिन कब्जा गर्ने निर्णयविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । त्यतिबेला इजरायलले गालिल क्षेत्रमा बसोबास गर्ने प्यालेस्टिनी नागरिकहरूको करिब २,००० हेक्टर जमिन जफत गर्ने आदेश दिएको थियो ।

यो योजना इजरायली सरकारकाे “गालिललाई यहूदीकरण गर्ने” राज्य नीतिको हिस्सा मानिन्छ, जुन इजरायल राज्य स्थापनापछिको दीर्घकालीन रणनीतिसँग जोडिएको छ । गालिल क्षेत्रभर प्रभाव परेको उक्त निर्णयविरुद्धको आन्दोलन विशेषगरी सक्हनिन, अर्राबेह र देइर हन्ना शहरहरूमा केन्द्रित थियो ।

हरेक वर्ष ३० मार्चमा प्यालेस्टिनीहरु स्वतन्त्र दिवसको रुपमा स्मरण गर्ने गर्छन् । आज पनि प्यालेस्टिनीहरू चाहे इजरायलभित्र बस्ने नागरिक हुन् वा कब्जामा रहेका क्षेत्रहरू गाजा, वेस्ट बैंक र पूर्वी जेरुसेलम यो दिनलाई प्रदर्शन, श्रद्धाञ्जली सभा गर्दै जैतुनका बिरुवा रोपेर मनाउँछन् । यी गतिविधिहरूले जमिनसँगको ऐतिहासिक र भावनात्मक सम्बन्धलाई पुनः पुष्टि गर्ने प्रयास गर्छन् । इजरायलले अहिले पनि जमिन कब्जा गर्ने प्रक्रिया जारी राखेको छ । विभिन्न बहानामा सैनिक क्षेत्र घोषणा, राज्यको स्वामित्व घोषणा गरेर ठूलो परिमाणमा जमिन लिइँदै आएको छ ।

सन् २०२६ फेब्रुअरी ८ मा इजरायली सुरक्षा मन्त्रिपरिषद्ले वेस्ट बैंक क्षेत्रमा आफ्नो नियन्त्रण विस्तार गर्ने नयाँ निर्णयहरू पारित गरेको थियो । यसअन्तर्गत प्यालेस्टिनी जमिन इजरायली बस्तीकारहरूलाई बेच्ने प्रक्रिया सहज बनाउने र प्रशासनिक अधिकार विस्तार गर्ने कदमहरू समावेश छन् ।

मानवअधिकार समूहहरू र विभिन्न देशहरूले गाजामाथिको मानवीय नरसंहार र भूमिको अतिक्रमणलाई सिंगो प्यालेस्टाइनको विलयको कदम भन्दै आलोचना गरेका छन् ।

सन् २०२३ मा १२,३४९, २०२४ मा ९,८८४ र २०२५ मा २७,९४१ वटा नयाँ आवास इकाइ स्वीकृत गरिएका छन्े । जुन अहिलेसम्मकै उच्च संख्या हो ।

त्यस्तै, सन् २०२५ मा वेस्ट बैंक क्षेत्रमा १९ वटा “अवैध” इजरायली बस्तीलाई औपचारिक मान्यता दिने योजना पनि पारित गरिएको थियो । यी बस्तीहरू प्रायः घना प्यालेस्टिनी बस्तीभित्र वा वरपर निर्माण गरिन्छन्, जसले उनीहरूको आवागमन र जीवनयापनमा थप कठिनाइ सिर्जना गर्छ । अक्टोबर ७, २०२३ पछि स्थिति झनै जटिल बन्दै गएको छ । सैनिक छापा, घर भत्काउने कार्य, गिरफ्तारी र बस्तीकारहरूको आक्रमण तीव्र रूपमा बढेका छन् ।

तथ्यांकअनुसार सन् २०२२ मा ८५२, २०२३ मा १,२९१, २०२४ मा १,४४९ र २०२५ मा १,८२८ वटा आक्रमणका घटना दर्ता भएका छन् ।

औसतमा दैनिक पाँच वटा इजरायली सेनाले घातक आक्रमण गरेको देखिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार अक्टोबर २०२३ यता गाजाबासीको नरसंहारको अलावा वेस्ट बैंक क्षेत्रमा कम्तिमा १,०९४ प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

इजरायलका वित्त मन्त्रीले दक्षिणी लेबनानलाई इजरायलमा गाभ्नुपर्ने प्रस्ताव राखेका छन् । उनले लिटानी नदीसम्म इजरायलको नयाँ सीमा विस्तार हुनुपर्ने बताएका छन् ।

यस प्रस्तावसँगै लेबनानमा पनि तनाव चुलिएको छ । त्यहाँ पनि एक मिलियनभन्दा बढी मानिस विस्थापित भइसकेका छन् । इजरायली रक्षामन्त्रीले दक्षिणी क्षेत्रमा मानिसहरू फर्कन नदिने संकेत दिएका छन्, जबसम्म इजरायलको सुरक्षा सुनिश्चित हुँदैन ।

प्यालेस्टिनीहरुको भूमि दिवस केवल एक ऐतिहासिक सम्झना मात्र होइन, यो त सम्पूर्ण फिलिस्तिनीहरूको अस्तित्व, अधिकार र पहिचानसँग जोडिएको संघर्षको प्रतीक हो । संयुक्त राष्ट्र संघले फासीवादी यहुदीहरुलाई इजरायल नामक राष्ट्र जबरजस्त थोपरिदिको ५० वर्ष बितिसक्दा पनि निर्दाेष प्यालेस्टिनीहरुको जमिन, अधिकार र स्वतन्त्रताको प्रश्न स्थायी समाधान हुनुको साटो झन् झन् जटिल र अनिश्चित बन्दै जानु निकै दुखद विषय हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation