
२७ चैत, दाङ
त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा अनुसन्धान संस्कृतिलाई सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन भइरहेका अनुदान, परियोजना तथा नीतिगत व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको छ। अनुसन्धानलाई शैक्षिक गुणस्तरको आधारस्तम्भका रूपमा स्थापित गर्ने लक्ष्यसहित विश्वविद्यालयले शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
त्रिभुवन विश्वविद्यालय अनुसन्धान निर्देशनालय मार्फत उपलब्ध गराइने लघु अनुसन्धान परियोजना, सहकार्यात्मक अनुसन्धान कार्यक्रम तथा राष्ट्रिय प्राथमिकता प्राप्त अनुसन्धान परियोजनाहरूका माध्यमबाट अनुसन्धानकर्ताहरूलाई आर्थिक तथा प्राविधिक सहयोग प्रदान गरिँदै आएको छ। यस्ता कार्यक्रमहरूमा सहभागिता जनाउनका लागि प्रस्ताव लेखन, अनुसन्धान विधि, तथा विषय छनोटमा विशेष ध्यान दिनुपर्ने बताइएको छ।
निर्देशनालयका निर्देशक प्रा. डा. ईश्वर कोइरालाले अनुसन्धान अनुदान प्राप्त गर्ने प्रक्रिया, छनोटका मापदण्ड तथा कार्यान्वयन चरणका चुनौतीहरूबारे प्रष्ट पार्दै गुणस्तरीय अनुसन्धानका लागि योजनाबद्ध कार्य, विधिगत स्पष्टता र अनुशासन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार विश्वविद्यालयले क्याम्पसस्तरमै जर्नल प्रकाशन, अनुसन्धानसम्बन्धी गोष्ठी, तालिम तथा कार्यशाला सञ्चालन जस्ता गतिविधिहरूलाई समेत प्राथमिकता दिँदै आएको छ।
विश्वविद्यालयले “सिकाइ र अनुसन्धान सँगसँगै भन्ने नीति अवलम्बन गर्दै हरेक क्याम्पसमा अनुसन्धान व्यवस्थापन एकाई गठन गरी अनुसन्धानलाई संस्थागत बनाउने रणनीति अघि सारेको छ। सोहीअनुसार कुल आम्दानीको कम्तीमा ५ प्रतिशत रकम अनुसन्धान क्षेत्रमा लगानी गर्ने नीति पनि कार्यान्वयनमा ल्याइएको छ।
यस सन्दर्भमा महेन्द्र बहुमुखी क्याम्पस दाङ मा आयोजित अनुसन्धानात्मक अन्तक्र्रिया कार्यक्रममा क्याम्पस प्रमुख डा. नारायण पन्थी को अध्यक्षता रहेको थियो भने कार्यक्रमको सहजीकरण अनुसन्धान व्यवस्थापन एकाईका संयोजक सुदर्शन रिजाल ले गर्नुभएको थियो। कार्यक्रममा प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।















