
सरकारले नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि थाल्ने निर्णय गरेको छ। वैशाख १५ गतेदेखि नयाँ भर्ना गरी वैशाख २१ गतेदेखि मात्रै देशभर पठनपाठन शुरू गर्ने निर्णय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको छ।
यही निर्णय अनुसार सरकारले सबै स्थानीय तह र विद्यालयलाई भर्ना र पठनपाठन थाल्न निर्देशन दिएको छ। तर केन्द्र सरकारले गरेको निर्देशन लत्याउँदै स्थानीय तहरूले नयाँ भर्ना थालेका छन्। ती स्थानीय तहले पठनपाठनको समय समेत आफैँले तोकेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिकाले संघीय सरकारको निर्णयको अवज्ञा गर्दै वैशाख ४ गतेदेखि विद्यार्थी भर्ना सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएको छ। नगरप्रमुख गोपाल हमालले बिहीबार सूचना जारी गर्दै शुक्रबारदेखि विद्यार्थी भर्ना र वैशाख १४ गतेदेखि नियमित पठनपाठन सञ्चालन गर्न विद्यालयहरूलाई निर्देशन दिएका छन्।
‘उपमहानरका सरोकारवालाबाट वैशाख १५ गतेदेखि भर्ना र २१ गतेदेखि पठनपाठन गर्दा विद्यार्थीहरूको पठनपाठन अवरोध हुने, पाठ्यक्रम अनुसारको वार्षिक कार्य घण्टा नपुग्ने, शिक्षाको गुणस्तरमा ह्रास हुने सुझाव आएको र सोही सुझावका आधारमा नगर शिक्षा समितिको बिहीबार बैठक बसेर उपमहानगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई भोलिदेखि वैशाख ११ गतेसम्म विद्यार्थी भर्ना र वैशाख १४ गतेदेखि पठनपाठन गर्ने व्यवस्था मिलाउने’, उनले जारी गरेको सूचनामा भनिएको छ ।
तनहुँको व्यास नगरपालिकाले पनि बिहीबारदेखि नै नयाँ भर्ना थाल्ने निर्णय गरेको छ। सबै विद्यालयले वैशाख ७ गतेदेखि विगतमा जस्तै अध्यापन सञ्चालन गर्ने पनि निर्णय गरेको छ। नगर प्रमुख बैकुण्ठ न्यौपाने शिक्षा समितिका अध्यक्ष एवं नगर प्रमुखको आफ्नै संयोजकत्वमा वैशाख २ गते नगर शिक्षा समितिको बैठक बसी यो निर्णय गरेको जानकारी दिए।
उनका अनुसार उक्त बैठकमा नगर शिक्षा समितिका सदस्यहरू, एन प्याब्सन एवं प्याब्सनका प्रतिनिधिहरू, आमन्त्रित अन्य शिक्षक संगठनका प्रतिनिधिहरू समेतको उपस्थितिमा यो निर्णय गरिएको हो।
विज्ञप्तिमै भनिएको छ,‘व्यास नगरपालिकाको शैक्षिक सत्र २०८३ को वार्षिक स्वीकृत शैक्षिक कार्यक्रम यसअघि नै तय भई विद्यालयहरूलाई सम्प्रेषण गरिसकिएको सन्दर्भमा सबै विद्यालयहरूमा भर्ना अभियान २०८३ वैशाख ३ गते देखि प्रारम्भ गर्ने।’
विषेश भर्ना अभियानसहित संघीय सरकारले तोकेका कार्यक्रमहरू वैशाख १५ भित्र सञ्चालन गर्ने र सबै विद्यालयहरूले वैशाख ७ गतेदेखि विगतमा जस्तै अध्यापन कार्य सञ्चालन गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ।
स्याङ्जाको चापाकोट नगरपालिकाले वैशाख ४ गतेदेखि नयाँ भर्ना थाल्ने र १४ गतेदेखि पठनपाठन थाल्ने निर्णय गरेको छ।
तनहुँको आँबुखैरैनी गाउँपालिकाले वैशाख २ गतेबाट नै विद्यार्थी भर्ना र पठनपाठन सञ्चालन गर्न थालेको छ।
यस्तै,तनहुँकै देवघाट गाउँपालिका पनि वैशाख २ गतेदेखि भर्ना अभियान, विद्यालयको वार्षिक कार्य तालिका निर्माण, पाठ्यपुस्तक वितरण तथा वैशाख ६ गतेदेखि नियमित पठनपाठन संचालन गर्ने निर्णय गरेको छ।
गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाद्वारा जारी सूचनामा भनिएको छ,‘शिक्षा तथा मानव स्रोत विकास केन्द्रको च.नं. ६७ मिति २०८२/१२/२६ को पत्रानुसार शैक्षिक सत्र २०८३ को भर्ना अभियान २०८३ वैशाख १५ गतेबाट शुरू गर्ने भन्ने सन्दर्भमा नेपालको संविधान बमोजिम आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय तहको भए बमोजिम र देवघाट गाउँपालिका गाउँ कार्यपालिकाको चैत २८ को कार्यपालिकाको निर्णयानुसार तथा देवघाट गाउँपालिकाको शैक्षिक क्यालेण्डर बमोजिम यस गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयहरूले बैशाख २ गते देखि भर्ना अभियान, विद्यालयको वार्षिक कार्य तालिका निर्माण, पाठ्यपुस्तक वितरण तथा वैशाख ६ गते देखि नियमित पठनपाठन संचालन गर्नु गराउनुहुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ।’
प्यूठानको झिमरूक गाउँपालिकाले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना र वैशाख १० गतेदेखि पठनपाठन थाल्न सामुदायिक र निजी विद्यालयलाई निर्देशन दिएको छ।
यी बाहेक अन्य स्थानीय तहहरूले पनि धमाधम विज्ञप्ति जारी गर्दै सरकारले निर्णय गरेको समय भन्दा अगाडि नै भर्ना र पठनपाठन थाल्न जानकारी दिएका छन्। निजी विद्यालयहरूले त यसअघि नै सरकारले गरेको यो निर्णय विरूद्धमा उभिएको थियो।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन)ले सरकारको निर्णय अवज्ञा गर्दै नयाँ भर्ना वैशाख २ गते देखि शुरू गर्ने र पठनपाठन वैशाख १५ गते देखि सञ्चालन गर्न आफ्नो मातहतका विद्यालयहरूलाई सर्कुलर जारी गरेको छ।
नेसनल प्याब्सनका अध्यक्ष गीता क्षेत्री र महासचिव प्रतापबहादुर थापाद्वारा चैत २४ गते नै जारी विज्ञप्तिमा भनिएको छ,‘नयाँ भर्ना वैशाख २ गते देखि शुरू गर्ने र पठनपाठन वैशाख १५ गते देखि सञ्चालन गर्ने,विद्यालय समयलाई सकभर विद्यार्थीहरू माथि बोझ नपर्ने गरी व्यवस्थापन गर्ने।’
स्थानीय तह भन्छन् : निजीले भर्ना थालेपछि दबाब भयो, त्यही भएर निर्णय गरेका हौँ
निजी विद्यालयहरूले भर्ना अभियान थालेपछि सरकारी विद्यालयमा दबाब बढेको र यही कारण भर्ना अभियान थालेको स्थानीय तहहरूले प्रतिक्रिया दिएका छन्।
चापाकोट नगरपालिकाका शिक्षा अधिकृत इन्दु भेटवालले थाहाखबरसँग भनिन्,‘निजी विद्यालयहरूले भर्ना अभियान थालिसके,त्यसपछि सरकारी विद्यालयका अभिभावक र विद्यार्थीहरूले निजीले पढाउन शुरू गर्दा किन नथालेको भन्ने चौतर्फी दबाब आयो,विद्यार्थीहरूले पनि अब हामी चाही पढ्न नपाउने रहेछाैँ भन्दै चिन्ता लिए,झनै ग्रामिण भेगमा यसले समस्य नै पार्ने रहेछ, यही दबाबका कारण वैशाख ४ गतेदेखि नयाँ भर्ना थाल्ने र १४ गतेदेखि पठनपाठन थाल्ने निर्णय गरेका हौँ।’
उनका अनुसार त्यहाँ अन्य स्थानीय तहहरूले पनि भर्ना थाल्ने निर्णय गरिसकेका छन्। उनले भनिन्, ‘नेपालको संविधान तथा प्रचलित कानुन अनुसार आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन सम्वन्धी अधिकार स्थानीय तहको भए वमोजिम स्थानीय तहको अवस्थालाई मध्यनजर गरी नगर शिक्षा समितिको वैशाख २ गतेको निर्णयानुसार यो भर्ना थाल्ने निर्णय भएको हो।’
के भन्छन् निजी विद्यालय सञ्चालक ?
नेसनल प्याब्सनले शैक्षिक सत्र सुरू हुने मिति वैशाख १ बाट १५ गतेमा सार्ने निर्णयले शैक्षिक क्यालेण्डरमा थप दबाब सिर्जना गर्ने भएपछि यो निर्णय लिएको जनाएको छ।
हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णयले शैक्षिक क्षेत्र, विशेषतः विद्यालय तहको शैक्षिक क्यालेण्डरमा दीर्घकालीन असर पार्ने देखिएको नेसनल प्याब्सनको दाबी छ।
‘यसले नेपाल सरकारले निर्धारण गरेको विस्तृत तथा अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम तोकिएको समयमा सम्पन्न गर्न गम्भीर चुनौती उत्पन्न गर्नेछ,यसबाट पठन(पाठन प्रभावित हुने देखिन्छ, जसले समग्र शिक्षण सिकाइ प्रकियामा प्रत्यक्ष असर पार्नेछ,’विज्ञप्तिमा उल्लेख छ।
नेसनल प्याब्सनले नयाँ शैक्षिक सत्र २०८३ को लागि विदाहरू जस्तै दशैं तिहार, जाडो गर्मी विदा, शैक्षिक सत्र समापन जस्ता अन्य विदा मिलान गरी पठनपाठनको लागि कम्तीमा २२० दिन कायम गर्ने बताएको छ।
यस्तै,निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), हिसान लगायतले सरकारको निर्णयमा पुर्नविचार गरी वैशाख २ गतेदेखि भर्ना शुरू गरि वैशाख १५ गतेबाट कक्षा सञ्चालन गर्न मार्ग प्रशस्त गर्न शिक्षामन्त्री सस्मित पोखरेललाई आग्रह गरेको छ।
















