एप्पलका सीईओले दिए राजीनामा

 

८ वैशाख, काठमाडौं

प्रविधि क्षेत्रको एक अग्रणी कम्पनी एप्पलका सीईओ टिम कुकले पद त्याग्ने निर्णय गरेका छन् । ६५ वर्षीय कुकले सेप्टेम्बर १ मा सीईओको जिम्मेवारी जोन टर्नसलाई हस्तान्तरण गर्ने छन् । त्यसपछि उनी एप्पलमा एक्जीक्युटिभ चेयरम्यान (कार्यकारी अध्यक्ष) का रूपमा रहने बताइएको छ ।

औपचारिक रूपमा उनले पद छोडेपछि जोन टर्नसले एप्पलको नयाँ सीईओको रूपमा जिम्मेवारी सम्हाल्नेछन् । जोन टर्नस विगत २५ वर्षदेखि एप्पलसँग आबद्ध छन् । उनी हाल एप्पलको हार्डवेयर इन्जिनियरिङ प्रमुख छन् ।

एप्पलमा यो परिवर्तनलाई निकै महत्वपूर्ण मानिएको छ । पछिल्ला केही वर्षदेखि टिम कुकले सीईओ पद छोड्न सक्ने चर्चा चलिरहेको थियो ।  कुकले सन् २०११ देखि कम्पनीको नेतृत्व गर्दै आएका थिए, जतिबेला स्टीव जब्सले स्वास्थ्य समस्याका कारण पद त्यागेका थिए ।

स्टीव जब्सको स्थानमा नेतृत्व सम्हाल्दा कुकका सामु धेरै चुनौती थिए । उनले एप्पललाई नयाँ उचाइमा पुर्‍याउँदै कम्पनीलाई सफलताको नयाँ अध्यायमा प्रवेश गराएको बताइन्छ ।

एप्पलसँग टिम कुकको यात्रा

टिम कुक सन् १९९८ मा एप्पलमा प्रवेश गरेका थिए । त्यतिबेला कम्पनी विभिन्न कठिनाइबाट गुज्रिरहेको थियो । एप्पलका संस्थापक स्टीब जब्सले कुकलाई एप्पलको सञ्चालन टोलीलाई नयाँ दिशामा लैजान नियुक्त गरेका थिए । २४ अगस्ट २०११ मा स्टीब जब्सले पद छोडेपछि टिम कुकले नेतृत्व सम्हालेका थिए ।

सन् २००५ देखि २०११ सम्म उनले कम्पनीको प्रमुख सञ्चालन अधिकृत (चीफ अपरेटिङ अफिसर) का रूपमा काम गरे । यस अवधिमा उनले आइपोड, म्याकबुक, आइफोन र आइप्याडजस्ता उत्पादनहरूको आपूर्ति प्रणालीलाई विश्वस्तरमा सुदृढ बनाए । व्यापक रूपमा उत्पादनहरू सार्वजनिक गर्न सक्नुमा कुकको भूमिका महत्वपूर्ण मानिन्छ ।

उनका कार्यकालमा एप्पल वाच, एयरपड्स, एम १, एम २, एम३ सिलिकन चिप तथा एप्पल भिजन प्रो जस्ता उत्पादनहरू सार्वजनिक गरिएको थियो ।

यससँगै एप्पल ३ ट्रिलियन डलर मूल्यांकन पार गर्ने पहिलो कम्पनी बन्न सफल भयो । कुकको नेतृत्वमा आइक्लाउड, एप्पल म्युजिक, एप्पल टिभी प्लस र एप स्टोरजस्ता सेवा व्यवसायहरू पनि उल्लेखनीय रूपमा विस्तार भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Pranmancha All right reserved Site By : Himal Creation