हातले लेखेर सामग्री तयार हुन्थे । त्यसलाई प्रेसबाट छाप्न सक्ने सुविधा भने दाङमा थिएन । भारतको बनारससम्म पुगेर पर्चा, पम्पलेट, पत्रिका, कितावहरु छाप्ने गरिन्थ्यो । पढ्ने पढाउने चलन बढ्दै गएपछि छापाखानाको आवश्यकता पर्यो । झण्डै ५० वर्षअघि खुट्टाले चलाउने ट्रेडल मेसिन दाङमा भित्रियो । छापाखानाको संस्थापकको रुपमा नारायणप्रसाद शर्माले २०३२ सालमा प्रतिभा अफसेट प्रेस स्थापना गर्नुभयो र युगबोध पत्रिका प्रकाशन शुरु गर्नु भयो ।
सिसाका अक्षर जोडेर कम्पोज गर्ने र खुट्टाले हल्लाएर लेटरप्रेसबाट शुरु भएको छपाइको यात्रा उच्चस्तरीय रंगीन फोरकलर मसिनसम्म आइपुगेको छ । सूचना प्रविधिको क्षेत्रमा भएको तीब्र विकाससँगै छापाखाना तथा मुद्रण व्यवसायमा भएको विकासलाई सरोकार राख्ने पक्षहरुले उत्सवको रुपमा लिएका छन् । प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष समेत रहनु भएका नारायणप्रसाद शर्माले पाँच वर्षको उमेर देखि शुरु भएको अक्षर यात्रा अहिले पनि निरन्तर चलिरहेको स्मरण गर्नु भयो । उहाँले अक्षर यात्राले चोखो कमाइमा बाँच्ने प्रेरणा दिएको समेत बताउनुभयो । ‘यतिधेरै परिवर्तन भयो । केही भएन भन्ने ठाउँ त छैन । तर पनि मानिसमा नैतिकता, चरित्र जस्ता कुराहरु हराउँदै गएको छ । अब बनाउनुपर्ने यही छ’– उहाँले भन्नुभयो– ‘परिवर्तनले ठूला अवसरहरु सिर्जना गरेको छ । अब सबै इमानदार भएर यो परिवर्तनलाई जोगाउन लाग्नुपर्नेछ ।’
न्यायपरिषद्का पूर्वसदस्य पदम वैदिकले समाज रुपान्तरणको अभियानमा छापाखाना तथा प्रेसको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्नु भयो । ‘समाज रुपान्तरणको अभियान अहिले पनि चलिरहेको छ । यो परिवर्तन ल्याउनका लागि छापाखाना तथा प्रेसको भूमिका महत्वपूर्ण रह्यो । उतिबेलाको समयमा शिक्षा, चेतना, ज्ञान बाँड्नको लागि छापिने ती सामग्रीको जगमा परिवर्तनहरु सम्भव भएका हुन्’– उहाँले भन्नुभयो– ‘छापाखाना क्षेत्रमा भएको विकासले समाज विकासलाई पनि चित्रण गर्छ । यो बीचमा भएका परिवर्तनहरुलाई हामीले नजिकबाट नियालेका छौं ।’ नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष प्रा.लेखनाथ आचार्यले मानिसमा पठन संस्कृतिको विकास गर्न छापाखानाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । ‘ज्ञान शिक्षा बाँड्नु नै महान कार्य हो । वेदमा पनि त्यो कुरा उल्लेख छ ।’
उद्योग तथा व्यापार क्षेत्रमा मन्दी छाएको छ । तर पनि नयाँ उद्यम र व्यवसायमा लगानी गर्ने, सञ्चालन गर्ने कार्यहरु पनि भइरहेका छन् । समस्याहरुलाई पन्छाउँदै व्यवसायलाई निरन्तरता दिएकोमा उद्योगी व्यवसायीहरुले समेत खुशी व्यक्त गरेका छन् । ‘छापाखाना खोल्न गाह्रो थियो । उतिवेला जुन हिम्मतका साथ काम भयो । अहिले पनि समय अनुसार त्यसलाई परिमार्जन गर्दै लगिएको छ यो नै महान काम हो’– दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रामदयाल गुप्ताले भन्नुभयो ।
व्यवसाय तथा उद्यममा पुस्तान्तरणले निकै महत्वपूर्ण अर्थ राख्ने भएकाले नयाँ पुस्तालाई स्वदेशमै आकर्षित गर्न सक्नु यो नै उपलब्धि रहेको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष माधवप्रसाद शर्माले बताउनुभयो । ‘अहिले जो पनि विदेश जान खोजिरहेको छ र गई पनि रहेको छ । तर पुस्तान्तरण गरेर स्वदेशमै छापाखानाको ठूलो उद्योग स्थापना गरेर निरन्तरता दिन सक्नु यो महान काम हो’– उहाँले भन्नुभयो.– ‘छापाखाना क्षेत्रमा भएको यो परिवर्तन अनुकरणीय छ । समय अनुसार बदलिन सक्नु र खोज्नु राम्रो हो ।’ तर पछिल्लो समय पठन संस्कृतिमा ह्रास आइरहेको छ । मुद्रण व्यवसाय पठन संस्कृतिसँग समेत जोडिएको छ । पठन संस्कृतिलाई बढाउनका लागि ध्यान दिनुपर्ने सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमले बताउनुभयो । ‘पढ्ने कुरा, जान्न खोज्ने कुरा हराउँदै गएको छ’– उहाँ‘ले भन्नुभयो– ‘मानिसहरुमा ज्ञान, चेतना, शिक्षा प्राप्तिका लागि पठन संस्कृति बढाउन जरुरी छ ।’
क्वालिटी प्रिन्टर्स प्रालिको उद्घाटन
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा क्वालिटी प्रिन्टर्स प्रालिको उद्घाटन गरिएको छ । छपाइमा उच्चस्तरीय प्रविधि भित्र्यएको कम्पनीका अध्यक्ष प्रताप रेग्मीले बताउनुभयो । उहाँले खुट्टाले चलाउने मेसिनबाट शुरु भएको छापाखानाको यात्रा ५० वर्षको अवधिमा आइपुग्दा जापानमा बनेको उच्चस्तरीय रंगीन छपाइ गर्ने फोरकलर मेसिन स्थापना गरेको बताउनुभयो । प्रालिका अध्यक्ष प्रताप रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिभा अफसेट प्रेस तथा नयाँ युगबोध राष्ट्रिय दैनिकका संस्थापक नारायणप्रसाद शर्मा, न्याय परिषद्का पूर्वसदस्य पदम वैदिक, नेपाल संस्कृत विश्व विद्यालय सेवा आयोगका पूर्वअध्यक्ष लेखनाथ आचार्यले संयुक्तरुपमा क्वालिटी प्रिन्टर्सको उद्घाटन गर्नुभयो । मेसिनको स्वीच थिचेर शुभारम्भ गरिएको थियो । वर्ष २०८१ को भित्तेपात्रो (क्वालेन्डर) समेत विमोचन गरिएको छ । शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म मल्ल, दाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष माधवप्रसाद शर्मा, रामदयाल गुप्ता, इञ्जिनियर प्रभातमणि घिमिरेलगायतले संयुक्तरुपमा विमोचन गर्नुभयो । कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष माधवप्रसाद शर्मा, रामदयाल, गुप्ता, नागरिक समाज दाङका संयोजक केवी मसाल, सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतम, नेपाल पत्रकार महासंघका संस्थापक सदस्य टीकाराम रेग्मी, नागरिक समाज दाङका उपसंयोजक नीमबहादुर थापा, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष हरिप्रसाद भुसाल, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, लुम्बिनी प्रदेश उपाध्यक्ष चुमा आचार्य, संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशका उपाध्यक्ष केपी घिमिरे, राजनीतिकर्मी बसन्तराज शर्मालगायतका वक्ताहरुले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । धन्यवाद ज्ञापन नयाँ युगबोध दैनिकका सम्पादक लक्ष्मी आचार्यले गर्नुभएको थियो ।