महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै

नेपालमा महिला न्यायाधीशको प्रथम राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुने भएको छ।

राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धिः हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ हुने सम्मेलनको हिमालय होटल कुपन्डोलमा बिहान ९ बजे प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए।

सर्वोच्च अदालतका न्यायाधीश तथा समाज नेपालमा अध्यक्ष सपना प्रधान मल्लले महिला न्यायाधीशको समस्या, चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागेको जानकारी दिइन्।

उनले न्याय क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता वृद्धिलगायत समग्र विषयमा छलफल गर्न जानकारी दिइन्।

दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायिक समुदायभित्र सहयोग, सशक्तीकरण र वकालतको अनुभव, विचार आदानप्रदान गर्नुका साथै न्यायिक क्षेत्रमा काम गर्ने महिलाबीच एकता र सञ्जाल निर्माण, नेतृत्व विकास र सशक्तीकरणलगायतको विषयमा छुट्टाछुट्टै कार्यशाला हुनेछ।

नेपालमा सर्वोच्च अदालतसहित ४३ महिला न्यायाधीश रहेका छन्। तीमध्ये सर्वोच्च अदालतमा तीन, उच्च अदालतमा मुख्य न्यायाधीश एक र न्यायाधीश २१, जिल्ला न्यायाधीश १८ गरी ४३ जना रहेका छन्।

सम्मेलनमा महिला न्यायाधीशसहित न्याय सेवा, कानुन सेवा र सरकारी वकिल महिलाको सहभागिता हुनेछ। सम्मेलनले समापनमा घोषणापत्र समेत जारी गर्नेछ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation