प्रहरी समायोजन ऐन जतिसक्दो छिटो अघि बढाउछौं : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी समायोजन नभएका कारण प्रदेशहरुले काम गर्न नसकेको बताएका छन् ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा लामिछानेले प्रदेशको औचित्यमा प्रश्न उठ्नुमा भने प्रहरी समायोजन मात्रै कारण नभएको बताए ।

बैठकमा प्रदेश प्रहरी समायोजन हुन नसकेकाले शान्ति सुरक्षा र विपद् व्यवस्थापनमा समस्या परेका विषयमा छलफल भएको थियो ।

छलफलमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजनजस्ता अत्यावश्यक विषयसमेत नटुंगिदा संघीयताको औचित्यमै प्रश्न उठ्न थालेको बताएका थिए । जवाफमा गृहमन्त्री लामिछानेले प्रहरी समायोजन विधेयक जति सक्दो छिटो अघि बढाउने तयारी रहेको जानकारी गराउँदै भने, ‘संविधानले प्रदेशलाई दिएको अधिकार नदिने भन्ने हुँदैन, त्यसमा केही विलम्ब भएको होला । तर, त्यतिले मात्रै प्रदेशले काम गर्न नसकेको भनेर औचित्यमै प्रश्न उठाउनु जायज होइन ।’

बैठकमा गण्डकीका मुख्यमन्त्री पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टील प्रदेश संरचनालाई बेवास्ता गरिरहेको भन्दै त्यसै पार्टीका सभापति गृहमन्त्री हुँदा अधिकार दिने गरी कानुन बनाउने कुरामा आशंका रहेको बताएका थिए ।

गृहमन्त्री लामिछानेले संविधानअनुसारका कानुन बनाउने या परिमार्जन गर्ने कुरामा राजनीतिक प्रश्नले फरक नपर्ने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation