Pranmancha

Advertisment

SKIP THIS

प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको एउटा अंग हो- प्रधानमन्त्री प्रचण्ड

२२ बैशाख, काठमाडौँ 

प्रधानमन्त्री पुष्पकमल दाहालले मिथ्या र भ्रामक सूचना दिएर समाजलाई भ्रमित तुल्याउने काम नगर्न सबैमा आग्रह गरेका छन् ।

नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आसञ्चार माध्यम मिथ्या र भ्रामक सूचनाको प्रकाशन प्रसारणमा सचेत हुनुपर्ने र स्वनियमनमा बस्नुपर्ने बताए।

महासङ्घले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालका रूपमा लिने गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको बताए ।

‘कुनै पनि व्यवस्था जनपक्षीय र लोकतान्त्रिक हो वा होइन भनेर मापन गर्ने बलियो आधार त्यो व्यवस्थामा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता छ वा छैन भन्ने पनि हो,’ प्रधानमन्त्री दाहालले भने, ‘हिजोको राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनुपर्ने, समाचार सामग्री सेन्सरसीप गराउनुपर्ने तथा संचार साधन अवरुद्ध गरिने अवस्था अन्त्य भएको छ ।”

नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अंग रहेकोले अब कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने प्रधानमन्त्रीको भनाई थियो ।

 

‘हामीले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताबिना देशमा यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन,’ प्रधानमन्त्री दाहालले भने,’अब पत्रकारिता क्षेत्रसमेत सहभागी भएर प्राप्त भएका उपलब्धीको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी र निगरानी गर्ने मिसन बनाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation