चौघेराका रतननाथ बाबा : सांस्कृतिक सहिष्णुतको गौरवशाली विरासत

दुई हप्ता जति भयो होला । भारतीय मिडियामा एउटा समाचार देखेँ : ‘सिद्ध पीर बाबा रतननाथ की शोभा यात्रा नेपाल से भारत की सीमा मे पहुँची ।’ यो नाम आफैमा विचित्र छ, ‘सिद्ध पीर बाबा रतननाथ ।’
दाङ्गको चौघेरामा (हाल घोराही उपमहानगरपालिका भित्र) सिद्ध सन्त रतननाथको मठ छ भन्ने कुरा मैले धेरै पहिलेदेखी थाहा पाएको थिएँ । म आफू निरीश्वरवादी छु, तर सांस्कृतिक इतिहासप्रति जिज्ञासु भएको हुनाले यस विषयमा मभित्र कौतुहल पनि थियो । यहाँ फागुन महिनाको कृष्णपक्षको एकादशीको दिन ‘फिरफिरे’को मेला लाग्छ भन्नेपनि थाहा थियो । तर पछि थाहा भयो, यो फिरफिरे होइन ‘पीर फेर्ने’ शब्दावलीको अपभ्रंश हो ‘फिरफिरे’ । मेरो लागि रोचक जिज्ञासाको विषय के पनि बन्यो भने सिद्ध रतननाथको मठको सञ्चालकलाई ‘पीर’ भनिन्छ । ‘पीर’ मुस्लिम समुदायमा विकसित सूफी (सिद्धसन्त)हरुको निम्ति प्रयोग गरिने शब्द हो । सिद्ध रतननाथसँग ‘पीर’ थपिएपछि मेरो कौतुहलता झन् बढ्यो । यो लेख त्यसै कौतुहलताको परिणाम हो ।
दक्षिण एसियाको सांस्कृतिक इतिहासमा सिद्ध सन्तहरुको समय इस्वी संवत्को आठौँ शताब्दीदेखि तेह्रौँ शताब्दीसम्मको हो । सामान्यतया बौद्ध धर्मको सहजयानी र हिन्दु धर्मको नाथ सम्प्रदायका अनुयायी सन्तहरुलाई सिद्ध सन्तको रुपमा सम्बोधन गरिन्छ । तर यथार्थमा सिद्ध सन्तको उपाधि बौद्ध मत भित्रको बज्रयान र यसबाट उपसम्प्रदायको रुपमा विकसित सहजयानीहरुलाई हो । वस्तुतः दक्षिण एसियामा तन्त्र र योगको परम्परा वैदिककालभन्दा पनि प्राचीन रहेको बुझिन्छ । अनिश्वरवादी दर्शन सांख्य योगको चर्चा वेदमा समेत भएकोले यसको प्राचीनता सिद्ध हुन्छ । बुद्धत्व प्राप्त गर्नुभन्दा पहिले ज्ञानको खोजीमा रहेका बुद्धले पनि आफू कयौँ तान्त्रिक र योगीहरुको सम्पर्कमा गएको चर्चा गरेका छन् । बुद्ध धर्ममा महायानीको विकास भएपछि अनेकौँ नयाँ सम्प्रदायहरु जन्मिए । यसै मध्येको एउटा दार्शनिक सम्प्रदाय हो बज्रयान । पछि यसै बज्रयान सम्प्रदायभित्र तात्कालिक लोकजीवनमा व्याप्त अज्ञेयता, लौकिक विश्वास तथा प्राचीन तन्त्र र योग परम्परासँगको सहकार्यबाट ‘सहजयान’ पन्थको विकास भयो ।
देहात्मवादी सहजयानीहरु देह अर्थात शरीरलाई प्रधान मान्ने गर्थे । उनीहरुले स्त्री र पुरुषबीच हुने सम्भोगको चरमोत्कर्षमा अनुभूत हुने सुखलाई ‘महासुख’ अर्थात परमानन्दको रुपमा भन्ने गर्थे । वैदिक कर्मकाण्डको घोर विरोधी तथा जातपात र धार्मिक भेदभाव भन्दामाथी उठेका सहजयानी सन्तहरु आफ्ना सहज स्वभाव र मानवीय अपनत्वसँगै विविध प्रकारका चमत्कारको निम्ति पनि समाजमा प्रसिद्ध र लोकप्रिय थिए । यिनीहरुलाई आफ्नो साधनाको निम्ति एउटा ‘स्त्री देह’को आवश्यकता हुन्थ्यो, जसलाई उनीहरुले ‘महामुद्रा’ भन्ने गर्थे । तत्कालीन सिद्ध साहित्यको अध्ययन गर्दा त्यसमा अधिकांश ‘महामुद्रा’हरु शुद्र (कथित तल्लो जात) समुदायबाट हुने गरेको पाइन्छ । कयौँ सिद्ध सन्तहरुले आफूले महामुद्राको रुपमा प्रयोग गर्ने डुमिनी, तेलिन, धोबिन आदिको प्रशंसा र स्तुतिमा भजनहरु लेखेका छन् । यहाँ उल्लेखनीय के छ भने अचेल बोलिने नव भारोपीय भाषाहरु (मैथिली, भोजपुरी, अवधी, नेपाली, बंगाली आदि दक्षिण एसियामा बोलिने आधुनिक भाषाहरु)को विकास यिनै सिद्ध सन्तहरुले प्रयोग गर्ने तत्कालीन अपभ्रंश र अवहट्टबाट भएको हो । मध्यकालमा मूख्यरुपमा बोल्न र साहित्यमा समेत प्रयोग हुने अपभ्रंश मूलतः प्राकृत र संस्कृतको मिसावटबाट विकसित भएको हो । बौद्ध धर्मका अनुयायीहरु शासकहरुबाट संरक्षण गरिएका सिद्ध सन्तहरुको काल आठौँ शताब्दीदेखी दसौँ शताब्दीसम्मको हो । दशौँ शताब्दी तिर शैव शासकहरुको प्रभाव बढदै गएपछि बौद्ध सहजयानी सन्तहरुको प्रभाव घटदै गएको हो । समाजमा सहजयानी सिद्धहरुको प्रभाव घट्नुको पछाडीको एउटा सम्भावित कारण उनीहरुले महामुद्राको रुपमा प्रयोग गर्ने यौन कर्ममा आएको अराजकता तथा विकृतिपना पनि हो, जस्मा दार्शनिकता तथा सहजमत भन्दापनि सन्तको नाममा धूर्त र व्यभिचारीहरुको मात्रा बढ्दै जानु थियो । सम्भवतः यसै कारण तन्त्र र योगको क्षेत्रमा नयाँ सम्प्रदायको रुपमा नाथ सम्प्रदायको विकास भएको हो ।
सिद्ध सम्प्रदायको विपरीत नाथ सम्प्रदायमा सम्भोग र स्त्री गमनलाई निषिद्ध गरिएको छ । अर्को अर्थमा नाथ सम्प्रदाय लौकिक अन्धविश्वास, तन्त्र र योगमा आधारित सन्यास पन्थ हो, जसले गृहस्थ जीवन भन्दापनि जगत कल्याणको निम्ति परमसत्ताको उपासना गर्दै वैराग्यलाई प्रधानता दिन्छ । यसरी दार्शनिक स्तरमा बौद्ध सहजयान निरीश्वरवादी र देहवादमा आधारित तान्त्रिक पन्थ हो भने नाथ सम्प्रदाय ईश्वरवादी सन्यास मत हो । गोरखनाथ (गोरक्षनाथ) नाथ सम्प्रदायका प्रवत्र्तक मानिन्छन् । हुन त गोरखनाथले मत्स्येन्द्र नाथलाई आफ्नो गुरु भनेका छन्, तर एउटा पन्थ वा सम्प्रदायको रुपमा नाथ सम्प्रदायको विकास गर्ने श्रेय उनैलाई छ । गोरखनाथको समय एघारौँ शताब्दी हो । चौघेराका सिद्ध पीर रतननाथ यसै नाथ सम्प्रदायका एक सन्त हुन् ।
नाथ सम्प्रदाय समस्त एसियामा प्रचलित मत हो । मध्ययुगमा शैव र योग परम्पराको समन्वयबाट विकसित नाथ योगीहरुको मठ पूर्वमा बंगालदेखी पश्चिममा पञ्जाब र सिन्धुनदी पारी अफगानिस्तानसम्म पाइन्छ । जोगी र दसनामी सन्यासीको रुपमा परिचित नाथ मतका अनुयायीहरुमा जोगीले दुनियाँबाट विरक्त सन्यासी जीवन व्यतित गर्छ भने दसनामीहरु गृहस्थ जीवन बिताउँछन् । तत्कालीन समयमा नाथ मतको जबर्दस्त प्रभाव यसैबाट बुझ्न सकिन्छ कि यस मतका अनुयायीहरुमा हिन्दु र मुसलमान दुबै छन् । प्रायः कनफट्टा र गुदडिया जोगीको रुपमा परिचित नाथ योगीहरु सारंगी (घूना) रेट्दै गोरखिया विरक्त भजन गाउँदै गाउँ घरमा डुलीरहन्छन् । भारतको गोरखपुरमा अहिले पनि हिन्दु र मुस्लिम दुबै समुदायका नाथ योगी र दसनामीहरु बसोबास गरिरहेका छन् । यद्यपि नाथ सम्प्रदायमा अब मुस्लिम योगीहरुको संख्या तिव्र गतिमा घट्दै गइरहेको छ ।
तेह्रौँ चौधौँ शताब्दी र त्यसपछिका रचनाहरुमा चौरासीवटा सिद्ध सन्तहरुको नाम उल्लेख भएको पाइन्छ , तर यसमा कयौँ नाथ सम्प्रदायका सन्तहरुको नामपनि सामेल छ । जहाँसम्म मत्स्येन्द्रनाथको नाम छ, उनी भने बौद्ध र नाथ दुबैतिर सम्मानित नाम हो । मत्स्येन्द्रनाथ र गोरखनाथको सम्बन्ध नेपाली समाजको इतिहासमा परिचित प्रसंग हो ।
सिद्ध र नाथको सामान्य परिचयपछि अब लेखको मूल विषय सिद्ध पीर रतननाथ बारे चर्चा गरौँ ः
रतननाथ बारे मैले दाङ लगायत नेपाली विद्वानहरुको लेखनमा उनी गोरखनाथको शिष्य रहेको र उनको समय इसाको नवौँ शताब्दी (वि.स.८०९) भएको, ७०० वर्ष बाँचेको र अलप भएको पाइन्छ । त्यसरी नै केही विद्वानहरुले उनलाई सुकौराकोटको थारु राजा मनिक पारखु (वा परिक्षित)को छोरा रतन पारखु भनेका छन् । त्यसरी नै दाङ जिल्लाको सरकारी वस्तुगत तथ्याङक प्रतिवेदनहरुमा अघिदेखी उत्तरी काँठ पहाडी राजाहरुका अधीन र दक्षिणको मैदानी भाग थारु राजाको अधिनमा रहेको, र वि.सं. १४८० तिर सवारीकोट (?)का राजा रत्न पाण्डेले थारु राज्यलाई आफ्नो राज्यमा मिलाएर रत्न परिक्षितको नामले राज्य गरेको लेखिएको छ । केही समयपछि रत्न पाण्डेले बझाङ्गबाट राजकुमार झिकाई आफ्नो ठाउँमा राजा बनाएर आफूले नाथ सम्प्रदायको दीक्षा लिएर त्यसको प्रचारमा पश्चिमोत्तर भारततिर लागेको पनि सो प्रतिवेदनमा लेखिएको छ । रतननाथले दाङ छाड्दा दाङ राज्यको विस्तार शिवराज इलाकाको अर्रासोतादेखि पश्चिम राप्तीको तुलसीपुर भनिने इलाकासम्म भएको र नेपालमा पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तारीकरणको क्रममा सन् १८४३ मा तुलसीपुर राज्यको तत्कालीन राजा नवलसिंह तापाको लडाईँमा मारिएका थिए । यसपछि नेपाली सीमाभित्रको दाङ देउखुरीको क्षेत्र पृथ्वीनारायण शाहले आफ्नी छोरी र सल्यानकी युवराज्ञी विलास कुमारीलाई विर्ता दिए । भारतमा पर्ने तुलसीपुर राज्यको बाँकी भाग सहित तत्कालीन राजा दिलेर सिंहले भारत केन्द्र बनाएर राज्य गरे । भारतीय भूमिमा रहेको तुलसीपुर हाल भारत उत्तरप्रदेशको बलराम स्टेट भित्र पर्छ ।
प्रचलित धारणा अनुसार पीर रतननाथ थारु राजा मानिक परिक्षितका छोरा रतन परिक्षित वा पारखु, वा अन्तिम थारु राजा हुनु वा रत्न पान्डे हुनु जस्ता विविध दाबीहरु बारे यसै भन्नसक्ने अवस्था छैन । यस विषयमा वृहद् अनुसन्धानको आवश्यकता छ । तरपनि उपलब्ध तथ्यहरु खोतल्दा पीर रतननाथ बारेका यी धारणाहरुमा केही प्रचलित लोक विश्वास र केही इतिहासका कयौँ तथ्यहरु मिसमास परेको देखिन्छ । नेपाली र भारतीय इतिहासकारहरुको मत तथा ऐतिहासिक साक्ष्यहरुका अनुसार तेह्रो शताब्दीभन्दा पहिले दाङ देउखुरीमा थारुहरुको राज्य थियो । अर्कोतिर कर्णाली प्रस्रवणमा खसहरुको शक्तिशाली राज्य थियो । खसहरुको राज्य विस्तार हुँदा दाङ देउखुरी खस राजाहरुको मातहत गयो । खस राजा पुण्य मल्लको दस्तावेजहरुमा उल्लेख भए अनुसार सन् १३२६ मा दाङ देउखुरी जयकर पण्डितलाई दिइएको थियो । तर एकजना भारतीय इतिहासकार ए.बी.सी. शर्माका अनुसार सन् १३५० सम्म दाङ देउखुरी तुलसीपुर राज्य अन्तर्गत रहेको थियो । उनको भनाइमा चौघेरा मठबाट उपलब्ध दस्तावेज अनुसार सन् १३५० मा तत्कालीन तुलसीपुरमा चौहान वंशका मेघराज सिंह राजा थिए । उनले नै चौघेरामा पीर रतननाथको मठ बनाउन लगाएका हुन् । त्यसरी नै भारत उत्तरप्रदेशको बहराइचको नेभिल्स गजेटियर्स (१९२२.१२४)मा उल्लेख भए अनुसार सन् १४८५ मा दाङ दून (उपत्यका)को शासक चौहान वंशकै उदयसिंह थिए र सन् १७६० मा गोर्खाली राजा पृथ्वीनारायण शाहको गोर्खाराज्य विस्तारीकरणमा तुलसीपुरको हालको नेपाली भाग अर्थात दाङ देउखुरी गोर्खा साम्राज्य (हालको नेपाल)मा मिलाइयो । यसै वंशको अन्तिम राजा नवलसिंह बारे माथी चर्चा गरिएकै छ । भारतीय भुमिमा रहेको तुलसीपुरमा रहेको पाटेश्वरी वा पाटन मन्दिर चौहानवंशी राजाहरुले निर्माण गरेको अनुमान गरिन्छ । यो पाटन मन्दिरमा रहेको पाटेश्वरी (पार्वती, सती) देवी पीर रतननाथको आराध्य देवी भएको मान्यता भएको कारण नै चौघेरा मठबाट रतननाथको पात्र सहित प्रत्येक वर्ष शोभा यात्रा त्यहाँसम्म जाने चलन शुरु भएको हो । यहाँ उल्लेखनीय के छ भने चौहानवंशी राजाहरुले समस्त तुलसीपुर राज्यको शासन चौघेराबाट चलाउने गरेको र उनको इष्टदेवी पाटेश्वरीको मन्दिर हालको भारतीय तुलसीपुरमा रहेकोले प्रत्येक वर्ष इष्टदेवीको पुजा गर्न सदलबल त्यहाँ जाने परम्परा शुरु भएको र पछि यो धार्मिक परम्परामा विकसित भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । यद्यपि यो अनुमान मात्रै हो । जे होस यस शोभा यात्राले नेपाल र भारतका जनताबीच सांस्कृतिक सम्बन्धको ऐतिहासिकता देखाउँछ ।
लोक मान्यतामा पीर रतननाथ गोरखनाथको शिष्य भनिएपनि नाथ मतका साहित्यहरुमा उनलाई गोरखनाथको शिष्य भर्तृहरिको शिष्य भनिएको छ । नाथ मत बारे विशद् अनुसन्धाता तथा हिन्दी साहित्यका प्रसिद्ध विद्वान डा. हजारीप्रसाद द्विवेदीले पीर रत्ननाथको समय तेह्रो शताब्दी भनेका छन् । अनेक दृष्टिकोण र ऐतिहासिक तथ्यहरुको आधारमा विचार गर्दा यो विश्वसनीय बुझिन्छ । नाथ सम्प्रदायमा मूख्य बाह्रवटा पन्थ हुन्छ । पीर रतननाथ यस मध्येका एक वैराग्य पन्थका अुनयायी थिए । गुरु भर्तृहरिले प्रवत्र्तन गरेको वैराग्य पन्थको प्रधानपीठ राजस्थान प्रदेशको नागौरमा राताढुंढा स्थान मानिन्छ । यस पीठको अनुयायी योगीहरु घुमक्कड प्रकृति हुन्छन् । गुरु भर्तृहरिका तीनजना (भाईनाथ, रतननाथ र प्रेमनाथ) शिष्यहरुमध्ये रतननाथ सर्वाधिक लोकप्रिय र प्रसिद्ध योगी हुन् । यसैकारण उनको मठ दाङको चौघेराका अतिरिक्त राजस्थान, उत्तरप्रदेश, मध्यप्रदेश, पञ्जाब, पाकिस्तानको पेशावर र अफगानिस्तानको काबुलमा समेत छ ।

नाथ सम्प्रदायमा एउटा पन्थ ‘आई (माता) पन्थ’ छ । यस पन्थको प्रवत्र्तक गोरखनाथकी शिष्या विमला देवीलाई मानिन्छ । यस पन्थका अनुयायी योगीहरुलाई ‘पीर’ भन्ने चलन छ । रतननाथलाई पनि पीर भनिएकोले उनीपनि यस पन्थका हुन् भन्ने भ्रम सृजना हुनसक्छ । तर तथ्यहरुले के देखाएको छ भने योगी रतननाथ हिन्दु समुदाय जस्तै मुस्लिम समुदायमा पनि अत्यधिक लोकप्रिय र सम्मानित भएको हुनाले उनलाई मुस्लिमहरुले पनि चामत्कारिक सिद्धगुरुको रुपमा स्वीकारेका छन् । मुस्लिम परम्परामा चामत्कारिक शक्ति भएका र मानवीय सहृदयता भएका धार्मिक गुरु, सूफीहरुलाई ‘पीर’ भन्ने गरिन्छ । त्यसैकारण रतननाथबाट प्रभावित भएर मुस्लिम समुदायले उनलाई पीर भन्न थालेको बुझिन्छ । चौघेरामा रतननाथको मठका सञ्चालकहरुलाई ‘पीर’को उपाधि दिनुले विगतमा उनी हिन्दु र मुसलमानमा समानरुपमा लोकप्रिय र सम्मानित रहेको सन्देश दिन्छ । यद्यपि चौघेरा मठमा अचेल हिन्दु, अझ भनौँ वैष्णवी मतको प्रभाव बढदै गै रहेको छ, र समाजमा बढदो धार्मिक संकीर्णताका कारण अन्य समुदायहरु यसबाट टाढिँदै गइरहेका छन् ।
एउटा लोक मान्यतामा रतननाथ मक्का गएको र त्यहाँ इस्लाम धर्मको प्रवत्र्तक पैगम्बर मोहम्मदसँग सम्वाद गरेको भनिन्छ । तर पैगम्बर मोहम्मद सातौँ शताब्दी र पीर रतननाथ तेह्रौँ शताब्दीको भएको हुनाले यो प्रसंग खण्डित हुन्छ । तरपनि पीर रतननाथले मक्का वा अफगानिस्तानमा आफ्ना समकालीन कुनै हाजी पीरसँग सम्वाद गरेको तथा तर्कमा उनलाई प्रभावित गरेको कुरा तत्कालीन साहित्यहरुबाट बुझिन्छ । भनिएको हजरत मोहम्मद पैगम्बरसँग भएको सम्वाद काबुल जलालाबाद, पाकिस्तान र भारतको पञ्जाब प्रान्तको भटिन्डामा ‘रतननाथको हदिस’को नामबाट संग्रहित छ । इस्लाममा पैगम्बर मोहम्मदले भनेका वचनहरु र क्रियाकलापहरुको संग्रहलाई हदिस भनिन्छ । यसरी नै रतननाथ र मोहम्मद पैगम्बरको बीचको सम्वादको वर्णन रतननाथले आफै गरेको भनेर पञ्जाबीहरुको मूख्य धर्म सिख धर्मको पवित्र ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’मा संग्रहित ‘शबदी’मा यसरी भनिएको छ ः
”लोहा पीर, ताम्बा तकबीर,
रुपा महम्मद, सोना खुदाई ।
दुहुँ बीचि दुनियाँ गोँता खाई,
हम तो निरालम्भ बैठे देखत रहे,
ऐसा एक सुखन बाबा रतन हाजी कहै ।।”

अर्थात्, जो त्यहाँ पीर छ, त्यो फलाम छ र उसको युक्तिहरु ताम्बा छन् । मोहम्मद चाँदी छ भने खुदा (ईश्वर) सुन छ । यस द्वैत बीच सबै फँसेका छन्, बाबा रतन हाजीले एउटा यस्तो कविता भन्छन् ‘म भने निरपेक्ष भावले तटस्थ भएर हेर्दै छु’ ।।
पैगम्बर मोहम्मद ? वा वर्णित कुनै अन्य हाजीसँगको सम्वादको कारण मुस्लिम समुदायमा पनि रतननाथ ‘पीर’ मुस्लिम सन्तको रुपमा पूजित भए । अफगानिस्तानको काबुल लगायतको चर्चा त माथी नै गरियो । पञ्जाबमा र दिल्लीमा त हाजी पीर बाबाको रुपमा प्रसिद्ध रतननाथको प्रसिद्ध दरगाह नै छ, जहाँ मुस्लिम पद्धति अनुसार उनको पूजा गरिन्छ ।
यसरी के देखिन्छ भने चौघेरामा सिद्ध हाजी पीरबाबा रुपमा पूजित नाथ योगी रतननाथ दक्षिण एसियामा सबैतिर समान रुपमा सबै धर्म र सम्प्रदायमा पूजित छन् । हुन त नाथ सम्प्रदायको विकास बौद्ध सहजयानी मतको अनिश्वरवादी दर्शन र त्यसमा फैलिँदो यौन अराजकताको विरुद्ध भएको हो, र प्रत्यक्षरुपमा यो शैव मतावलम्बीहरुको समुदाय हो । तर यस पन्थको दार्शनिकतामा ब्राह्मणवाद र जातिपातिको विरोध, ऊँचनिच, भेदभाव, आडम्बर तथा धार्मिक संकीर्णताप्रति कटु आलोचनात्मकताको कारण सनातन धर्मबाट अलगावको शिकार अस्पृश्य जातिहरु ठूलो संख्यामा यसमा सामेल भएका हुन् ।

यसरी धार्मिकताको दृष्टिले हिन्दु, मुस्लिम, जैन आदि विविध समुदायबाट मानिसहरु यसमा सामेल भए । वर्तमानमा हिन्दु र सनातनी धार्मिक संकीर्णता बढ्दै गएको कारण नाथ सम्प्रदायबाट अन्य धार्मिक र सांस्कृतिक समुदायहरु अलग्गिएको वा अलग्गिँदै छन् । हुन त मानवीयता भन्दा देवत्वलाई श्रेष्ठ ठान्ने धार्मिक भ्रमबाट मुक्त भएर मानवीय समानताको बोध गर्नु नै श्रेष्ठ चेतना हो । तरपनि अहिले धार्मिक संकीर्ण उन्मादले समाजमा एक आपसमा अपरिचय, अविश्वास, भय र त्रास सृजना गरिरहेको बेलामा सिद्ध हाजी पीर बाबा रतननाथलाई सांस्कृतिक र धार्मिक सहिष्णुताका सान्दार प्रतिकको रुपमा पुनस्र्थापित गर्न सकिन्छ । यस सान्दार विरासतलाई प्रोत्साहित गर्नु र प्रचारित गर्नुपर्छ ।
सन्दर्भ ग्रन्थ :
(१) ए.बी.सी. शर्मा — दाङ घाटी के पुरातत्व अवशेष, क्याब्रिज विश्वविद्यालय, डिजिटल हिमालय ।
(२) डा. हजारीप्रसाद द्विवेदी — नाथ सम्प्रदाय, (१९५०) हिन्दुस्तानी एकेडेमी, उत्तरप्रदेश, इलाहाबाद, भारत ।
(३) नाथ सम्प्रदाय और इस्लाम, कुलदेव महिमा, पगमिभख।अयm
(४) दाङ जिल्लाको वस्तुगत तथ्यांक प्रतिवेदन लगायत विभिन्न पत्र पत्रिकामा प्रकाशित लेखहरु

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation