
३ जेठ, काठमाडौं
काठमाडौंकाे सुन्धारामा फागुन १६ गते फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपकाे रिपोर्टिङ गरिरहेका प्राणमञ्च मासिक तथा प्राणमञ्च डटकम अनलाइनका प्रधान सम्पादक पदम प्रसाद पाेख्रेलले काठमाडौं महानगर विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा हालेका छन् ।
रिपोर्टिङकाे क्रममा महानगर प्रहरीले गरेकाे अकारण हमला, कुटपिट र लुटपाटकाे विषयमा महानगर प्रशासन उदासीन भएपछि पीडितले कानुनी रुपमा आज मुद्दा हालेका हुन् । उनले महानगर प्रमुख बालेन्द्र शाह, प्रहरी प्रमुख राजुनाथ पाण्डे तथा प्रहरी उपरीक्षक मनाेज लामिछाने विरुद्ध कुटपिट र लुटपाट सम्बन्धि मुद्दा दायर गरेका हुन् ।
घटना भएको साढे २ महिना बित्दापनि महानगरले पटकपटक न्याय दिने सम्झौता गरेर आलटाल गरेपछि पाेख्रेलले आक्रमणकारीलाई कानुनी कारबाही र क्षतिपूर्तिको लागि आफू निरन्तर लडिरहने बताएका छन् । यसअघि जिल्ला प्रहरी परिसर टेकुमा उजुरी दिएपनि मुद्दा दर्तामा अंगुर जिसीले ताेक आदेश गरेर दर्ता नगरी थन्क्याएर राखिएको छ ।
मुद्दा दर्तापछि पाेख्रेलले हामीसँग भने “महानगर प्रहरीले मलाई अकारण आक्रमण गरी सख्त घाइते बनायाे, दायाँ खुट्टाकाे लिगामेन्ट च्यातिएकाे छ, मासु फाटेकाे छ, शरीरभरी चाेटपटक र निलडाम अहिलेसम्म छन् । काठमाडौंकाे बिरानाे ठाउँमा न पैसा छ, न कुनै निकायकाे भरपर्दो साथ र सहयाेग छ, न पहँच छ, न त कुनै राजनीतिक सहभागीता नै छ । कुनै पार्टीमा आवद्ध नभए वा दलकाे झाेला नबाेकेरै मैले अहिलेसम्म न्याय नपाएकाे त हाेइन ?”
महानगर प्रहरीले कुटपिटसँगै उनीसँग भएको २ लाख ८० हजारकाे क्यामेरा, ५० हजारकाे ल्यापटप, ११ हजार १ सयकाे घरायसी प्रयाेजनका सामाग्री सहित महत्त्वपूर्ण कागजात जफत गरेकाे थियाे ।
महानगर प्रहरीकाे ज्यादती र लुटपाटकाे विषयमा पटकपटक महानगर पदाधिकारीहरुसँगकाे छलफलमा क्षतिपूर्ति, पीडकलाई कारबाही र उपचार खर्चकाे प्रबन्ध गर्ने सहमति भएपनि निकास नआएपछि श्रमजीवी पत्रकार संघकाे अगुवाइमा एक हप्ता (फागुन २९- चैत ४ सम्म) रिले अनसन पनि बसेका थिए ।
अनसनकै बिचमा महानगर प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, दिपक अधिकारी, प्रहरी प्रमुख राजुनाथ पाण्डे र पीडितकाे तर्फबाट जन्मदे जैसी, पीडित पदम प्रसाद पाेख्रेल, पत्रकार प्रेम न्याैपाने, भरत आचार्य तथा अधिवक्ता युवराज सफल लगायतकाे संयुक्त छलफलमा महानगरले दीपक अधिकारीकाे संयाेजकत्वमा चैत ४ गते अधिकार सम्पन्न छानवीन समिति बनाएको थियाे । साे समितिले ५ दिनमा प्रतिवेदन पेस गर्ने सहमति भएको थियो ।
समितिले चैत ९ गते प्रतिवेदन सार्वजनिक गर्ने र साेहीबमाेजिम कुटपिट घटनामा संगलग्न प्रहरीलाई कानुनी कारबाही गरिने र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमति आजका मितिसम्म बेखबर छ ।
उनले अब अदालतबाटै न्यायीक छिनाेफानाे गरिने बताउँदै ज्यान मार्ने उदेश्यले आक्रमण र लुटपाट गर्ने महानगर प्रहरीका एसपी मनाेज लामिछानेकाे सुरक्षा जत्थालाई कारबाही नभएसम्म निरन्तर लडिने बताए ।
उनले पत्रकार माथि भएको अकारण हमला, कुटपिट र लुटपाटकाे विषयमा यसअघि पनि राष्ट्रिय मानवअधिकार आयाेग, महानगरकै न्यायीक समितिमा पनि उजुरी दिएकाे बताए ।
पत्रकारहरुमाथि कुनै पनि हिसाबले आक्रमण हुने कुरा आफूहरुलाई सह्य नहुने श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीले बताए ।
पत्रकार पदम प्रसाद पाेख्रेल १३ वर्षदेखि पत्रकारीता पेशामा आवद्ध छन् भने पछिल्ला ४ वर्षदेखि दाङलाई केन्द्रविन्दु बनाएर पत्रकारिता गर्दै आएका छन् ।
सूचना विभाग र प्रेस काउन्सिलमा केही संस्थागत कामकाे सिलसिलामा फागुन ६ गते काठमाडौं आएको उनले बताए । काठमाडौंबाट दाङ फर्किने क्रममा पठाओ कुरिराखेको अवस्थामा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीचको झगडाको फोटो तथा भिडिओ खिचेकै निहुँमा उनीमाथि आक्रमण भएको उनले थियाे ।