सत्ता पक्षमा बहुमतको दम्भ देखियो – नेपाली कांग्रेस

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्‌मा सत्ता पक्षमा बहुमतको दम्भ देखिएको ठहर गरेको छ । साथै उसले सभामुखलाई पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।

विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले विपक्षीहरूले पटक पटक बोल्न माग गरे पनि सभामुखले समय नदिएको बताए । नेपालको संसदीय अभ्यासमा संसद् विपक्षको हुन्छ भन्ने स्थापित मान्यता रहेको भन्दै उनले भने, ‘तर आज सम्माननीय सभामुखले विपक्षी दललाई पनि बोल्न दिनुभएन ।’

‘सभामुखले विपक्षी दललाई बोल्न नदिनुको पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ । निरंकुशताको मनोवृत्ति छ’ उनले अगाडि भने । प्रमुख सचेतक लेखकका अनुसार कांग्रेस संसदीय दलको बैठकले संसदीय मूल्य मान्यता विपरीत नजान सरकारलाई चेतावनी दिएको छ ।

संसदीय छानबिन समिति बनाउने सहमति भएर कार्यादेशमा छलफल चलिरहेको र संविधान बमोजिम विश्वासको मत लिने समय पर्याप्त रहेको भन्दै उनले भने, ‘सरकारले अवरुद्ध संसद्को बिचमा बहुमत सिद्ध गर्ने नाटक गर्‍यो , अत्यन्त दुःखदायी घटना हो ।’

संसद्लाई ब्यारेक जस्तो बनाएर विश्वासको मत लिनु खेदजनक भएको कांग्रेसले बताएको छ ।

संसद्को सोमबारको बैठकमा सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको कांग्रसले ठहर गरेको छ । ‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न’ कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने ।

बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation